काठमाडौं– एसियाली खेलकुदमा नेपाली यू–२३ फुटबल टोलीको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् । शुक्रबार एसियाड तयारीलाई थाइल्यान्ड जानेक्रममा एन्फाले किरणलाई उक्त जिम्मेवारी दिइएको हो ।


ADVERTISEMENT


नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपालले अर्को महिना इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद उत्रने छ । एसियाड खेल्ने २० तथा साफ तयारीका लागि थप ८ खेलाडीले थाइल्यान्डमा १० दिने प्रशिक्षण तथा मैत्रीपूर्ण खेल खेल्ने छन् ।


ADVERTISEMENT

# # #


एसियाड र ओलम्पिकमा यू २३ टोलीले भाग लिने भएपनि हरेक टोलीले बढी उमेरका तीन खेलाडी राख्न पाउने प्रावधान अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)ले किरणसहित विशाल राई र रोहित चन्दलाई टोलीमा समावेश गरेको छ ।

सिनियारिटीको आधारमा किरणलाई कप्तानीको जिम्मेवारी दिइएको एन्फाले जनाएको छ । माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका किरण भिसा प्रक्रियामा ढिलाइ भएका कारण केही दिनमै थाइल्यान्ड पुग्नेछन् ।

२६ खेलाडीसहित ३२ सदस्यीय टोली एसियाड र साफ च्याम्पियनसिपको अन्तिम तयारीका लाथि थाइल्यान्ड गएको हो । त्यहाँ नेपाली टोलीले दुई वटा अभ्यास खेल खेल्नेछ ।

भदौं २ गते देखि १७ गते सम्म एसियाड इन्डोनेसियामा सञ्चालन हुनेछ । एसियाड लगत्तै भदौ १९ देखि बंगलादेशमा साफ च्याम्पियनसिप हुनेछ । नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने छ ।