काठमाडौँ– कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्मला आफ्नै छोरी सम्झिएर न्याय दिलाउन सहयोग गरिदिन आग्रह गरेकी छन् ।


ADVERTISEMENT


रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् ‘न्याय दिनुहुन्छ भनेर नै हामी काठमाडौँ आएका छौँ । राष्ट्रपतिकी पनि छोरी होलिन्, मेरी छोरीलाई पनि त्यस्तै सम्झिदिनुस् ।’ यस्तै उनले न्याय दिन नसक्ने हो भने आफूलाई पनि गोली हानेर हत्या गर्न सरकारलाई चुनौती दिइन् ।


ADVERTISEMENT

# # #


‘न्याय पाउनकै लागि हामी यहाँ आएका हौँ ।’ उनले भनिन्, ‘यदि न्याय दिन सक्नुहु्न्न भने हामी तपाईहरुलाई न्याय दिन सक्दैनौँ बरु मार्न सक्छौँ भनेर भनिदिनुहोला । मेरो छोरीले न्याय पाउँदिनन् भने मलाई पनि गोली ठोक्नुस् ।’

साउन १० गते साथी रोशनी बम कहाँ गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो । अहिले निर्मलाको लागि न्यायको माग गर्दै उनका बुवाआमासहित कञ्चनपुरका अगुवा महिला अधिकारकर्मीहरु काठमाडौंमा छन् ।

निर्मालाको बुवाको प्रश्न : लास त्यहाँ छ भनेर बम दिदीबहिनिलाई कसरी थाहा भयो ?

निर्मला पन्तको घटनामा अनुसन्धान गर्न जिल्लाका प्रहरीलाई माथिबाटै सहयोग नगर्न भनिएको परिवारले आरोप लगाएका छन् । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा निर्मलाका बुवाले बम दिदीबहिनीले सहयोग गर्नु पर्नेमा सान्तवनासमेत नदिएको बताए ।

‘कसैले नदेखेको लास त्यहाँ छ भनेर बम दिदीबहिनिलाई कसरी थाहा भयो ?’ निर्मलाका बुवाले भक्कानिँदै प्रश्न गरे, ‘म नेपाली नागरिक हुँ कि होइन रु, शान्तिपुर्ण ढङ्गले कारबाही गर भन्दा गोली किन हानियो ?’

आफूले कसैसँग केही नमागेको उनले बताए । ‘हामीले कसैसँग केही मागेका छैनौं’, उनले भने, ‘मात्र न्याय मागेका हौं । न्याय दिन नसक्ने हो भने हामीलाई पनि गोली हानेर मार्दा हुन्छ ।’ प्रमाण नष्ट गरेकोमा उनले प्रहरीप्रति नै शंका गरेको बताएका छन् ।

कुकुरले सुँघेकै भरमा थाहा हुने भए पनि प्रहरीले त्यसो नगरेकोमा उनले गुनासो गरे । प्रहरीले पहिलेदेखि जेल बसेको मान्छे खोजेको भन्दै सही तबरले छलफल र अनुसन्धान नगरेको बताए ।

आफूलाई जबरजस्ती किटानी दिन लगाएको उनले बताए । ‘खोलामा बाढी आउँछ रोडसम्म पानी आउँछ, तर अस्थाइ साधन जस्ताको त्यस्तै थियो’, उनले भने, ‘मैले त्यहिबेला यो विषयमा प्रहरीलाई भन्दा उल्टै प्रहरीले थर्कायो । हामीलाई सिआइडि लगाएर हाम्रो फलो गरिएको छ ।’ उनले आफ्नो घरमा प्रहरीले गरेजति खानतलासी अपराधिका घरमा गरेको भए अपराधी पत्ता लागि सक्ने बताए । ‘हामीले न्याय माग्दा कस्तो गल्ती गर्यौँ’ उनले भने ।