काठमाडौँ– मुलूकको ४० औँ प्रधानमन्त्री चयनका लागि आज व्यवस्थापिका संसदमा मतदान हुदैछ । संसद सचिवालयले शुक्रबार सार्वजनिक गरेको कार्यसुचिअनुसार आज मतदानको समय तोकिएको हो ।


ADVERTISEMENT


प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको एक्लो उम्मेदवारी परेको छ । प्रधानमन्त्रीको चयनका लागि आइतबार ११ बजेदेखि निर्वाचन हुने भएको छ ।


ADVERTISEMENT

# # #


आइतबार उम्मेदवारले उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामा माथि सामूहिकरुपमा छलफल हुने र एकसाथ निर्णायार्थ प्रस्तुत गरिने कार्यतालिकामा उल्लेख छ । यसैबीच राजपा नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय गर्न अहिले बैठक बसिरहेको छ । । राप्रपाले पनि बिहान १० बजे सिंहदरबारमा बैठक बोलाएको छ ।
यद्दपी चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयबाट असन्तुष्ट बनेको प्रमुख विपक्षी दल नेकपा एमालेले व्यवस्थापिका संसदको अवरोध कायमै राख्ने भएको छ ।

भरतपुर महानगरमा मतगणना सुचारु गर्न माग गर्दै एमालेले लगातार संसद अवरुद्ध पार्दै आएको थियो । आफ्नो विपरित निर्णय आएपछि एमालेले आयोगको निष्पक्षतामा आशंका उत्पन्न भएको भन्दै अवरोध कायमै रहने बताएको हो । एमालेले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ । भरतपुर प्रकरण अदालतबाट निरुपण नभएसम्म संसद अवरोध कायमै रहने देखिएको छ । यसले प्रधानमन्त्री चयनका लागि हुने निर्वाचन प्रभावित हुने देखिएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सत्तापक्षका मान्छेले मतपत्र च्यातेको र आयोगको निर्णय सत्तापक्षकै दबावमा आएको देखिएकाले एमाले अदालत र जनतामा जान बाध्य भएको बताए ।

उनले भने ”वास्तवमा निर्वाचन गर्ने र गर्न सक्ने वातावरण सरकारले बनाइरहेको छ कि भत्काइरहेको छ रु आशंका छ । निर्वाचन आयोगले यस्तो निर्णय गरेर स्वयं आयोग आशंकामा परेको छ, उसले जनतामा विश्वास दिन सकेन । त्यसैले एमालेले यो विषयलाई लिएर अदालत र जनतामा जाने निर्णय गरेको छ ।’’

जनताको आवाज र अभिमतमाथि सत्तापक्षबाट आक्रमण भएको भन्दै उनले संसदमा अरु प्रक्रिय अघि बढ्न नदिने बताए ।

एमालेले प्रधानमन्त्री निर्वाचनबारे संसद र आफूलाई जानकारी नभएको प्रतिक्रिया समेत दिएको छ । संसद बैठकमा राष्ट्रपतिले पठाएको पत्र पढेर नसुनाइएको र बाहिरै सूचना टाँसेर प्रधानमन्त्रीको उम्मेदवारी दर्ता भएकाले एमालेलाई त्यसबारे जानकारी नभएको नेम्वाङले बताए