नेपालगञ्ज, बाँके – सार्वजनिक यातायातका चालकको आन्दोलनका कारण भारतबाट स्वदेश फर्कंदै गरेका यात्रु नेपालगञ्जमा अलपत्र परेका छन् ।


ADVERTISEMENT


भारतमा रोजगार गरी पर्व मनाउन घर फर्कंदै गरेका प्रदेश नं ५ र कर्णाली प्रदेशका पहाडी जिल्लाका सर्वसाधारण तीन दिनदेखि नेपालगञ्जमा अलपत्र परेका हुन् । नेपालगञ्ज बसपार्कमा बस चल्ने आशामा यात्रु दिनभर धाउने गरेका छन् ।
बस सञ्चालन नहुँदा घर जान नपाएको जाजरकोट भेरीगङ्गा नगरपालिकाका शिवकुमार वलीले बताए । भारतबाट घर जाने र उपचारका लागि नेपालगञ्ज आएका सर्वसाधारण गाडी नचलेका कारण अलपत्र परेको वलीले जानकारी दिए।


ADVERTISEMENT

# # #


सार्वजनिक यातायात सञ्चालन नगरेर घरमै थन्काउँदा सयौँको सङ्ख्यामा यात्रु गन्तव्यमा पुग्न नसकेर नेपालगञ्जमै अलपत्र परिरहेको भेरी अञ्चल यातायात व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष शोभाखर पौडेलले बताए ।

चालक र मालिक आफैँ भएका सार्वजनिक बस फाट्टफुट्ट सञ्चालनमा आए पनि अन्य बस सञ्चालन गर्न चालकले नमानेको उनले बताए । दिनभर यात्रुलाई जम्मा गरे पनि अन्तिममा चालकले गाडी चलाउन इन्कार गर्ने गरेको पौडेलको भनाइ छ ।

सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै असोज १ गतेदेखि चालक आन्दोलित भएका हुन् । नेपाल स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिको बन्द आह्वान भनिए पनि नेपालगञ्जमा आन्दोलन नेतृत्वविहीन छ । “यहाँ कसैले चला वा नचला भन्ने भन्दापनि स्वस्फूर्तरुपमा बन्द भएको छ । केन्द्रबाट पर्चा, पम्प्लेट बाँडेकाले नचलाएका हुन्”, चालक इन्द्र थापाले भने । मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ चालकमैत्री नभएकाले चालकहरु आन्दोलनमा उत्रिनु परेको उनले बताए ।

भेरी यातायात प्रालिका महासचिव उमेश गुरागार्इंले सार्वजनिक यातायातका चालकको आन्दोलनका कारण पर्वको मुखमा व्यवसायी पीडित भएको बताए । यात्रुको चाप हुने बेला गरिएको आन्दोलनले यात्रुसँगै व्यवसायीसमेत पीडित हुनुपरेको उनको भनाइ छ । व्यवसायी र सङ्घ–संस्थासँग समन्वय नगरी गरिएको चालकको आन्दोलन निष्कर्षमा पुग्न कठिन देखिएको उनले बताए ।