बाजुरा– साँफे–मार्तडी सडक जोड्ने सडकखण्ड अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण साँफे–मार्तडी राजमार्गको ठाउँ ठाउँमा पहिरो आएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


ADVERTISEMENT


गएको शुक्रबार अवरुद्ध बनेको सडक जेसिवी प्रयोग गरी सञ्चालनमा ल्याइए पनि आइतबार राति आएको पानीका कारण जिल्ला कारागार बाजुरादेखि गुइगाड खोलासम्मको सडकमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिएका छन्।


ADVERTISEMENT

# # #


उनले दिएको जानकारीअनुसार अवरुद्ध सडक खोल्न पिएस कम्पनीलाई आग्रह गरिएको छ । पानी रोकिएपछि सडक खोल्ने कार्यलाई तीव्रता दिइने प्रहरी प्रमुख बोहराको भनाइ रहेको छ ।

साँफे–मार्तडी सडक जोड्ने गुइगाडको पुल बन्न नसक्दा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको बताइएको छ । उक्त खोलाको पुल निर्माण कार्य गर्न थालेको नौ वर्ष बित्न लागेको छ ।

ठेकेदारले समयमै पुल निर्माण नगरी दिँदा खोलाको बाटो सवारी साधनको आवतजावत बन्द भएको छ । अविरल वर्षाका कारण सवारी नचले पछि लामो र छोटो दूरीमा जान खोज्ने स्थानीयवासीले हैरानी खेप्नुपरेको छ ।