काठमाडौँ– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।


ADVERTISEMENT


असार १४ गते निर्धारित चुनावलाई लक्षित गर्दै राजपाले १० गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


उम्मेद्वारहरूको मनोनय दर्ताका दिन असार २ गते राजपाले गाउँपालिका र नगरपालिकामा अवस्थित निर्वाचन केन्द्रहरूमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने बताएको छ । त्यस्तै असार ६ देखि १४ गतेसम्म निर्वाचन कार्यक्रममा अवरोध गर्ने उसले जनाएको छ ।

आन्दोलनका कार्यक्रम सार्बजनिक गर्न आइतबार बिजुलीबजारमा आयोजित पत्रकार सम्मेलनमा राजपा नेता राजेन्द्र महतोले सरकारसँग वार्ताको औचित्य सकिएको बताए । तर, सरकारले मागहरु पूरा गरेको खण्डमा आफूहरु सहमतिमा आउन तयार रहेको राजपा नेता महतोले संकेत गरे ।

आइतबार बिजुली बजारमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा महतोले भने ‘हामी परिस्थिस्थितिलाई हेरि राखेका छौं, अब वार्ता कति गरीराख्ने ? सरकारले हाम्रा मागहरु पूरा गरोस् ।’

राजपा नेता जितेन्द्र सोनलले आन्दोलनका कार्यक्रमहरू पत्रकारलार्इ वाचन गरेर सुनाएका थिए । अत्यन्तै छोटो पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नको जवाफ राजेन्द्र महतोले दिए भने महन्थ ठाकुर खासै बोलेनन् । पत्रकार सम्मेलनमा नेताहरू केही गम्भीर र हतास मुद्रामा देखिएका थिए ।

राजपाले जेठ २९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, जेठ ३०, ३१ र असार १ र २ गते थरुहट, मधेस र लिम्बुवान बन्द गर्ने जनाएको छ । यसैगरी जेठ ३० र ३१ गते गाउँपालिका, नगरपालिकाहरुमा चुनावको विरोधमा माइकिङ गर्ने तथा असार १ गते विभिन्न चोक र चौराहामा खबरदारी सभाका साथै शहीदहरुको तस्वीरमा माल्यार्पण गर्ने भएको छ ।

उम्मेद्वारी मनोनयनका दिन असार २ गते गाउँपालिका नगरपालिकाहरुमा निर्वाचन केन्द्रको कार्यालयमा तालाबन्दी गर्ने र लाठी जुलुस निकाल्ने,  असार ३ र ४ गते शहीदहरुको तस्वीर प्रदर्शन गर्ने कार्यतालिका बनाएको छ ।

यसैगरी असार ५ गते जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने, असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचनसम्बन्धी कार्याक्रमहरुमा अवरोध पुर्‍याउने राजपाद्वारा जारी प्रेसविज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तै असार ८ गते जिल्ला सदरमुकामहरुमा मोटरसाइकल र्‍याली निकाल्ने र असार १० गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने राजपाले जनाएको छ ।