काठमाडौं – नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्।

इसेवा सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले शर्मालाई सोमबारदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिसँगै शर्माले आजदेखि कार्यभार सम्हालेका छन्।

बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव रहेका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङ क्षेत्रका अनुभवी मानिन्छन्। उनले डिजिटल नवप्रवर्तन, रणनीतिक व्यवसाय विस्तार तथा ग्राहककेन्द्रित सेवाको विकासमा समेत काम गरेका छन्।

शर्माको अनुभव र नेतृत्वबाट इसेवाको डिजिटल वित्तीय सेवाको विस्तार, नवप्रवर्तन तथा आगामी व्यावसायिक यात्रालाई थप सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ। यसअघि इसेवाको प्रमुख कार्यकारी अधिकृत रहेका जगदीश खड्काको चारवर्षे कार्यकाल पूरा भएको छ। वि.सं. २०७९ असोज १२ गते सीईओ नियुक्त भएका खड्काले आफ्नो कार्यकालमा इसेवाको सेवा तथा डिजिटल वित्तीय पहुँच विस्तारमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

उनको कार्यकालमा इसेवामा दर्ता भएका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख तथा मर्चेन्टको संख्या ६ लाखभन्दा बढी पुगेको कम्पनीले जनाएको छ। साथै डिजिटल कर्जा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिंक, बिजनेस एप, इन्टेन्ट पे, क्यालेन्डर तथा इभेन्ट सेवा र इन्स्योरेन्स प्रोडक्टलगायतका सेवाहरू विस्तार भएका थिए।

दृष्टिविहीन नागरिकलाई लक्षित ‘टकब्याक’ फिचर तथा नेपाली भाषामा एप सञ्चालनमा ल्याएर वित्तीय सेवालाई थप समावेशी बनाउने काममा पनि खड्काले नेतृत्व गरेका थिए।

कम्पनीका अनुसार ‘सबै, सधैँ, सँगै’ भन्ने ब्रान्ड प्रतिबद्धतासहित खड्काको कार्यकालमा भएका सेवा विस्तार र डिजिटल नवप्रवर्तनले इसेवाको आगामी यात्राका लागि बलियो आधार तयार भएको छ।