पर्वत– उत्तरी पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा जिल्लामै पहिलोपटक निर्माण हुन लागेको सहलगानी ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजनाको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ ।


ADVERTISEMENT


खानेपानी तथा ढल निकास विभागको शहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत पर्वत बेनीमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण गत वर्षदेखि शुरु भएको हो । आयोजनाको हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


बढ्दो बस्ती विकाससँगै माथिल्लो क्षेत्रका पानीका मुहान सुक्ने र खानेपानी आपूर्तिको समस्या बढिरहेको अवस्थामा पर्वत बेनीमा सञ्चालित उक्त आयोजनामार्फत कालीगण्डकी नदी किनारको पानी तानेर वितरण गर्ने लक्ष्यअनुरुप आयोजना शुरु गरिएको हो ।

खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय पर्वतका इञ्जिनियर विधान अर्यालले विद्युत्को सहायताले चल्ने सम्पवयल प्रविधिको पम्पबाट कालीगण्डकी किनारबाट पानी तानेर बस्तीमाथि रहने ट्यांकीमा प्रशोधन गरी वितरण गरीने बताउका छन् । कालीगण्डकी नदीको दायाँ किनारमा रहेको जुगेपानीको मुहानबाट तानेर १५० मिटर माथि रहने ट्यांकीमा पुर्याइने पानी चार चरणमा प्रशोधन गरी वितरण गरिने भएको छ ।

सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ताको ३० प्रतिशत श्रम तथा नगद लगानीमा निर्माण हुने आयोजनाबाट जलजला गाउँपालिकाको २, ३ र ४ नं वडामा पर्ने बगरफाँट, पर्वत बेनी र लामाखेतका करीब एक हजार घरधुरी लाभान्वित हुने पर्वत बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले बताए ।

प्रत्येक घरमा मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गर्ने लक्ष्य राखिएको आयोजना २०७६ असारसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका लागि रु १२ करोड ४३ लाख ७८ हजार ४८७ लागत अनुमान गरिएको उपभोक्ता संस्थाका कोषाध्यक्ष डिलबहादुर बरुवालले बताएका छन् । रासस