म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका– २ खोरियामा पहिरोका कारण ११ घर जोखिममा परेका छन् ।


ADVERTISEMENT


खोरियाको कमेरीखोल्सामा गएको पहिरोका कारण धारा टोलका ११ घर जोखिममा पर्नुका साथै ८९ घरधुरीलाई दैनिक कार्य गर्न र विद्यार्थीलाई विद्यालय जानसमेत समस्या भएको स्थानीयबासी ज्ञानबहादुर पाइजाले बताएका छन् ।


ADVERTISEMENT

# # #


निरन्तरको पहिरोका कारण जोखिम मोलेर आवतजावत गर्नुपर्ने भएकाले उक्त वडाका वडाध्यक्ष गमप्रसाद विश्वकर्माले स्थानीयबासीलाई सर्तकता अपनाउन अनुरोध गरिएको बताएका छन् । बर्खा रोकिएपछि पहिरो नियन्त्रणको काम गरिने उनको भनाइ थियो ।

यसैबीच सोही वडाको जुगेपानीको पहिराले पदमार्ग बगाएपछि स्थानीयबासी पाँच मिनेटको बाटो पार गर्न ३० मिनेट घुमाउरो बाटो प्रयोग गर्न बाध्य भएका छन् । गाउँपालिकाको केन्द्र मुनादेखि लमसुङ जाने बाटोमा पर्ने जुगेपानीमा करीब १०० मिटर पदमार्ग पहिरोले बगाएपछि धनमाने, खोरियाका बासिन्दालाई कमेरीखोल्साको घुमाउरो बाटो हिड्नुपर्ने भएको हो ।

अर्बुद्ध रोग पीडितकालागि सहयोग सङ्कलन
फोक्सोको अर्बुद्ध रोगबाट थलिएकी एक महिलाको उपचारमा सहयोग जुटाउने अभियान थालिएको छ । रघुगङ्गा गाउँपालिका–१ बेग घर भई हाल जलजला गाउँपालिका–३ पर्वत बेनीमा बस्दै आउनुभएकी ४२ वर्षीया खिमकुमारी शर्मा उक्त रोगबाट पीडित भएको र आर्थिक अभवका कारण उपचारमा समस्या भएपछि लायन्स क्लब अफ बेनी मल्लाजले सो अभियान शुरु गरेको हो ।

काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार गराइरहेकी शर्माका लागि एकै दिनमा रु ९० हजार सहयोग जुटेको क्लबका अध्यक्ष श्रीलाल चापागाईंले जानकारी दिएका छन् ।

हालसम्म रु नौँ लाख खर्च भइसकेको र चिकित्सकले उपचारका लागि रु ८० लाख आवश्यक पर्ने बताएकाले आर्थिक सहयोग गरेर श्रीमतीको जीवन बचाइदिन शर्माका श्रीमान् फणेन्द्र आचार्यले आग्रह गरेकी छन् । रासस