• कुसुम भट्टराई

दुइ वर्षअघि भदौमा नेपाल प्रज्ञा प्रतिष्ठानले मृत्यु संस्कार १३ दिनबाट घटाएर तीन दिन बनाउनुपर्ने मान्यता जनमानसमा थोपर्ने उद्देश्यले एउटा गोष्ठीको आयोजना गरेको थियो । सो गोष्ठीमा यस्ता वक्तालाई डाकिएको थियो, जो मृत्यु संस्कार घटाउने पक्षमा थिए । मिडियामा खबर आयो, ‘किरिया अवधि तीन दिनमा सिमित गर्न विद्वत वर्ग तयार ।’


ADVERTISEMENT


ति विद्वत वर्गले नबुझेको र बुझेर पनि बुझ पचाएको कुरा के हो भने माता पिताको निधन भएमा १३ दिनसम्म किरिया बस्नुपर्ने हिन्दु संस्कारका पछाडि वैज्ञानिक कारण थियो । यसका शारिरीक र मानसिक गरी दुइवटा पक्ष छन् । १३ दिनसम्म नुन र अन्न नखाइ उपबास बस्दा हाम्रो पाचन प्रणालीले लामो समयदेखिको व्यस्तताबाट आराम पाउँछ । हाम्रो पाचन यन्त्र पनि एउटा मेशिन हो, जहाँ असंख्य सुक्ष्म पाटपुर्जाहरु हुन्छन् । हामीले जन्मेदेखि अधवैंशे उमेरसम्म दिनहुँ पेटलाई व्यस्त राख्दै आयौं । बिहान, दिउँसो र साँझ खाएकै खायै गरेर पेटरुपी इन्जीनलाई चलाएको चलाई गर्यौं । न त कहिल्यै त्यसलाई सफा गर्यौं, न एकाध दिन त्यो इन्जीन बन्द गर्यौं । अझ खानु नखानु चिल्लो, पिरो, अमीलो, अल्कोहोल, खैनी, सुर्ती खाएर पेटलाई सताउने मात्र काम गर्यौं ।


ADVERTISEMENT

# # #


१३ दिन किरिया बस्दा कम्तीमा पेटले आराम पाउँछ । जल र फलाहारको सेवनका कारण लामो समयदेखिका विकारहरु पेटबाट बाहीर निस्कन्छन् । पाचन प्रणालीले आफ्नो सरसफाइको मौका पाउँछ । वैज्ञानिक दृष्टिकोणले पनि उपवास या निराहार बस्दा शरीरको रेचन हुन्छ । मानसीक पक्ष झन् महत्वपूर्ण छ । १३ दिनसम्म किरिया बस्दा मानिसले आत्म चिन्तनको मौका पाउँछ । जीवनभर अनेक विषय सन्दर्भका पछाडि दौडिएको, पद, पैसा, प्रतिष्ठाकै चिन्तनमा लागेको मानिसले केही समय भएपछि आफुभित्र पस्ने मौका पाउँछ । पिताको निधनको शोकसँगै उसले यो अनित्य संसारको यथार्थ बोध गर्दै जीवन र जगतका सत्यसँग निकट हुन पाउँछ । आखिर यो शरीर पनि क्षण भंगुर हो भन्ने बोधबाट मानिसले इन्द्रीयजन्य विषय वासना र व्यर्थको सांसारीक भागदौडलाई नयाँ ढँगले विश्लेषण गर्ने मौका पाउँछ । १३ दिने किरियापछि मानिस परिपक्व र विवेकशील हुनसक्छ ।

यसरी शारिरिक र मानसिक दुबै कोणबाट उपयुक्त यो संस्कार मास्न को उद्यत छ ? यसबाट कसलाई फाइदा छ ? कुरा क्लीयर छ, हाम्रो हिन्दु संस्कृति, परम्परा र मौलिकता मास्न पश्चिमाहरुको फण्डीङमा केही तत्वहरु अनेक रुपमा चलखेल गरिरहेकै छन् । कोही तीज पर्व खारेज गर्नुपर्ने कुरा गरिरहेका छन, कोही स्वस्थानी व्रत बर्खास्त गर्नुपर्ने दलिल दिइरहेका छन् । हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्षता लागू गरे यता बारम्बार हाम्रो मौलिक परम्परा र संस्कारमाथि प्रहार हुँदै आएको छ । फिरंगीहरुलाई थाहा छ, नेपालमा क्रिश्चीयानीटी बढाउने हो भने पहिला यहाँको सनातन मौलिक हिन्दु संस्कृति मास्नुपर्छ । उदेकलाग्दो पक्ष के हो भने १३ दिने किरिया घटाउनुपर्छ भन्नेहरु तीजको तिन दिने पर्वलाई एक महिनासम्म लम्ब्याउँदा भने मौन छन् ।

