तात्कालीन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु राष्ट्रिय कमिटी सीटीइभीटीका अध्यक्ष रमेश सिंह ठकुरीसंग गरिएको कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT


आजकाल केमा व्यस्त हुनुहुन्छ ?


ADVERTISEMENT

# # #


विद्यार्थीको हितका लागि अवाज उठाउने, उनीहरुका मुद्दाको सम्बोधनका लागि पहल गर्ने काम भइरहेको छ । यीनै काममा व्यस्त छौँ भन्नुपर्छ ।

तपाईहरुको भर्खरै पार्टी एकता सम्पन्न भएको छ । अब यसका भातृ संगठनको एकता कहिलेसम्म हुनसक्ला ?

यो पार्टी एकता देश र जनताका लागि तथा स्वयम् पार्टीका लागि एकदम राम्रो कुरा हो । जहाँसम्म भातृ संगठनको कुरा छ । अनेरास्ववियु र अखिल क्रान्तकारीबीचको एकताका लागि एउटा कार्यदल बनेको छ । जसमा अनेरास्ववियुका इन्चार्ज रवीन्द्र अधिकारी र क्रान्तिकारीका इन्चार्ज हितमान शाक्य र अनेरास्ववियुका अध्यक्ष नवीना लामा तथा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको रहनु भएको छ । आशा छ अबको तीन महिनाभित्र नै विद्यार्थी संगठनको एकता भइसक्छ ।

सिटिइभीटीको जिम्मा अनेरास्ववियुले तपाईलाई दिएको छ । यसमा निम्न वर्गीय विद्यार्थीको हितका लागि तपाईँको भूमिका के रहेको छ ? यो अवधिमा तपाईले के–के गर्नुभयो ?

म अनेरास्ववियु राष्ट्रिय कमिटीको भेलाबाट निर्वाचित भइसके पश्चात अनेरास्ववियुका साथीहरुलाई एकसाथ लिएर जान्छु भनेको थिएँ । म अध्यक्ष भएपछि सीटीइभीटी अन्तर्गतका १०३ क्याम्पसमा हामीले सम्मेलन पनि गरिसकेका छौँ । जसमा हामीले आफ्नो कमिटीमा भएका साथीहरुलाई मजबुद बनाएर अगाडी बढ्नुपर्छ भनेर हामीले एउटा प्रशिक्षण कार्यक्रम पनि राखेका थियौँ । हामी आइसकेपछि बनेपामा नेसनल हेल्थ फाउन्डेसन भन्ने एउटा कलेज थियो । त्यो कलेजले एउटा व्यावसायको नाममा विपद्यार्थीहरुलाई ब्रह्मलुट गरेको थियो । हामीले अन्यायमा परेका ती विद्यार्थीलाई अनेत्र अध्ययन गर्ने व्यवस्था गर्यौँ ।

यस अघि टीएसएलीमा ५ प्रतिशत मात्रै छात्रवृद्धि दिइन्थ्यो । हामीले त्यसलाई बढाएर १० प्रतिशत दिने व्यवस्था गर्यौँ । यस्तै ४८ सिट पढाई हुने स्कुलले ४ जना विद्यार्थीलाई मात्रै छात्रवृद्धि दिन्थे । हामीले पाँच जनालाई दिलाउने काम गर्यौँ । परीक्षा र रजिष्ट्रेसनमा सीटीइभीटीले तोकिएको भन्दा बाहिरको शुल्क लिँदै आएको थियो । त्यसलाई सीटीईभीटीले तोकिएको शुल्कभित्र ल्यायौँ । यस्ता थुप्रै कामहरु गरेका छौँ ।

तर सीटीइभीटी बीचमा सेटिङ मिलाएर तपाईहरुको कमाउने थलो हो भन्ने गरिन्छ नि ?

तपाईले भनेको कुरा केही हदसम्म स्वभाविक हुनसक्छ । शिक्षाको नाममा व्यापार गर्ने माफियाहरु र केही राजनीतिक संगठनहरुले गर्दा बजारमा यसको नराम्रो सन्देश गएको छ । यो गलत छ । हामीले सीटीइभीटीको प्राविधिक शिक्षा स्वरोजगार हुनुपर्छ भनेर हामीले भनेका छौँ । तर यो महंगो छ । अहिले नर्सिङको फिस महंगो बनाइएको छ । यसमा केही माफियाहरुको मिलोमोत हुनसक्छ । त्यसलाई जतिसक्दो सस्तो बनाउन हामी लागि रहेका छौँ । यसको बारेमा हामीले शिक्षा मन्त्रालयमा गएर पनि कुराकानी गरेका छौँ । सीटिइभीटीको प्राविधिक शिक्षा गरिब निमुखा जनताको लागि हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

अहिले सीटीइभीटीले केही प्रक्रिया नहेरिकन भकाभक सम्बोधन दिइँदैछ भनिन्छ । के हो वास्तविकता ?

