बुटवल– सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको छ ।


ADVERTISEMENT


प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधमा मंगलबार स्थगित भएको प्रदेशसभा बैठक बुधबार भने विपक्षीबिना नै बसेको हो । सत्तापक्षले सहमतिमा आएर विनियोजन विधेयकमाथिको छलफलका लागि विपक्षीलाई बैठकमा उपस्थित हुन आग्रह गरे पनि आफ्ना माग सम्बोधन नगरेको भन्दै बैठकबाट बाहिरिएको हो ।


ADVERTISEMENT

# # #


सभामुख पूर्णबहादुर घर्तीले आजको बैठक प्रतिपक्षबिना नै सभाको सञ्चालन गरेका थिए। विपक्षीको असन्तुष्टिका कारण आज १२ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिला शुरु भएको थियो । प्रदेशसभा बैठक जारी रहेका बेला नेपाली काँग्रेसका प्रदेशसभा सदस्यहरु संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको कार्यकक्षमा बसेका छन् ।

बैठकको शुरुमा बोल्दै नेकपाका प्रदेशसभा सदस्यहरु भूमिश्वर ढकाल र दधिराम शर्माले बजेट राम्रो र उत्कृष्ट आएको बताए। प्रदेशसभाको आजको बैठकमा सत्तापक्षका १० जना प्रदेशसभा सदस्यहरुले धारणा राखेका थिए । प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले सत्ता पक्षले बहुमतको आडमा प्रतिपक्षी दललाई अवमूल्यन गरी प्रतिपक्षबिनै संसद् बैठक सञ्चालन गरेर संसदीय अभ्यासको खिल्ली उडाएको आरोप लगाए ।

पार्टी संसदीय दलको आयोजनामा प्रदेशसभामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “प्रजातन्त्रको गहना भनेकै प्रतिपक्षी हो तर, सत्तापक्षले यसलाई अस्वीकार गर्नुभयो ।” उनले प्रतिपक्षी दलले सबै जिल्ला र निर्वाचन क्षेत्रलाई समावेशी र समानुपातिक तरिकाले बजेट विनियोजनको माग राख्दा सरकारले बेवास्ता र उपेक्षा गरेको आरोप लगाए ।

नेता पोखरेलले यही अवस्थामा प्रदेश सरकार अघि बढे सदन र सडकमा विरोध गर्ने बताए। काँग्रेसले विनियोजन विधेयकमा पनि ठूलो ठूलो रकम ठाउँ र कार्यक्रम नै उल्लेख नगरी राखिएको भन्दै विरोध गरेको छ । उनले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका लागि छुट्याइएको बजेटको अपारदर्शी ढंगले ल्याइएको समेत आरोप लगाए ।

विपक्षी दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालले सरकारले पटकपटक आफूहरुलाई झुक्याउने काम गरेको गुनासो गरे । उनले सरकारले प्रस्तुत गरेको बजेट कतै पोका बजेटका रुपमा आएको छ भने कतै साना साना आयोजनालाई खुद्रा बजेट छुट्याइएको छ भने ।

नेता हमालले सरकारले स्थायी राजधानी तोक्ने विषयमा आफूहरुले पटकपटक ध्यानाकर्षण गराउँदासमेत वास्ता नगरेकामा आपत्ति जनाउँदै भने, “कति समयसम्म सुकुम्बासीजस्तो भएर बस्ने ?”