‘समयले माग गरेको खण्डमा नेतृत्व लिन पनि तयार छु’  


ADVERTISEMENT


पूर्व उप-प्रधानमन्त्री समेत रहेकी नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य सुजाता कोइरालासंग हिमालय पोष्टले पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा गरेको कुराकानी :


ADVERTISEMENT

# # #


पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ? कसरी दिन बिताइरहनु भएको छ ?

साथीभाईसंग भेटघाट गरिरहेकी छु । ठूलो परिवार छ । परिवारलाई पनि समय दिइरहेकी छु । समय मिलेमा मेडिटेसन गर्छु । संघीय संसदको सदस्य भएकाले बैठकमा जानु पर्छ । राजनीतिलाई कसरी सुधार गर्ने ? नेपाली कांग्रेसलाई कसरी अगाडी बढाउने भन्ने कुरामा म आजकाल केन्द्रित छु । पार्टीमा भएका गल्ती, कमी कमजोरीलाई सुधार गरेर कसरी अगाडि बढाउने भन्ने कुरा पनि सोच्ने गर्दछु । यस्तैगरी समय बितिरहेको छ ।

कम्युनस्ट पार्टीहरुले दुई तिहाई बहुमतका साथ सरकार चलाईरहेको अवस्थामा अहिले नेपाली कांग्रेसको प्रतिपक्षीको भूमिका के देख्नुहुन्छ ?

नेपाली कांग्रेस अहिले कमजोर भएको छ । पार्टीभित्र गुट उपगुटकै कारण चुनावमा कांग्रेस पछि परेको हो । नेतृत्व वर्गले शक्तिसंगको मोह लाई त्यागेर नयाँ भिजनका साथ अगाडी बढ्नु पर्ने बेला आएको छ । तर त्यसमा पार्टी शून्य देखिएको छ । मलाई लाग्छ अहिलेपनि जनताको बीचमा नेपाली कांग्रेस शक्तिशाली पार्टी नै छ । संविधान कार्यान्वयन भएर देश राजनीतिक स्थायित्वतिर गइरहेको वर्तमान अवस्थामा गरिबीको रेखामूनी रहेका ६० लाख भन्दा बढी जनताको उत्थान गरेर मुलुकलाई समृद्धिको बाटोमा लैजान कांग्रेसले पनि त्यससम्बन्धी बृहत योजनाका साथ जानु पर्छ ।

देशले नयाँ सरकार पाएको पनि पाँच महिना पुगिसकेको छ । यो बेला सरकारको कार्यसम्पादन तपाईहरुलाई कस्तो लागिरहेको छ ?

अहिले जताततै महंगी बढाइएको छ । कर बढेको छ । जब मुलुकमा अधिकांश जनताको कुनै आम्दानी नै छैन । आम्दानी बढेको छैन । तर कर बढेको छ । यो राम्रो कुरा होइन । विदेशमा रोजगारी बढ्यो भने कर बढाइन्छ । तर यहाँ त कर मात्रै बढिराखेको छ ।

सरकारले अहिलेसम्म अरु कुनै ठोस काम गरेको त देखिँदैन । यद्दपी समय पनि धेरै त भएको छैन । तर पनि यो नयाँ बजेट हेर्दाखेरी सरकारले कसरी काम गर्ला जस्तो लाग्छ । जनतालाई धनी बनाउनु त कहाँ हो कहाँ अझ गरिब बनाउने बजेट ल्याएर सरकार कसरी अगाडि बढ्ला भन्ने शंका मलाई छ ।

सरकारले अहिले जे जस्ता निर्णयहरु गरिरहेको छ । त्यसमा तपाईहरुसंग केही सुझाव सल्लाह लिने काम भइरहेको छ कि छैन ? के भन्नु हुन्छ ?

सरकारले अहिले सम्म हामीलाई खाज्दा पनि खोजेको छैन । बोलाउँदा पनि बोलाएको छैन । विकास समृद्धि हासिल गर्नका लागि प्रतिपक्षीको भूमिका र सहयोग पनि उत्तिकै आवश्यक हुन्छ । त्यसका लागि एउटा कमिटी बनाउनुपर्छ र त्यसमा प्रतिपक्षीबाट पनि राख्नुपर्छ । त्यसमा तल्लो स्तरको जनताको उत्थानका लागि कस्तो योजना तर्जुमा गर्न आवश्यक छ भन्ने बुझेका हामीजस्ता मानिसलाई पनि राख्नुपर्छ ।

उसो भए के हुन् त पाईका सुझाव ?

