काठमाडौँ– भाद्र कृष्ण औँशीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मीठा खानेकुरा खान र राम्रा कपडा लगाउन दिएर मनाइयो ।


ADVERTISEMENT


पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेरेका छन् । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिएका छन् ।


ADVERTISEMENT

# # #


आजको दिन विशेष गरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्यो । यसैले औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको थियो । मन्दिरमा आज तीन लाख बढी भक्तजनको उपस्थिति रहेको अनुमान गरिएको पुजारी जगदीशचन्द्र भट्टले बताए ।

यसैगरी रसुवाको वेत्रावती, देवघाटलगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध, तर्पण गर्ने भक्तजनको लर्को लागेको थियो । ‘पितृदेवो भवः’ भन्ने धार्मिक मान्यताअनुरूप आजका दिन छोराछोरीहरूले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाइ आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाए। अरु दान दीन दुःखीलाई दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

भित्र्याइयो कुश

घर घरमा पवित्र कुश भित्र्याएर कुशे औँशी पर्व पनि आज वैदिक सनातन धर्मावलम्बीले मनाएका छन् । वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश आजै उखेलेर घरमा राखिन्छ ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताए ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ ।