काठमाडौं– राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले हिन्दी भाषाले राष्ट्र भाषाको मान्यता नपाउञ्जेलसम्म संसदमा आफू  हिन्दी बोलिरहने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेता महतोले सामाजिक सञ्जालमा आफ्नो आलोचना भएको भन्दै आफूले नेपाली राम्रोसँग बोल्न सक्ने बताए ।


ADVERTISEMENT


उनले नेपालीमा भने, ‘‘म राम्रोसँग नेपाली बोल्न सक्छु । आफ्नो भाषाको पहिचान र मान्यताका लागि बोलेको हुँ । जबसम्म मान्यता पाउँदैन तबसम्म बोलिरहन्छु ।’ यस्तै उनले सरकारले रेशम चौधरीलाई तत्काल रिहा गरेर निर्वाचित सांसदको प्रमाणपत्र दिनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले मधेसको माग समेटेर संशोधन नगरेमा यो संविधानको दुर्गति हुने चेतावनी दिए ।

संसद बैठकलाई संबोधन गर्दै उनले पटक पटक माग गरे पनि सरकार कानमा तेल हालेर बसेको भन्दै संशोधन नगरेमा विगतमा ६ वटा संविधानजस्तै अहिलेको संविधानको पनि दुर्गति हुने चेतावनी दिएका हुन् ।

‘मधेसी जनताले पटक पटक आवाज उठाएका छन् । संविधान संशोधन के हुन्छ ? सरकार यसरी कानमा तेल हालेर बस्ने हो भने अगाडिका ६ वटा संविधानजस्तै सातौं संविधानको पनि दुर्गति हुन्छ’ महतोले भने ।

‘धैर्यको एउटा सीमा हुन्छ’ भन्दै नेता महतोले भने ‘धैर्यको बाँध टुट्यो भने मुलुकमा धेरै कुरा टुट्छ ।’

आजै अधिवेशन अन्त्य भए पनि यसपछि बस्ने अधिवेशनमा संविधान संशोधनको प्रस्ताव ल्याउन उनले माग गरे । सङ्घीयताको श्रेय मधेश आन्दोलनलाई जाने बताउँदै उनले यसको संरक्षणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । भौगोलिक अखण्डतालाई खलल पुर्याउन गरिने कुनै पनि गतिविधिमा आफ्नो दलको समर्थन नरहने उनले स्पष्ट पारे ।