यसमा समुदायको स्वार्थी पारा स्पष्ट झल्कीन्छ । हाम्रो खन्चुवा हन्तकाली पारा स्पष्ट दृष्टिगोचर हुन्छ । जस्तै, १३ दिन
किरीया बस्दा भोकै बस्नुपर्छ, खाए पनि अलीनो खानुपर्छ । जाँड रक्सी, माछा, मासु केही खान पाइदैन । भक्ष अभक्ष खाने बानी परिसकेकाहरुलाई १३ दिनसम्म साधना या तप गरेर बस्न कठिन भो । त्यसैले अल्छी, भोगी, खन्चुवाहरुले नयाँ जुक्ति ल्याए, १३ दिनको साटो ३ दिनमा झार्ने । आखिर बाबुको किरिया बस्न त्यति साह्रै कठिन भएको हो, मृत्यु संस्कारले सारा दैनिक व्यवहार चौपट नै पारेको हो भने किरिया नबसे पनि त भो, कसले रोकेको छ र ?

बिपी कोइराला, गिरिजा कोइराला, कमल कोइराला, घनश्याम पौडेल आदिले किरिया बसेनन, उनीहरुलाई किन किरिया बसीनस् भनेर त कसैले भनेनन् । भोकै बस्नुपर्ने भएकाले मृत्यु संस्कार घटाउनुपर्छ भन्नेहरु ‘घिच्न’ पाइने भएकाले तीन दिने तीज पर्वलाई एक महिनासम्म लम्ब्याइरहेका छन् । दर खाने त एक दिन मात्र हो, त्यो पनि अर्को दिनदेखि भोकै व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन टन्न खाएर शक्ति संचय गर्ने हिसाबले दरको चलन चलाइएको हो । तर, अचेल शहरमा मात्र हैन, गाउँमा समेत तीज आउनु एक महिना अगावैदेखि दर खाने भन्दै घरघर, पार्टी प्यालेस, रेस्टुराँतिर धाउने चलन मौलाएको छ । महिनाभरी दर खाएको खायै गर्न पाइने भएकाले कसैले पनि तीजलाई तिन दिनमै सिमित गरौं भनिरहेका छैनन, बरु तिनै पश्चिमा तत्वहरु तीजको मौलिकतालाई यसरी विकृत बनाउन सघाइरहेका छन् । तीन दिनको तिजलाई बिटुल्याएर पार्टी प्यालेसमा हिन्दी या अंग्रेजी गीत बजाएर नाच्ने खालको पर्वमा परिणत गर्नु भनेको पनि हाम्रो मौलिकता बिटुल्याउनु नै हो ।

“भोकै बस्नुपर्ने भएकाले १३ दिने मृत्यु संस्कार तीन दिनमा झार्ने, खान पाइने भएकाले तीन दिने तीज एक महिना लम्ब्याउने नेपालीहरुको हन्तकाली ‘घिचुवा’ सोचलाई बाइबल बोक्नेहरुले थप उक्साइरहेका छन् ।”

सोचौं त, तिन दिनको तिहार एक महिनासम्म लम्बीयो भने तिहार या यम पञ्चकको मौलिकता के रहला ? एक दिनको जनै पूर्णिमालाई एक साता बनाइयो भने यज्ञोपवितको मौलिकता के रहला ? हरेक चाड, पर्व, संस्कार र परम्पराका आफ्नै मौलिकता हुन्छन, तिनलाई जोगाउनु राज्यको दायित्व हो । ती परम्परा या संस्कारलाई कसरी धारण गर्ने भन्ने कुरा व्यक्तिको निजी अधिकारको कुरा हो । तर, अबदेखि मृत्यु संस्कार तिन हुने भनेर न त राज्यले, न कुनै विद्वत बर्गले र न कुनै एनजीओले थोपर्ने कुरा हो । १३ दिने मृत्यु संस्कारको मौलिकता यथावत राख्नुपर्छ, यसलाई चलाउन मिल्दैन । हो, कसैलाई तिन दिन गर्न मन लाग्ला, गर्दा हुन्छ । किरिया नबस्ने सोच हुनसक्ला, त्यो अधिकार पनि छ । तर, जसलाई आफ्नो संस्कार र परम्पराको माया छ, उसले १३ दिन नै बस्न पाउनुपर्छ र यसको मौलिक विधि विधानलाई एकाध टाठाबाठाको भेला या एकाध सनकी शासकको निर्णयको भरमा उल्लंघन या खारेज गर्नु हुँदैन ।

