काठमाडौँ– साझा पार्टीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ईटहरी उपमहानगरपालिकाको मेयर र उपमेयरमा उमेदवारी दिने निर्णय गरेको छ ।


ADVERTISEMENT


पार्टी निर्माणको छोटो समयमा नै काठमाडौँ र ललितपुर महानगरमा उम्मद्वारी दिएको साझाले सम्मानजनक मत पाएपछि ईटहरी उपमहानगरपालिकामा पनि उम्मेद्वार तोकेको हो । साझा पार्टीले ईटहरीको मेयरका लागि डा. तारा काफ्ले र उपमेयरका लागि प्रकाशचन्द्र परियारलाई उठाउने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


दोस्रो चरणको निर्वाचनमा साझा पार्टीका तर्फबाट उमेदवारी दिन दर्जनौं अनुरोधहरू प्राप्त भएका भए पनि संगठनको अभावमा पार्टीले मूलतः ईटहरीमा मात्र आफ्नो ध्यान केन्द्रित गर्ने लक्ष राखेको छ।

ईटहरी उपमहानगरपालिका वडा नं ५ निवासी ३८ वर्षिया डा तारा काफ्ले प्रध्यापन र समाजसेवामा संलग्न छिन् । उनले जनसङ्ख्या तथा जनस्वास्थ्यमा स्नातकोत्तर र सामुदायिक चिकित्सामा काशी हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छिन्। आफ्ना उपमेयरका उमेदवार प्रकाशचन्द्र परियार र साझा पार्टीको विज्ञ टोलीसँग मिलेर इटहरीलाई सम्पूर्ण देशकै नमुना सहरका रूपमा विकास गर्ने खाका निर्माण गर्न कटिवद्ध छिन्।

त्यसैगरी उपमेयरका लागि उठाइएका प्रकाशचन्द्र परियार पत्रकार तथा मानव अधिकारकर्मी हुन् भने साझा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य पनि हुन्। परियार सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा कार्यरत छन्।

एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका ईटहरी निवासी परियारले आमसंचारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियावाट नेतृत्व विकासको तालिम लिएका छन्।