काठमाडौं– देशभरका चिकित्सकहरु हडतालमा उत्रेका छन् । जुम्लामा अनशनरत डा. गोविन्द केसीको मागबारे सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरु १ दिने हडतालमा उत्रेका हुन् ।


ADVERTISEMENT


नेपाल चिकित्सक संघले एक विज्ञप्ति जारी गरेर बिहीबार देशभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुने जनाएको छ । देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन यस्तो कदम चाल्नु परेको चिकित्सक संघको भनाइ छ ।


ADVERTISEMENT

# # #


केसीको स्वास्थ्य र मागप्रति सरकार संवेदनशील नभए देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि संघले दिएको छ ।

यसअघि त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले केसीको माग सम्बोधन गर्न आकस्मिकबाहेकका सेवा ठप्प पारेका थिए । अस्पतालजस्तो संवेदशनशील क्षेत्रमा हडताल गरिएको भन्दै कतिपयले आलोचना गरेका छन् ।

चिकित्सक संघ हडतालमा उत्रिए पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट स्वास्थ्यकर्मी भने सहभागी नहुने भएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ र राष्ट्रिय चिकित्सक संघले पत्रकार सम्मेलन गरेर स्वास्थ्य संस्था बन्द गर्ने निर्णयप्रति असहमति जनाएका हुन् ।

नेपाल नर्सिङ संघले पनि चिकित्सक संघको अत्यावश्यकीयबाहेकका सेवा बन्द गर्ने निर्णयको विरोध गरेको छ । संघले एक विज्ञप्ति जारी गरी सदनबाट जबरजस्ती पास गराउने निहुँमा अस्पतालजस्तो संवेदनशील क्षेत्र बन्द गराउने कदम चाल्नु कदाचित उपयुक्त नभएको जनाएको छ । उसले बन्द र हडतालबाट नभएर वार्ता र संवादमार्फत समस्याको समाधान खोज्नसमेत सबैसँग आग्रह गरेको छ ।