मैँले बुझेको के हो भने तल्लो स्तरका जनतालाई माथि उकास्नका लागि हामी निजी साझेदारीमा हामी जानुपर्छ । यसमा एकदमै तलको मानिसले पनि सानो रकम हालेर पनि व्यापार गर्न सक्छ । त्यसो भयो भने कृषिलाई पनि अगाडी बढाउन सकिन्छ । अर्को भनेको विनोद चौधरी एउटा मात्रै अर्बपति भएर भएन । विनोद चौधरीजस्ता सयौँ मानिस हामीले नेपालमा बनाउन सक्नु पर्यो । अनिमात्र हाम्रो अर्थतन्त्र वृद्धि हुन्छ । त्यसका लागि सरकारले आवश्यक नीतिगत तथा अन्य किसिमका सहयोग गर्नु आवश्यक छ ।

यस्तै जतिपनि राष्ट्रिय गौरवको आयोजनाहरु छन्, तिनलाई सरकारले आफ्नो मातहतमा राख्नुपर्छ । हाम्रो विकासको आधारभूत लाइन भनेको यही हो । अर्को कुरा युवा र राजनीतिबीचको दूरीलाई घटाउनु पर्छ । शिक्षा, स्वास्थ्य र रोजगारमा हामीले ध्यान दिनुपर्छ । देश विकासमा युवाहरुको सीप र क्षमताको अधिकतम उपयोग हुनुपर्छ ।

तर अहिले त रेल र पानी जहाजको कुरा जोडतोडले आइराखेको छ नि ?

रेल र पानी जहाज नेपालले चलाउन नसक्ने भन्ने कुरै छैन । असम्भव भन्ने छैन । भारत, चीन वा अन्य मुलुकमा रेल त छन् नि, नेपालमा पनि आउन सक्छ । तर हामीले आफ्नो पहिलो कुरालाई प्राथमिकतामा राख्नु पर्छ । नेपालको लागि अहिले पहिलो प्राथमिकता भनेको रेल र पानी जहाज भन्दा पनि एउटा गाउँलाई अर्को गाउँसंग जोड्ने हो । त्यसका लागि भौतिक पूर्वाधार निर्माण गर्नुपर्यो । हामीले पहिले आफ्नो आन्तरिक बजारलाई बलियो बनाउनतिर लाग्नु पर्छ । हाम्रो परनिर्भरता दिनप्रतिदिन बढ्दै गइराखेको छ । त्यसलाई रोक्नका लागि उत्पादनमा वृद्धि गर्नुपर्यो ।

पहिले हामी मुगु र कालिकोटलाई जोडौँ । ताप्लेजुङ र काठमाडौँलाई जोडौँ । ताकि विकटमा भएका उत्पादन र स्रोत साधानलाई सजिलै बजारमा ल्याउन सकियोस् । यो भयो भने व्यावसाय ती विकट ठाउँमा पनि सुरु हुन्छ । पहिला यस्ता कुरालाई प्राथिमिकता दिनुपर्यो । राजधानीमै ढल व्यवस्थापन गर्न सकिएको छैन, खानेपानीको व्यवस्था भएको छैन भने रेल ल्याएर मात्रै हुनेवाला केही छैन । पहिला आधारभूत कुराहरु सुधार गर्नु पर्यो भन्ने मेरो विचार हो । त्यस कारण यो सरकार एक्लैले जाने भन्दा पनि अन्य अनुभवीलाई पनि साथमा लिनुपर्छ ।

मैँले बारम्बार भन्दै आएकी छु कि हामीले सहमती, सहकार्य र एकता गरेर अगाडि बढ्नुपर्छ । गिरिजा बाबुले त्यस्तो अवस्थामा पनि सबैलाई एक गराउन सक्नु भयो भने हामी त अहिले सबै द्वान्द्वलाई समाप्त पारेर स्थायित्वको समयमा छौँ । नेपाली कांग्रेसलाई साइड लगाएर म मात्रै काम गर्छु भन्ने कहिले पनि सफल हुन सक्दैन । नेपाली कांग्रेसले पनि अब एक भएर देश विकासमा लाग्नु पर्छ ।

अब कांग्रेसतिर फर्किऔँ । नेपाली कांग्रेसमा अहिले सक्षम नेतृत्वको खाँचो भएको हो ?

यसमा कुनै शंका छैन । नेतृत्व त उत्पादन गर्ने कुरा हो । त्यसका लागि हामीले तत्लो तहका नेता कार्यकर्तालाई समेत एकजुट गराएर राम्रो लाई चयन गर्नुपर्छ । यत्रो देशभर कार्यकर्ता भएको पार्टीमा सक्षम नेता छैन होला र ? तर हामीले त्यो नेतालाई हामीले पहिचान गर्न सकेनौँ । चाकडी गरेर ‘लिडर’ भईँदैन । व्यक्तिगत भन्दापनि पार्टीगत र राष्ट्रिय स्वार्थमा विश्वास गर्नसक्नुपर्छ । अनि पो नेता भइन्छ । नेतृत्वले बोलेका कुरा गर्न हैसियत राख्नुपर्छ । नत्र बोल्नु हुँदैन ।

कांग्रेसको नेतृत्व अब कोइराला परिवारमै फर्किएला ?

