काठमाडौँ– युरोप भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पराजय व्यहोरेको छ। इङ्ल्याण्डको स्थानीय क्लब सेन्ट क्रससँग सोमबार राति भएको दोस्रो अभ्यास खेलमा नेपाली टोली १९ रनले पराजित भएको हो।


ADVERTISEMENT


१ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेटको क्षतिमा १ सय ४९ रन मात्र बनाउन सक्यो। नियमित कप्तान पारस खड्का बिना मैदान उत्रिएको नेपाली टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए।


ADVERTISEMENT

# # #


नेपालका लागि अनिल कुमार शाहले सर्वाधिक ५६ रन बनाएका थिए। यस्तै आरिफ शेखले ३४ तथा कप्तान ज्ञानेन्द्र मल्लले १८ रन बनाएका थिए। सोमपाल कामीले १६ रन बनाएको खेलमा अन्यको प्रदर्शन सामान्य रह्यो । क्रसका फेलिक्स अर्गनले ३ विकेट लिए । ह्यारीले २ तथा असर हर्टले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। उसका लागि जिम्मी एडम्सले सर्वाधिक ७२ रन बनाएका थिए। यस्तै फेलिक्स अर्गनले ३९ रनको योगदान दिए भने टोम स्क्रिभिनले २३ रन जोड्दै टिमलाई उच्च योगफलमा पुर्‍याएका थिए।

नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान २र२ विकेट लिएका थिए। सन्दिप लामिछानेको नाममा एक विकेट रह्यो । इंङ्ल्याण्डको लर्डसमा हुने त्रिकोणात्मक ट्वान्टी २० सिरिज र नेदरल्याण्डसँगको एक दिवसीय क्रिकेट सिरिजको तयारीका लागि नेपाली टोली अहिले युरोप भ्रमणमा छ।

यसअघि शनिबार भएको ५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले ह्यामसायर होग्सलाई २४३ रनको फराकिलो अन्तरले हराएको थियो।

नेपालले अब दुई अभ्यास खेल खेल्न बाँकी छ। एक टी–ट्वान्टी र एक एक दिवसीय क्रिकेट रहेका छन्। नेपालले बुधबार इष्ट लन्डन ११ विरुद्ध ५० ओभरको खेल खेल्नेछ। त्यसपछि नेपालले अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कसँग जुलाई बिहिबार टी(ट्वान्टी खेल खेल्नेछ ।

चार अभ्यास खेलपछि नेपालले क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा आइतबार त्रिकोणात्मक टी(ट्वान्टी सिरिज खेल्ने छ।

नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीचको उक्त खेललाई आइसिसिले अन्तर्राष्ट्रिय टी ट्वान्टी मान्यता दिएको छ।