काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको विधान संशोधनका लागि २० बुँदे सुझाव दिएका छन् । विधान संशोधनको मस्यौदामाथि विभिन्न प्रदेशमा छलफल भइरहेका बेला नेता गुरुङले केन्द्रीय समितिको आकार नबढाउन सुझाव दिएका छन् ।


ADVERTISEMENT


सुझाव पत्रमा उनले भनेका छन्, ‘संशोधित विधानमा नेपालको वर्तमान संविधान अनुसार भएको राज्यको पुर्नसंरचना अनुसारको नेपाली कांग्रेसको संरचनाहरु निर्माण गर्ने विषयमा मात्र विधान संशोधन सम्वन्धि प्रस्ताव केन्द्रीत हुँदा राम्रो हुन्छ ।’


ADVERTISEMENT

# # #


यस्तै उनले आरक्षण कोटाबाट लगातार दुई पटक केन्द्रीय सदस्य निर्वाचित वा मनोनित भइसकेका व्यक्ति पुनः सोही पदमा सोही आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित वा मनोनित हुन नपाउने व्यवस्था विधानमा नै उल्लेख गर्न सुझाव दिएका छन् ।

हेर्नुस् नेता गुरुङले दिएका सुझावहरु : 

१.  नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा निर्वाचनमा भोट हाल्न पाउने र उम्मेदवार हुन पाउने दुबै अधिकार सहितको निम्न योग्यता पुगेका नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने विशेष महाधिवेशन प्रतिनिधिहरु (Super Delegates) को व्यवस्था विधान संशोधन गर्दा संशोधित विधानमा व्यवस्था गर्दा राम्रो हुन्छ ।

“अग्रजको सम्मान सहित पार्टीमा निरन्तरता–नयाँलाई पार्टीमा अवसरको प्रतिवद्धता”

               क)      नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरु र पूर्व केन्द्रीय पदाधिकारीहरु

                ख)          नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु र पूर्व केन्द्रीय सदस्यहरु

                ग)           नेपाली कांग्रेसका प्रदेश प्रमुखहरु र पूर्व प्रदेश प्रमुखहरु

                घ)           नेपाली कांग्रेसका जिल्ला सभापतिहरु र पूर्व जिल्ला सभापतिहरु

                ङ)           नेपाली कांग्रेसका सांसदहरु र पूर्व सांसदहरु

                च)           नेपाली कांग्रेसका लगातार दुई पटक महासमिति सदस्य हुनु भएकाहरु

                छ)          नेपाली कांग्रेसका भ्रातृ संस्थाहरुका सभापतिहरु र पूर्व सभापतिहरु

                ज)          नेपाली कांग्रेसका जनसम्पर्क समितिका सभापतिहरु र पूर्व सभापतिहरु

झ)          नेपाली कांग्रेसको तर्फबाट लोकतन्त्रको लागि भएको संघर्षमा ६ महिना वा सो भन्दा वढी समय जेल जीवन विताउनु भएका लोकतान्त्रिक योद्धाहरु

ञ)           नेपाली कांग्रेसको तर्फबाट लोकतन्त्रका लागि भएको संघर्षमा सहिद हुनु भएका सहिद परिवारका सदस्यहरु

ट)           नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुका सभापतिहरु र पूर्व सभापतिहरु

२. नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको संख्या पदेन सदस्य वाहेक ८५ जना भन्दा वढी हुनु हुँदैन ।

निर्वाचित पदाधिकारीहरु :

१ : सभापति – १ जना,

२ : महामन्त्री – १ जना,

३ : कोषाध्यक्ष – १ जना

निर्वाचित ६१ जना केन्द्रीय सदस्यहरु निम्नानुसार समुह र लिंगबाट गर्दा राम्रो हुन्छ :

क्र.स. समुह पुरुष महिला जम्मा

१. खुल्ला समुह १४ जना ५ जना १९ जना

२. प्रदेश समुह

(हरेक प्रदेशवाट कम्तिमा १ जना महिला निर्वाचित हुने अनिवार्य व्यवस्था) ७ जना ७ जना १४ जना

३. खसआर्य समुह ३ जना २ जना ५ जना

४. आदिवासी जनजाती समुह ३ जना २ जना ५ जना

५.मधेशी र अल्पसंख्यक समुह ३ जना २ जना ५ जना

६. दलित समुह ३ जना २ जना ५ जना

७. थारु/राना थारु समुह २ जना २ जना ४ जना

८. मुस्लिम समुह २ जना २ जना ४ जना

जम्मा ३७ जना २४ जना ६१ जना

क) खुल्ला समुहतर्फ कम्तिमा पाँच जना महिला सहित उन्नाइस जना निर्वाचित हुने व्यवस्था ।

