काठमाडौं–सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन् । स्वास्थ्यकर्मीले चार चार घण्टामा आउनु भनेर फर्काए ।


ADVERTISEMENT


दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन थाल्यो ।


ADVERTISEMENT

# # #


स्वास्थ्यकर्मीले प्रसूति कोठामा पठाएनन् । बाहिरै बस्न लगाए । साह्रै समस्या भएपछि जीसीले अनुनयविनय गरिन् । त्यसपछि बल्ल भित्र पठाइयो ।

राति अबेरसम्म पनि उनले बच्चा जन्माउन सकिनन् । प्रसव पीडा सहनै नसक्ने भएपछि राति २ बजे पोखरा जानु भनेर स्वास्थ्यकर्मीले रेफर कागज बनाइदिए ।

अस्पतालमा एउटा पनि एम्बुलेन्स थिएन । आफन्तले ट्याक्सी खोजेर पोखरा कुदाए । अविरल वर्षाले पर्वत र कास्की सीमा नजिकै पुग्दा ठूलो पहिरो खसेर बाटो अवरुद्ध थियो । जीसी छटपटाएर साह्रै भएपछि आफन्तले एम्बुलेन्सबाट उतारेर नजिकैको एक घरमा राखे ।

पर्वतको भ्याप्ले खोलामा अलपत्र पर्दा जीसीकी दिदी पम्फा खडकाले जिल्लाका सांसदसहित धेरै जनालाई फोन गरेर सहयोग माग्दै हेलिकप्टर पठाइदिन गुहार मागिन्। मौसमको समस्या र रातको समय भएकाले त्यो पनि सम्भव भएन ।

बिरामीको छटपटाहट कम नभएपछि राति नै फर्काएर पर्वत जिल्ला अस्पताल पुर्‍याइयो । अस्पतालकी प्रमुख डा. हेमा छन्त्यालले राति उठेर अपरेसन गर्ने तयारी गरिन् ।

प्राविधिक कारणले अपरेसन हुन सकेन । अस्पतालमा बिरामीलाई चाहिने औषधि अभाव थियो । त्यसपछि डा. छन्त्यालले बिहान ४ बजे म्याग्दी जिल्ला अस्पतालका प्रमुख डा. रोशन न्यौपानेलाई फोन गरिन् ।

सबै सामग्री तयार राख्न भनेपछि बिरामीलाई लिएर आफैं बेनी अस्पताल पुगिन्। बेनी पुगेको २० मिनेटमै अपरेसन सफल भयो । डा. छन्त्याल र न्यौपानेले जीसी र बच्चाको ज्यान बचाए ।

चिकित्सकका अनुसार प्रसूति बेथा लागेको १० घण्टापछि गरिएको अपरेसनबाट दुवैको ज्यान बचाउन सकिएको यो जिल्लाकै नमुना घटना हो । – आजको कान्तिपुर दैनिकबाट