धनुषा–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताएका छन् । उनले सरकारमै जान पार्टी बनेको भन्नुहुँदै यद्यपि आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताएका छन् ।


ADVERTISEMENT


राजनीतिक समितिको बैठक टारेर जनकपुर आएका संयोजक ठाकुरले विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भने, “हरेक पार्टीको ध्येय सरकारमा पुग्ने हो । र, पार्टी गठन पनि त्यही उद्देश्यका साथ भएको हुन्छ ।” उनले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन संविधान संशोधन हुनुपर्ने अडान चाहिँ परिवर्तन नभएको बताएका छन् ।


ADVERTISEMENT

# # #


संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भइसकेको अवस्थामा राजपाको भूमिकाबारे सञ्चारकर्मीहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले केही दिनअघि एक्लै तथा सामूहिक भेटघाटमा सरकारमा सहभागी हुन आग्रह गरेको जनाएका छन् ।

उहाँले आफूले संविधान संशोधनको ग्यारेन्टी नभएसम्म सरकारमा सहभागी हुन नसकिने जवाफ फर्काएको र त्यसपछि प्रधानमन्त्रीले आफूहरूसँग सरकारमा सहभागीताबारे कुनै छलफल नगरेको बताएका छन् ।

नेकपा नेतृत्वको सरकारमा सहभागी भएपछि मधेशमा संघीय समाजवादी फोरम नेपालको आलोचना भइरहेका बेला ठाकुरले आफूलाई त्यस विषयमा कुनै जानकारी नरहेको र यस्तो कुरा पहिलोपटक सुनेको प्रतिक्रिया दिएका छन् ।

फोरम नेपाल सरकारमा सहभागी भए पनि प्रदेश नं २ को सरकारलाई आफ्नो पार्टीको समर्थन रहिरहने ठाकुरले स्पष्ट पारेका छन् । ठाकुरले हिरासतमा रहेका आफ्ना पार्टीका सांसद रेशम चौधरीलाई प्रमाणपत्र दिई संसद्मा बस्ने वातावरण निर्माण गर्नसमेत सरकारसँग माग गरेका छन् । रासस