भद्रपुर– अतिथिको स्वागत गर्दा दिइने फूलको गुच्छा होस् वा तिहारमा दिदीबहिनीहरुले लगाइदिने माला, सयपत्री फूलको थुङ्गाले दिने सौन्दर्यको तुलना नै हुन सक्दैन ।
न्वारानदेखि घाटसम्म र मन्दिरदेखि घरसम्म प्रयोग हुने फूलहरुमध्ये सयपत्रीलाई नेपालीहरुले अति मन पराउँछन् । सभा समारोहहरुमा सजाउन मात्र होइन, पाहुनालाई सम्मान गर्न पनि सयपत्री फूलको माला रोज्न थालिएको छ ।
यति धेरै महत्व र माग भएर पनि नेपालमा भारतबाट महङ्गोमा आयात गरेर सयपत्रीको माग धान्नु परिरहेको छ । सीमावर्ती प्रमुख नाकाहरुबाट वर्षेनी करोडौँको फूल भित्रिरहेको छ । भन्सार नाकाबाट भन्दा बढी मात्रामा अनधिकृत रुपमा खुला सिमानाबाट भित्र्याइने गरिएको छ ।
फूलमाथिको यही परनिर्भरता हटाउन र आय बढाउन झापाका किसानहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका छन् । झापाको अर्जुनधारा, भद्रपुर, मेचीनगर, विर्तामोड, गौरादह लगायतका क्षेत्रमा किसानहरुले यसपालि २० बिघाभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको खेती लगाएका छन् । बाह्रैमास फुल्ने सयपत्रीको वर्णशङ्कर र रैथाने बिरुवा रोपेका उनीहरुले यसपालिको तिहारमा स्वदेशी फूलले बजारको माग धान्ने बताएका छन् ।
भद्रपुर–७ इलुबारीमा खगिन्द्रा खुशीले दुई बिघा जग्गा भाडामा लिएर सयपत्री फूलको व्यावसायिक खेती गरेकी छन्। “तिहारमा भारतबाट भित्रिने सयपत्री फूल किन्न घुइँचो लागेको देखेर मलाई यसको खेती गर्ने सोच आयो,” निजी लगानीमा खेती शुरु गरेकी खुशी भन्छिन् “फूल फुलाउन मात्र पर्दोरहेछ, किन्ने व्यापारीहरु बारीमै आउँछन् ।”
सयपत्री फूलको बेर्ना रोपेको एक महिनापछि नै फुल्न थाल्ने भएकाले उनको बारीमा अहिले फूल फुल्न थालिसकेको छ । तिहारका लागि अर्कै बिरुवाहरु हुर्किरहेका छन् ।
विर्तामोडको सूर्योदय टेलिभिजनमा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने साहित्यकार खुशी फूल खेतीमा काम गर्न सजिलो हुने र उत्पादन खर्च समेत कम हुने अनुभव सुनाउँछिन् । तिहार अगावै फूल फुल्दा बजारमा नबिक्ने हो कि भनी शुरुमा उनलाई चिन्ता लागेको थियो तर, त्यसो भएन । ठूलो संख्यामा रहेका सहकारी संस्थाहरुबाट साधारण सभाका लागि आएका माग पूरा गर्नै धौ धौ छ ।
मेचीनगर–९ मा डी एण्ड डी बायोप्लान्टेक नामक कम्पनी दर्ता गरेर विगत चार वर्षदेखि नर्सरी व्यवसायमा लागेकी दीक्षा उप्रेतीले यसपालि १० कठ्ठा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती शुरु गरेकी छन्। “फूल खेती नेपाली महिलालाई स्वरोजगार बनाउने एउटा वैकल्पिक व्यवसाय हो,” नर्सरी व्यवसायकी अनुभवी दीक्षा भन्छिन् – “मैले तीन तले खेतीको रुपमा सयपत्रीसँगै मेवा र कागती खेती गरेकी छु ।”
तिहारमा सयपत्री फुलिसक्ने र त्यसपछि मेवा फलाउने उनको योजना छ । उनको खेतीमा कलकत्ते भेराइटीज जातको सयपत्रीका बिरुवामा यतिबेला कोपिला लाग्न थालेका छन् । तिहारमा मात्र फुलाउने योजनाअनुसार उनले बिरुवाको मुन्टा बेलाबेला टिपेर फाल्ने गरेकी छन् ।
उनले सयपत्री फूलको खेतीमा झार र रोगबाट जोगाउन ‘मलसिङ’ प्रविधि प्रयोग गरेकी छन्। भुइँमा प्लास्टिक ओच्छ्याएर बिरुवा टुसाउन दिनका लागि मात्र दूलो पार्ने नयाँ प्रविधिलाई मलसिङ भनिन्छ ।
डी एण्ड डी बायोप्लान्टेकबाट उनले खेती गर्न चाहनेहरुलाई परामर्शसहित यसपालि ३५ हजार सयपत्रीका बिरुवा बिक्री गरिसकेकी छन् ।
