धनगढी–प्रदेश ७ मा शान्ति, सुरक्षा कायम गराउन टोल–टोलमा प्रहरी अभियान शुरु भएको छ । अभियानको आज ७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले शुभारम्भ भएको घोषणा गरेका थिए ।


ADVERTISEMENT


अभियानको शुभारम्भ भएको घोषणा गर्दै ७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले राजनीतिक अस्थिरताका कारण नेपालमा शान्ति, सुरक्षा, अमन चयन खल्बलिएको अवस्थाको स्मरण गर्दै भने, ‘अब अस्थिरता हटेको छ ,जनतालाई शान्ति सुरक्षा प्रत्याभुत गराउनका लागि हामी लागिरहेका छौं ।’


ADVERTISEMENT

# # #


आगामी दिनमा कानुनको प्रभावकारी कार्यान्वयन हुने भन्दै उनले तस्करी, गुण्डागर्दी, चोरी, डकैती, जघन्य अपराधमा संलग्न जो कोहीलाई पनि कानुनको दायरामा ल्याउने बताए ।

प्रहरीले गोलीकाण्ड, चोरी, डकैती लगायतका अपराधमा संलग्न अपराधीलाई पक्राउ गर्न सफल भईसकेको स्मरण गर्दै उनले भने , ‘प्रहरीले यो अभियानबाट थप अनुसन्धानको दायरालाई फराकिलो पार्दै प्रदेशमा हुने अपराधलाई न्यूनिकरण गर्दै लाग्ने अपेक्षा लिएको छु ।’

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले समृद्धि र विकासका लागि शान्ति, सुरक्षा अपरिहार्य भएको बताए । उनले शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरीले ईमान्दार भएर लाग्नुपर्ने बताए ।

कैलाली प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीले अपराधलाई न्यूनिकरण गर्न जनताको सहयोग आवश्यक रहेको बताए । उनले जनतालाई शान्ति, सुरक्षा अमन चयन प्राप्त गराउन प्रहरी सक्रिय भएर लाग्न समेत आग्रह गरे ।

संघीय प्रहरी ईकाइका वरिष्ठ प्रहरी उपरिक्षक हरिराज वाग्लेले समाजमा अपराध भएपनि प्रहरीलाई सूचना नहुँदा अनुसन्धानमा समस्या हुने गरेको बताए । समाजनै सूचनाका संवाहक हुन सूचना समाजबाटनै प्राप्त हुने भएकाले प्रहरीलाई काम गर्न यो अभियानले थप मद्दत पुर्याउने अपेक्षा व्यक्त गरे ।

अभियानको उद्देश्यबारे जानकारी दिंदै कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले समाजमा शान्ति सुरक्षालाई बलियो बनाउन टोल–टोलमा प्रहरीको आवश्यकता रहेको बताए ।