संस्कारमा सुधार नै गर्ने हो भने धेरै ठाउँहरु छन, जसको बेग्लै पाटो छ । जस्तै, दशैंमा खसी, बोका, राँगा, कुखुराको बाली दिने चलन हटाउन सकिन्छ र कुभिन्डो, फर्सी या लौका बलि दिन चलन चलाउन सकिन्छ । यसबाट हाम्रो बली प्रथाको संस्कार पनि कायमै रहन्छ र उत्सवमय पर्वमा हिंसाको क्रम पनि रोकिन्छ । दशैंको उल्लासमा हामी किन कसैको बली दिएर रगत बगाएर क्रुर हुने ? यसैगरी विवाह संस्कारमा दाइजो, भोज भतेर र गहनाको भडकिलो संस्कार हटाउन सकिन्छ र सादगीपूर्ण विवाह गर्न सकिन्छ । विवाहको मुख्य रित भनेको अग्नी साक्षी राखेर सात फेर लगाउने, सिन्दुर दल्ने र एकले अर्कालाई माला पहि¥याउने हो । हिन्दुहरुको यो मौलिक संस्कार कायमै राखेर बाँकी फजुलका खर्च र पाखण्ड प्रदर्शन बन्द गर्न सकिन्छ ।

सामाजिक सुधारका पक्ष धेरै छन् । तर, पश्चिमाहरु त्यसका लागि फण्डीङ गर्दैनन् । उनीहरु त हाम्रो संस्कृतिको नाभीमै प्रहार गर्न चाहन्छन् । त्यसैले स्वस्थानी ब्रत महिला विरोधी हो भन्दै नेपाली नारीहरुकै मुखबाट ओकल्न लगाउँछन् । मनुस्मृतीले नारीलाई हेप्यो भनेर हाम्रा धर्मशास्त्र र ग्रन्थहरुको उपहास गर्छन, अनि भित्र भित्र बाइबल थमाउँछन् । हाम्रै हिन्दु धर्म शास्त्र र संस्कारले नारीलाई शक्तिको रुप मानेको, देवीको रुपमा पुजेको, कृष्णकी राधा, शिवकी शक्ति, नारायणकी लक्ष्मी, पुरुषकी प्रकृतीका रुपमा उच्च सम्मान दिएको उनीहरु प्रचार गर्दैनन् । कालीले शिवजीलाई समेत सबक सिकाएको कथाको प्रचार गर्दैनन् ।

महादेवले भुलबस पुत्र गणेशको शिरोच्छेदन गरेपछि माता पार्वतीको आक्रोशले तिनै लोकमा बबण्डर मच्चिएको र बाध्य भएर शिवजीले गणेशलाई ब्युताइदिएको कथाले नारी शक्तिको महत्ता झल्काएको उनीहरु प्रचार गर्दैनन् । दश हजार वर्ष पुराना हाम्रा धर्म ग्रन्थ र संस्कारले नारीलाई सर्वशक्तिमान मानेको, विद्याकी देवी सरस्वती, धनकी देवी लक्ष्मी, शक्तिकी देवी दुर्गा, काली, चण्डीको रुपमा मान्यता दिएको उनीहरु लुकाउन खोज्छन् । तर, चार पाँच सय वर्ष यता केही कर्मकाण्डीहरुले थोपरेका विषयलाई उछालेर समग्र हिन्दु धर्म र संस्कारलाई नै गलत साबित गर्न पश्चिमाहरु उद्यत छन् । उद्देश्य एउटै हो, गीता, बेद, उपनिषद, महाभारत, रामायण, मनुस्मृति, गरुण पुराणजस्ता हाम्रा बैज्ञानिक सोचले भरीएका धर्म ग्रन्थलाई खत्तम साबित गर्ने र सबैका हातमा बाइबल थमाउने ।

यसतर्फ सनातन हिन्दु धर्मावलम्बी, खस आर्य, जनजाती, मधेशी, थारु सबै महिला सजग हुनु जरुरी छ । मुश्लीम समुदायले पनि यस क्षेत्रमा धर्म संस्कृति मास्ने पश्चिमा कुटीलतालाई बुझ्नुपर्छ । धार्मिक, जातीय, सांस्कृतिक सहिष्णुताका साथ हाम्रो मौलिकपनको रक्षा गर्दै देशलाई एकतावद्ध पार्नुपर्छ । विदेशीको उक्साहटमा लागेर मौलिक परम्परा मास्ने भाउँतोमा लाग्नु हुँदैन ।