चितवन–नारायणगढ–मुग्लिन सडक कति बेला बन्द हुन्छ र कतिबेला खुल्छ पत्तै हुन्न । घरबाट साइत गरेर हिँडेको मान्छे नारायणगढबाट गाडी चढेपछि बाटो बन्द भएको थाहा पाउने अवस्था छ । कहिले पहिरो, कहिले दुर्घटना त कहिले गाडी बिग्रिएर सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती पाइरहेका बेला अब मुग्लिन सडकका सूचना एसएमएसबाटै प्राप्त गर्न सकिने भएको छ ।


ADVERTISEMENT


जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले स्थानीय कालिका टिभी र रेडियोसँगको सहकार्यमा आजदेखि एसएमएस सेवा शुरु गरेको ट्राफिक प्रमुख बेदप्रसाद गौतम बताउँछन् । उनका अनुसार यहाँबाट मुग्लिन, नारायणगढ क्षेत्रका हरेक सूचना उपलब्ध हुने बताए । यसअघि ट्राफिक प्रहरीले फेसबुकमार्फत सूचना प्रवाह गर्दै आएको थियो ।


ADVERTISEMENT

# # #


यसका लागि मोबाइलको म्यासेज बक्समा गएर एनएमटी टाईप गरी ३४८४८ मा एसएमएस गरेपछि तुरुन्तै मोबाइलमा सन्देश आइपुग्छ । अहिले भर्खरै एसएमएस पठाउँदा, ‘टोपे खोलामा पहिरो, मुग्लिन नारायणगढ सडक बन्द छ, पहिरो हटाउन अझै ५, ६ घन्टा लाग्ने अनुमान छ,’ भन्ने सन्देश प्राप्त भयो ।

घटनाको अपडेट हुने बित्तिकै सूचना पनि अपडेट हुने गौतमले बताए ।

यसअघि कालिका टिभी र रेडियोले प्रयोग गर्दै आएको एसएमएस कोड ३४८४८ को नयाँ युजर नेम र पासवर्ड उपलब्ध गराएर सार्वजनिक हितका लागि ट्रफिक प्रहरीलाई सहयोग गरिएको टिभीका स्टेशन म्यानेजर राजकुमार लामिछानेले बताए । रासस