त्यो त म भन्न सक्दिनँ । कोइराला परिवारले लिने कि कसले लिने त्यो कुरा म जान्दिनँ । तर विपीको राष्ट्रियता, समाजवाद र प्रजातन्त्र भन्ने जुन सिद्धान्त छ । त्यसलाई अगाडि बढाउन सक्ने क्षमता नेतृत्वले राख्नुपर्छ । जो यो मान्यताभन्दा बाहिर जान्छ ऊ फेल भएर पार्टीभन्दा बाहिर जान्छ ।

यसमा तपाईको तयारी के छ ?

नेतृत्व लिने कुरा त मैँले अहिले तत्काललाई सोचिसकेको छैन । तर पार्टीप्रति म चिन्तित छु । समयले माग गरेको खण्डमा नेतृत्व लिन पनि तयार छु । मेरो अन्तिम साससम्म म यो पार्टीलाई आफूले सकेको सहयोग गरिराख्छु । तर अहिले नै ठूलो उत्तरदायित्व लिने मलाई कुनै इच्छा छैन ।

पार्टीमा निर्वाचनको पराजयलाई लिएर विभिन्न किसिमका बहस, टिकाटिप्पणीहरु भए । भदौमा हुने महासमितिको बैठकले कांग्रेसको पुनर्ताजगी गर्छ भन्ने कुरा आएको छ । यसमा तपाईलाई के लाग्छ ?

महासमितिको बैठकबाट कांग्रेसको पुर्नजागरण गराउनुपर्छ । पार्टीको महाधिवेशन गराउनुपर्छ । नयाँ नेतृत्व आउनुपर्छ । पार्टीका कार्यकर्ताको मनसायलाई बुझेर नयाँ पुस्तालाई पनि नेतृत्वको जिम्मेवारी दिइनुपर्छ । पार्टीको विधानमा पनि छलफल हुन आवश्यक छ । अर्को भनेको जो पायो त्यहीलाई क्रियाशील सदस्य दिनु हुँदैन । गिरिजाबाबु, किसुनजीको पालामा क्रियाशील सदस्य भनेपछि अर्कै महत्व हुन्थ्यो । तर अहिले त्यो अवस्था छैन । यही कारणले पनि पार्टीको हालत यस्तो भएको हो । अर्को पार्टी अहिले गुट उपगुटमा रमाइरहेको छ । पार्टीभित्र गुट उपगुट सिर्जना गरेर रमाउनेलाई निष्काशन गर्नुपर्छ । यदी यी कुरा परिवर्तन गर्न सकिएन भने अनुहार परिवर्तन भएर मात्रै केही हुँदैन । त्यसका लागि पार्टीभित्र व्यापक छलफल हुनुपर्छ ।

अन्त्यमा, पछिल्लो समय डा. गोविन्द केसीको अनसनले चर्चा पाएको छ । त्यसमा कांग्रेसले समर्थन गर्दै पटकपटक संसद अवरुद्ध गरिरहेको छ । यसलाई तपाईले कसरी हेर्नुभएको छ ?

यसका बारेमा मैँले अस्ति पनि मिडियामा बोलि सकेकी छु । यसमा मेरो स्पष्ट धारणा भनेको के हो भने अनसनले समाजलाई परिवर्तन गर्न सक्दैन । डा. केसीले भनेको कतिपय कुरा ठिक छ भने कतिपय कुरा म पनि मान्दिनँ । तर, यसमा पार्टीले निर्णय गरेको छ । सर्पोट गरेको छ । देश बनाउन उहाँले खोज्नु भो । केही कुरा राम्रो होस् भनेरै उहाँ अनसन बस्नु भएको हो । तर, मलाई लाग्छ अनसन नै सबै कुराको समाधान होइन । अब उहाँले अनसन तोड्नुपर्छ । यत्रो वर्ष उहाँले अनसन बस्नु भयो । आखिरमा उपलब्धी के त ? त्यस कारण उहाँले भनेका कुराहरुलाई अब छलफलबाट समाधान गर्ने हो । अनसनले परिवर्तन भन्दा पनि द्वन्द्व सिर्जना गर्छ ।

भिडियो अन्तर्वार्ता हेर्नुस् :