ख) प्रदेश समुहतर्फ सात वटा प्रदेशमा हरेक प्रदेशमा कम्तिमा एक जना महिला सहित दुई जनाको दरले सातवटा प्रदेशमा कम्तिमा सात जना महिला सहित चौध जना निर्वाचित हुने व्यवस्था ।

ग) खसआर्य समुहबाट कम्तिमा दुई जना महिला सहित पाँच जना निर्वाचित हुने व्यवस्था ।

घ) आदिवासी जनजाती समुहबाट कम्तिमा दुई जना महिला सहित पाँच जना निर्वाचित हुने व्यवस्था ।

ङ) मधेशी र अल्पसंख्यक समुहबाट कम्तिमा दुई जना महिला सहित पाँच जना निर्वाचित हुने व्यवस्था ।

च) दलित समुहबाट कम्तिमा दुई जना महिला सहित पाँच जना निर्वाचित हुने व्यवस्था ।

छ) थारु-राना थारु समुहबाट कम्तिमा दुई जना महिला सहित पाँच जना निर्वाचित हुने व्यवस्था ।

ज) मुस्लिम समुहबाट कम्तिमा दुई जना महिला सहित पाँच जना निर्वाचित हुने व्यवस्था ।

झ) सभापतिबाट मनोनित एक्काइस जना मध्ये कम्तिमा सात जना महिला अनिवार्य रुपमा मनोनित हुने विधानमा व्यवस्था हुनु पर्दछ ।

ञ) तीन पदाधिकारी निर्वाचित र एकसठ्ठी जना केन्द्रीय सदस्य निर्वाचित मध्ये महिलाको संख्या कम्तिमा चौवीस जना हुन्छ ।

ट) केन्द्रीय कार्यसमितिको पूर्ण संख्या पचासी जना मध्ये कम्तिमा एकतिस जना महिलाको संख्या (निर्वाचित कम्तिमा चौविस जना र मनोनित कम्तीमा सात जना गरी जम्मा कम्तिमा एकतिस जना महिला) हुन्छ । जुन सम्पूर्ण केन्द्रीय कार्यसमितिको संख्यामा महिलाहरुको संख्या कम्तिमा ३६.४७ प्रतिशत हुन्छ ।

३. नेपाली कांग्रेसको महासमितिको बैठकमा प्रस्तुत गरिने नेपाली कांग्रेसको संशोधित विधानमा नेपालको वर्तमान संविधान अनुसार भएको राज्यको पुर्नसंरचना अनुसारको नेपाली कांग्रेसको संरचनाहरु निर्माण गर्ने विषयमा मात्र विधान संशोधन सम्वन्धि प्रस्ताव केन्द्रीत हुँदा राम्रो हुन्छ ।

४. नेपाली कांग्रेसको पार्टीगत संरचना सम्बन्धि र अन्य विषयहरुको सम्बन्धमा विधान संशोधन गर्नु पर्दा पार्टीको आगामी चौधौ महाधिवेशनबाट विधान संशोधन गर्दा राम्रो हुनेछ भन्ने प्रस्ताव गर्दा राम्रो हुन्छ ।

५. नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा, संविधान सभा, राष्ट्रिय सभा र प्रदेश सभा मध्ये कुनै पनि सभाको दुई पटक प्रत्यक्ष वा समानुपातिकबाट सांसद भएका व्यक्तिहरुलाई कुनै पनि सभाको समानुपातिकतर्फको उम्मेदवार र राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउन हुँदैन भन्ने प्रस्ताव नेपाली कांग्रेसको विधानमा नै उल्लेख गर्दा राम्रो हुन्छ ।

६. नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा निम्नानुसारको समावेशी आरक्षण कोटाहरु

क) भौगोलिक समावेशी – अंचल-प्रदेश आरक्षण

ख) लैङ्गिक समावेशी – महिला आरक्षण

ग) समुदायमा आधारित समावेशी – आदिवासी जनजाती, मधेशी, दलित र मुस्लिम आरक्षण

माथीका यी समावेशी आरक्षण कोटाबाट बढीमा लगातार दुई पटक मात्र केन्द्रीय सदस्य हुन पाउने व्यवस्था हुनु पर्छ । आरक्षण कोटाबाट लगातार दुई पटक केन्द्रीय सदस्य निर्वाचित वा मनोनित भइसकेका व्यक्ति पुनः सोही पदमा सोही आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित वा मनोनित हुन नपाउने व्यवस्था विधानमा नै उल्लेख गर्दा राम्रो हुन्छ ।

७. नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगायतका भातृ संस्थाहरुको जिल्ला कार्यसमिति मार्फत नगरपालिकाको एउटा वडा समितिले पाउने संख्या सरहको क्षेत्रीय अधिवेशन प्रतिनिधि पाउने व्यवस्था विधानमा उल्लेख गर्दा राम्रो हुन्छ ।

८. केन्द्रीय कार्यसमितिदेखि वडा कार्यसमितिसम्मको कार्यसमितिमा समावेशी आरक्षण कोटामा जुन जुन समुदायलाई आरक्षण दिने हो उनीहरुको देशमा भएको जनसंख्याको आधारमा प्रतिशत निर्धारण गरी संख्याहरु तय गर्दा राम्रो हुन्छ । सबैलाई न्यायोचित किसिमले केन्द्रीय कार्यसमितिदेखि वडा समितिसम्मको कार्यसमिति तथा प्रदेश महाधिवेशन प्रतिनिधिदेखि प्रतिनिधिसभा महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य सम्म देशमा भएको जनसंख्याको आधारमा आरक्षीत गरिएको समुदायको संख्या निर्धारण गरी विधानमा नै उल्लेख गर्दा राम्रो हुन्छ ।

९. नेपालको संविधानले थारु समुदायलाई अलग्गै समुदायको रुपमा उल्लेख गरेको कारणले केन्द्रीय कार्यसमितिको निर्वाचनमा थारु समुदाय र राना थारु समुदायलाई अलग्गै आरक्षणको कोटा र संख्या उपलव्ध हुने वैधानिक व्यवस्था विधानमा नै उल्लेख हुँदा राम्रो हुन्छ ।

१०. मतदान केन्द्र समिति (वुथ समिति) बाट क्षेत्रीय अधिवेशन प्रतिनिधिहरु निर्वाचित हुने व्यवस्था विधानमा उल्लेख गर्दा राम्रो हुन्छ ।

११. कतिपय प्रदेश सभाको निर्वाचन क्षेत्रहरु एउटा नगरपालिका सरह वा सो भन्दा सानो भएका पनि छन् । यसैले प्रतिनिधि सभाको क्षेत्रीय समितिको व्यवस्था मात्रै विधानमा गर्दा राम्रो हुन्छ । प्रदेश सभाको क्षेत्रीय समितिको व्यवस्था गर्दा नगर समितिको कार्य क्षेत्र, उपमहानगर र महानगरपालिका समितिको कार्य क्षेत्र र गाउँपालिका समितिको कार्य क्षेत्रको काम, कर्तव्य र अधिकार प्रभावित हुन सक्छ । यसर्थ, प्रदेश सभा क्षेत्रीय समितिको व्यवस्था विधानमा उल्लेख नगर्दा राम्रो हुन्छ र विधानमा केबल प्रतिनिधि सभाको क्षेत्रीय कार्यसमितिको व्यवस्था गर्दा राम्रो हुन्छ ।

१२. हरेक क्रियाशील सदस्यले महिनामा कम्तिमा पाँच दिन पार्टीको काममा समय दिने व्यवस्था विधानमा उल्लेख गर्दा राम्रो हुन्छ । “महिनामा पच्चीस दिन पेटको लागि र परिवारको लागि–महिनामा कम्तिमा पाँच दिन पार्टीको लागि” भन्ने भावना सहित क्रियाशील सदस्यको काम र कर्तव्य विधानमा उल्लेख गर्दा राम्रो हुन्छ ।

१३. पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरु छनौट गर्दा र राष्ट्रिय सभाका उम्मेदवारहरु छनौट गर्दा एउटा निश्चित मापदण्ड अनुसार गर्नु पर्ने वाध्यात्मक व्यवस्था विधानमा नै उल्लेख गर्दा राम्रो हुन्छ ।

१४. पार्टीको पदाधिकारीहरुमा पनि सबै समुदायको प्रतिनिधित्व, सहभागिता र भूमिका आवश्यक हुन्छ । यसर्थ, पार्टीको पदाधिकारीहरुमा पनि सबै समुदायलाई अवसर दिनको लागि आरक्षण कोटाको व्यवस्था विधानमा नै उल्लेख गर्दा राम्रो हुन्छ ।

१५. पार्टीको पदाधिकारीहरुको बैठक र यसको निर्णयलाई वैधानिक मान्यता विधानमा नदिदा राम्रो हुन्छ । पार्टीको पदाधिकारीहरुको बैठकको निर्णयलाई वैधानिक मान्यता दिने हो भने यसले पार्टीको कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको भूमिका र अधिकारलाई संकुचित गर्दै लान्छ । कालान्तरमा कार्यसम्पादन समिति र केन्द्रीय समितिको भूमिका निस्क्रिय जस्तै हुन्छ । सबै काम पार्टीको पदाधिकारीहरुको बैठकबाट नै हुने सम्भावना वढी रहन्छ । यसैले पार्टी पदाधिकारीहरुको बैठकलाई र यसको निर्णयलाई विधानमा स्थान नदिदा राम्रो हुने व्यवस्था विधानमा उल्लेख गर्दा राम्रो हुन्छ ।

