पेरिस– फ्रान्सका स्ट्राइकर केलियन एम्बाप्पेले विश्वकपमा भएको सबै कमाई एक च्यारिटी संस्थालार्इ दान गर्ने निर्णय गरेका छन् । योङ्ग प्लेयर अफ द विश्वकपको उपाधि जितेका एम्बाप्पेले पुरै प्रतियोगितामा चार गोल गरेर उपाधि जिताउन अहम् भूमिका खेलेका छन् ।


ADVERTISEMENT


एम्बाप्पेले विश्व कपमा करिब ५ करोड ६० लाख रूपैयाँ आम्दानी गरेका थिए । यस आम्दानीलार्इ उनले अस्पतालमा उपचाररत र अपाङ्गता भएका बालबालिकालार्इ दान गर्ने भएका हुन् । यो रकम उनले च्यारिटी संस्था प्रिमियर्स डी कोर्डीलार्इ दिनेछन् जसले खेलसँग सम्बन्धित सामान सित्तैमा उपलब्ध गराउँछ ।


ADVERTISEMENT

# # #


विश्वकपमा एम्बाप्पेको आम्दानी

प्रतिखेल शुल्कः २४ लाख ८६ हजार रूपैयाँ
७ खेलबाट जम्मा आम्दानीः १ करोड ७३ लाख रूपैयाँ
फ्रान्स विजेता बन्दा बोनसः ३ करोड ८८ लाख रूपैयाँ
विश्व कपबाट कुल आम्दानीः ५ करोड ६० लाख रूपैयाँ
(स्पोर्ट्स इलस्ट्रेटेड म्यागजिनका अनुसार)

बालबालिकाका प्यारा
फ्रान्सको पत्रिका एल इक्विपीका अनुसार च्यारिटी संस्था ‘प्रिमियर्स डी कोर्डी’ अपाङ्गता भएका बालबालिकालार्इ सघाउनुका साथै स्कुल र व्यवसायका लागि अक्षमता जागरूकता अभियान पनि चलाउँछ । एम्बाप्पेले आफ्ना सहयोगीसँग सल्लाह गरेपछि विश्व कपबाट भएको आम्दानी यसै संस्थालार्इ दिने निर्णय गरेका हुन् ।

एम्बाप्पेको यस घोषणापछि संस्थाका जनरल म्यानेजर सबस्टियन रफिनले भने, “केलियन एम्बाप्पे व्यस्त समयमा पनि हाम्रा लागि खुशी हुँदै समय निकाल्छन् । बालबालिकासँग उनको सम्बन्ध अत्यन्तै राम्रो छ । उनी बच्चालार्इ प्रोत्साहित गर्न हमेसा सही शब्दको प्रयोग गर्छन् । उनी बच्चाहरूसँग खेल्न पनि धेरै मन पराउँछन् ।”