झापाका महिलालाई व्यावसायिक बनाउन सहयोग पुर्याउँदै आएको महिला उद्यमी सङ्घ झापाले विर्तामोड–१ र भद्रपुर–८ मा एक बिघा जग्गा भाडामा लिएर सयपत्री फूलको नमुना खेती गरेको छ । सङ्घको खेतीमा सयपत्रीको कोपिला मात्र भर्खर बस्न थालेको छ । “सयपत्री फुल्नु अघि नै मालाको अर्डर आइसक्यो, बजारको कुनै चिन्ता छैन” – सङ्घका अध्यक्ष गोभा भट्टराई बताउँछिन् ।
सङ्घले सयपत्रीको बिरुवा उमारेर इच्छुक व्यक्ति र समूहलाई यसपालि एक लाख बिरुवा बिक्री गरेको भट्टराईले जानकारी दिइन् । सयपत्री फूलको खेतीतर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । एक कठ्ठा र दुई कठ्ठाका दरले यसको खेती लगाउने झापामा दर्जनौँ किसान छन् ।
विर्तामोड–९ निवासी अर्का किसान दलबहादुर अधिकारीले यसैका लागि चारवटा अत्याधुनिक टनेल निर्माण गरेर खेती शुरु गरेका छन् ।
उनले पाँच कठ्ठामा बेमौसमी हजारिया जातको सयपत्री फूलको खेती लगाएको बताए । उनले टनेलमा फुलाएको फूलको एक खेप बिक्री भइसकेको छ । अरु खेतमा लगाइएको सयपत्री तिहारका बेला फुलाउने उनको योजना छ । अर्जुनधारा जलेश्वरधाममा दैनिक पूजाका सामग्री बेच्ने खुद्रा व्यापारीहरु सयपत्री किन्न उनको बारीमै पुग्ने गरेका छन् ।
महिलाहरुले फूल खेतीप्रति देखाएको लगनशीलताका कारण विर्तामोड नगरपालिकाले पनि प्रोत्साहन दिन थालेको छ । फूल किसानलाई प्रोत्साहन गर्न विर्तामोड नगरपालिकाले उद्यमी महिला सङ्घलाई बेर्ना खरिद र तालीमका लागि चालु बजेटबाट रु ५० हजार अनुदान दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडाले बताए ।
टनेल बनाएर आधुनिक विधिबाट बेमौसमी फूलको खेती गर्दै आएका विर्तामोड–९ का दलबहादुर अधिकारीलाई समेत नगरपालिकाले रु ६० हजार अनुदान दिएको छ । विर्तामोड नगरपालिकाका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले नगरलाई फूलमा आत्मनिर्भर बनाउने योजना अनुरुप प्रोत्साहन प्रदान गरिएको र यस्तो प्रोत्साहन अझै बढाउँदै लगिने बताए ।
उद्यमशील महिला सङ्घ झापाले महिलालाई सयपत्री फूलको खेतीमा लाग्न आग्रह गर्दैआएको छ । “थोरै पूँजी र मेहनतमा फूल खेती गर्न सकिन्छ,” सङ्घका अध्यक्ष भट्टराईले भनिन् – “महिला दिदीबहिनीहरु सयपत्री फूलको खेती गर्नूस्, बजार हामी खोजिदिन्छौँ ।”
चितवन र काठमाडौँबाट समेत सयपत्री फूलको मालाको माग आउन थालेको बताउँदै उनी भन्छिन् – “अहिले भइरहेको खेती अपुग छ । झापामा धेरै ठूलो सम्भावना छ सयपत्री फूल खेतीको ।”
इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा बागबानी विषयमा अध्यापन गराइरहेका विकास खनालले झापाको माटो र हावापानी सयपत्री फूल खेतीका लागि उपयुक्त भएको बताए ।
“वर्षेनी विदेशबाट करोडौँको फूल आयात भइरहेको छ तर, हामी स्वदेशमै यसको सम्भावनालाई देख्न सकिरहेका छैनौं,” खनाल भन्छन् –“झापालाई फूल खेतीको पकेट क्षेत्र घोषणा गरेर सरकारले किसानलाई तालीम, प्राविधिक सहयोग र अनुदान दिनुपर्छ ।”
सयपत्री फूल खेतीप्रतिको आकर्षणले मुलुकभरकै माग धान्ने गरी उत्पादन गर्न झापा सक्षम हुने विश्वास विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराई व्यक्त गर्छन् । फूलको परनिर्भरता हटाउन सरकारले किसानलाई प्रोत्साहन स्वरुप सुलभ कर्जा र अन्य सहुलियत प्रदान गर्नुपर्ने बजार विश्लेषकहरु बताउँछन् । – चन्द्रकला भण्डारी रासस