१६. पार्टीको विधान संशोधन मस्यौदा समिति मार्फत मस्यौदा हुने नयाँ विधानले संगठनको नयाँ संरचना र यसको काम, कर्तव्य र अधिकारहरुको व्यवस्था गर्ने भएकोले अब आउँदो २०७५ को मंसिर महिनामा बस्ने महासमितिको बैठकमा सो विधान संशोधनको मस्यौदा पेश हुने भएकोले महासमितिको बैठक अगाडी कुनै पनि किसिमको समिति र विभागहरु गठन नगर्दा राम्रो हुन्छ भन्ने सुझाव विधान संशोधन मस्यौदा समितिमा रहनु भएका आदरणीय संयोजक र सदस्यहरुले सम्वन्धित पदाधिकारीहरुलाई दिदा राम्रो हुन्छ । महासमितिको बैठकपछि नयाँ संशोधित विधान आउने अपेक्षा सबैले गरेका कारणले सो नयाँ संशोधित विधान अनुसार नै महासमितिको बैठकपछि पार्टीको समितिहरु र विभागहरु गठन गर्दा राम्रो हुन्छ ।

१७. अहिले पार्टीको विधानमा रहेको विभागहरुको संख्या धेरै छ । देशमा नयाँ संविधानले मन्त्रालयहरुको संख्या कम गरिसकेको अवस्था छ । यस्तो अवस्थामा विभिन्न मन्त्रालयहरु एकआपसमा गाँभिएर पहिले भन्दा कम मन्त्रालयहरु भएका छन् । यसैगरी पार्टीको विभागहरुलाई पनि एकआपसमा मिल्ने विभागहरुलाई गाभेर वढीमा १८ वटा विभागहरुको व्यवस्था विधानमा उल्लेख गर्दा राम्रो हुन्छ ।

१८. विधानमा केन्द्रीय सदस्यहरुको संख्या वढाउने प्रस्ताव गर्नु राम्रो हुँदैन । अहिले भएका कतिपय केन्द्रीय सदस्यहरुले पार्टी भित्र पार्टीको काम र भुमिका तथा पार्टीबाट पाउने अवसर पाइरहेका छैनन् । यसमा भएको संख्यामा अझ थप गर्ने हो भने केन्द्रीय सदस्यहरुले पुनः पार्टीको काम, भुमिका र अवसर नपाउने सम्भावना वढी रहन्छ । यसर्थ, पार्टीको विधानमा अहिले भएको केन्द्रीय कार्यसमितिको संख्यालाई नै निरन्तरता दिने प्रस्ताव विधानमा उल्लेख गर्दा राम्रो हुन्छ ।

१९. नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा गलत मनसायले अनुशासनको कारवाही गर्ने भनी कसैले विना प्रमाण र कसैको राजनीतिक भविष्य सिध्याउने नियतले उजुरी दिएमा उजुरी कर्ताले दिएको उजुरी अनुसारको प्रमाण उजुरी कर्ताले पेश गर्न नसकेमा उजुरी कर्ताले जसको विरुद्ध उजुरी दिएको हो उसलाई क्षतिपूर्ति दिने वैधानिक व्यवस्था नियमावलीमा गर्दा राम्रो हुन्छ । साथै, नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा गलत मनसाय र उद्देश्यले अनुशासनको कार्वाही गर्ने भनी कसैले विना प्रमाण र कसैको राजनीतिक भविष्य सिध्याउने नियतले कसैको विरुद्ध उजुरी दिएमा र उसको उजुरी प्रमाणित नभएमा त्यस प्रकारका उजुरीकर्तालाई क्षतिपूर्ति सहित अनुशासनको कारवाही गर्ने वैधानिक व्यवस्था विधान र नियमावलीमा गर्दा राम्रो हुन्छ ।

२०. नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा तह, प्रदेश सभा तह र स्थानीय तहमा उम्मेदवार भएका सम्पूर्ण उम्मेदवारहरुले आफूलाई सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुको नाम निर्वाचन सकिएको पन्ध्र दिनभित्र केन्द्रीय कार्यालयमा लिखित रुपमा अनिवार्य रुपमा पठाइ सक्नु पर्ने वैधानिक व्यवस्था विधान र नियमावलीमा गर्दा राम्रो हुन्छ ।

जय नेपाल !
(कल्याणकुमार गुरुङ)
केन्द्रीय सदस्य, नेपाली कांग्रेस