सीटीइभीटीको प्राविधिक शिक्षालाई सबै स्थानीय तहमा पुर्याउने सम्माननीय प्रधानमन्त्री ओलीको एजेण्डालाई हतियार बनाएर ६८ सालसम्म निवेदन गरेका स्कुलहरुलाई सम्बोधन दिइएको दिइँदैछ । प्रधानमन्त्री उद्देश्य पूरा गर्ने बाहानामा बजारमा मोटो रकमको चलखेलमा सम्बोधन दिन लागिएको छ । हाम्रो शिक्षामन्त्रीलाई भ्रममा पारेर ब्रह्मलुट पार्ने काम भइरहेको छ । हामीले त्यसको विरोध गरेका छौँ । शिक्षामन्त्रीलाई यो गलत छ भनेर हामीले भनिसकेका छौँ ।

प्रधानमन्त्रीको एजेण्डालाई सफल पार्नुपर्छ । तर त्यो बाहानामा सविधा सम्पन्न ठाउँमा मात्रै सम्बोधन दिने होइन । प्राविधिक शिक्षा गरिब र निमुखाका लागि हो । जसलाई दुर्गम क्षेत्रमा विस्तार गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । रातदिन विद्यार्थीको हितका लागि काम गर्छौँ भन्ने संकल्प सहित हामी आएका हौँ । अब सीटीइभीटीमा हामी आमुल परिवर्तन गछौँ । यो माफियाका लागि कमाउने थलो होइन । विपन्न वर्गका विद्यार्थीको शिक्षाको थलो बनाउँछौँ ।

 तपाईहरुको आगामी एजेण्डाहरु के छन् ?

सीटीइभीटीका माफियाविरुद्ध वर्षौँदखि लडाईँ चलिरहेको छ । हाम्रा अग्रजले पनि यो लडाईँ लडेका हुन् । अब हाम्रो काम भनेको सीटीइ र भीटीलाई अलग अलग बनाउनु पर्छ भन्ने हो । त्यो भनेको एउटा तीन महिना ट्रेनिङ गर्ने छ । जस्तो अटोमोबाइलको ट्रेनिङ भयो, मोबाइल रिपयरिङको काम भयो । यी तालिमको सर्टिफिकेट पनि त्यही सीटीइभीटीले गर्छ । र तीन वर्ष डिप्लोमा एचए, ओभरसियर पढेकाहरुको सर्टिफिकेट पनि उसैले दिन्छ ।

हाम्रो अभियान भनेको काउन्सिल फर टेक्निकल एजुकेशनलाई एउटा विश्व विश्वविद्यालयको रुपमा स्थापना गर्ने भन्ने हो । यस्तै भीटीलाई अलग बनाउने हो । यसका लागि हामी तयारी गर्दैछौँ । यस्तै हेल्थ असिस्टेन्ट र फार्मेसीलाई एमबीबीएस पढ्ने बाटो खोल्नुपर्छ भन्ने हाम्रो माग हो । जसका लागि हामी संघर्ष गरिरहेका छौँ ।

अर्को कुरा भनेको रोजगारीका लागि विदेश जाने प्रत्येक नेपाली युवालाई सीटीईभीटीको तीन महिने तालिम अनिवार्य रुपमा निशुल्क उपलब्ध गराउनुपर्छ भन्ने हो । यो भयो भने विदेशमा सम्मानजनक काम पाउनुका साथै राम्रो तलब पनि पाइन्छ । जसले नेपालीको स्तरलाई माथि पुगाउन मदत गर्नेछ ।

अन्त्यमा, अब अनेरास्ववियु र क्रान्तिकारीबीच एकता भएपछि तपाईहरुले पनि एकता गर्नुहोला । आगामी नेतृत्वका लागि कत्तीको तयार हुनुहुन्छ ?

यसमा पार्टीले निणर्य गर्ने कुरा हो । तर योग्यता र अनुभवले म अध्यक्ष हुन योग्य छु । मलाई जिम्मेवारी दिइयो भने कुशलतापूर्वक निर्वाह गर्न सक्छु । आफुमाथि आइपरेको जुनसुकै जिम्मेवारी वहन गर्न म तयार भएर बसेको छु ।