काठमाडौं– भारतमा हुन लागेको बिमस्टेक सदस्य राष्ट्रका संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने भएको छ । भारतले सैन्य अभ्यासका नाममा विमस्टेक सदस्य राष्ट्रको संयुक्त सैन्य गठबन्धनसम्म बनाउन खोजेको भन्दै आलोचना भएको छ ।


ADVERTISEMENT


नेपालको सहभागितालाई लिएर विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले सैन्य अभ्यासमा नजान नेपाली सेनालाई निर्देशन दिनुभएको छ । भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा संयुक्त सैन्य अभ्यास हुँदैछ ।


ADVERTISEMENT

# # #


प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनभित्र सैन्य अभ्यासको विषयले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना हुँदै आएको थियो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको सैन्य अभ्यासको समापन समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापा समेत सहभागी हुने कार्यक्रम थियो ।

प्रधानमन्त्रीको निर्देशनपछि नेपाली सेनाले सहभागिताका लागि गरेको सम्पूर्ण तयारी स्थगित गरेको छ । बिमस्टेक सदस्य राष्ट्र भारतको आयोजनामा हुन लागेको अभ्यासमा भारतसहित बंगलादेश, भुटान, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्यान्डका सेना सहभागी हुने तयारी थियो ।

अभ्यासमा प्रत्येक बिमस्टेक राष्ट्रका ३० जना सैनिक अधिकारी सहभागी रहने भएकाले नेपाली सेनाले समेत सोहीअनुसार तयारी गरिरहेको थियो । नेपालबाट पाँच जना अधिकृत र २५ जना अन्य दर्जाका नेपाली सैनिक अधिकारी सहभागी हुने तयार थियो ।