काठमाडौं – एसिया कप क्रिकेटमा अफगानिस्तानले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै समूह बीको विजेता बनेको छ ।


ADVERTISEMENT


बिहीबार राति भएको समूह बीको अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई १३६ रनले पराजित गर्दै नसोचेको नतिजा हात पारेको हो । यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकामाथि अफगानिस्तानले ९१ रनको जित हात पारेको थियो ।


ADVERTISEMENT

# # #


आबुधावीस्थित शेख जायद स्टेडियममा अफगानिस्तानले प्रस्तुत गरेको २५६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४२.१ ओभरमा सबै विकेटको क्षतिमा ११९ रन मात्रै बनाउन सक्यो ।

बंगलादेशमाथि भारीअन्तरले विजयी भएसँगै अफगानिस्तान समूह बी को विजेता बनेको छ । बंगलादेशका लागि शाकिब अल हसनले ३२, ममुदउल्लाहले २७ र मोसाडेक हुसेनले अविजित २६ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका राशिद खान, मुजिब उर रहमान र गुलाबदिन नाइबले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५५ रन बनाएको थियो । अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले सर्वाधिक ५८ रन बनाए । त्यस्तै, राशिद खानले अविजित ५७ र गुलाबदिन नाइबले अविजित ४२ रन बनाएपछि अफगानिस्तानले राम्रो योगफल तय गरेको थियो ।

यता, बंगलादेशका सकिब अल हसनले ४ विकेट लिए ।