बाबियाचौर, म्याग्दी– रघुगंगा गाउँपालिका–२ भगवतीको रुइसेस्थित थामकोटलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न भ्यु टावर निर्माण शुरु भएको छ ।


ADVERTISEMENT


रघुगंगा गाउँपालिका, वडा कार्यालय र भगवतीका बासिन्दाले भ्यु टावर निर्माण शुरु गरेका हुन् । धौलागिरि आइसफल पदमार्गको प्रवेशद्वारको रुपमा रहेको रुइसे भेडिओडार क्षेत्रमा पर्यटक भित्र्याउन भ्यु टावर निर्माण शुरु गरिएको वडा अध्यक्ष रिम कटुवालले जानकारी दिए।


ADVERTISEMENT

# # #


गाउँपालिकाले विनियोजन गरेको १५ लाख रुपैयाँ बजेटबाट स्थानीयवासीले श्रमदान गरेर भ्यु टावर निर्माण सुरु गरेका हुन् । सत्ताइस् फिट अग्लो रहने भ्यु टावर तीन तलाको हुनेछ । यस वर्ष पहिलो तलासम्म मात्र बन्ने टावरमा आगामी दुई वटा तला थप गर्न बजेटको प्रस्ताव गरिएको छ ।

थामकोटको निर्माणाधीन भ्यु टावर नजिकै वनभोज स्थलका लागि एउटा टहरा निर्माण भइसकेको छ । त्यहाँ खानेपानीको व्यवस्था मिलाइएको छ । उक्त स्थानमा सामुदायिक विश्रामगृह सञ्चालन गर्ने योजना गाउँपालिकाको छ ।

दुई हजार २०८ मिटर उचाइमा अवस्थित थामकोटबाट रघुगंगा गाउँपालिकाका ८ वटै वडा, बेनी नगरपालिका, अन्नपूर्ण, जलजला र बागलुङ नगरपालिकाका भूभाग, सूर्योदय, हिमशृङखलाको अवलोकन गर्न सकिन्छ ।

हाल वनभोज खान पर्वत, कास्की पुग्ने बेनीका बासिन्दालाई थामकोटमा पुर्याउने योजना रहेको छ । समथर खाली भूभाग वनभोज स्थलका लागि उपयुक्त भएको वडा अध्यक्ष कटुवालले बताए ।

चालु आर्थिक वर्षमा वडा कार्यालयको दुई लाख रुपैयाँ अनुदानमा स्थानीयवासीले सिजलगाउँको दुईतर्फबाट रुइसेसम्म जोड्ने करिब दुई किलोमिटर पदमार्ग निर्माण गरिसकेका छन् ।

ढुङ्गे सिँढी बनाउने र झाडी फाँडेर सहज रुपमा आवतजावत गर्न सकिने बाटो बनाइएको स्थानीय युवा हरि भण्डारीले बताए । निर्माण सामग्री ढुवानी र पर्यटकको सहज आवतजावतका लागि सिजल गाउँदेखि थामकोट हुँदै नौलीबराह जोड्ने सडकको ट्याक निर्माण भएको छ ।