कास्की– पोखरा महानगरपालिका–१२ मा सञ्चालित शीतलादेवी सामुदायिक माध्यामिक विद्यालय दुई दशकमा उल्लेख्य शैक्षिक फड्को मार्न सफल भएको छ ।


ADVERTISEMENT


कुनै समय विद्यालयमा विद्यार्थी नभएर भर्नाको लागि घरघरमा खोज्दै हिँड्नुपर्ने अवस्था थियो । अहिले विद्यार्थीको चाप धान्न नसकेर रोजेर भर्ना लिनुपर्ने अवस्था छ । सामुदायिकमा शैक्षिक गुणस्तर खस्केर नीजि विद्यालयप्रतिको आकर्षण बढिरहेको बेला शीतलादेवी भने उत्कृष्ट नतिजाको कारणले सरकारी मूल्याङ्कनमा सर्वोत्कृष्ट हुँदै आएको छ । एसइईमा राम्रो नतिजा ल्याउन सफल सो विद्यालय देशभरका ३४ हजार सामुदायिक विद्यालयमध्येबाट २०७३ र २०७५ सालमा उत्कृष्ट बनेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भएको थियो ।


ADVERTISEMENT

# # #


विसं २०७४ को एसइई परीक्षा नजिताको आधारमा शिक्षा मन्त्रालयले विद्यालयलाई सो पुरस्कार प्रदान गरेको हो । एसइई परीक्षा २०७४ मा सहभागी विद्यार्थीमध्येबाट विद्यालयका छात्रा अर्चना सापकोटाले चार जिपिए ल्याउन सफल भएकी थिइन् भने अन्य विद्यार्थीको पनि नतिजा राम्रो रहेको विद्यालयले जनाएको छ । दुई दशकअघि १५ देखि २० विद्यार्थी पढ्ने सो विद्यालयमा अहिले नर्सरीदेखी १२ कक्षासम्म ८२५ विद्यार्थी अध्ययनरत छन् ।

“विद्यार्थी नभएर घरदैलो गरेर ल्याउनुपर्ने अवस्था थियो , अहिले विद्यार्थी रोजेर भर्ना गर्नुपर्ने अवस्था छ,” विद्यालयका वरिष्ठ सल्लाहकार डा अनिल सुवेदी बताउँछन्, “त्यसबेला कसरी विद्यार्थी ल्याउने भन्ने चिन्ता हुन्थ्यो, १५÷२० बालबच्चा पनि निम्न वर्ग र समुदायका मात्र हुन्थे ।” दुई दशकमै सरकारी विद्यालयमध्ये देशमै सर्वोत्कृष्ट भएको छ । विद्यालयले हासिल गरेको अहिलेको उपलब्धिलाई कायमै राख्नुपर्ने चुनौती रहेको उनको भनाइ छ ।

विद्यालयको अहिलेको सफलतामा शैक्षिक वातावरण राम्रो बनाउन निरन्तर लागिपर्ने विद्यालय व्यवस्थापन समिति, शिक्षकको मिहिनेत तथा समुदायको विद्यालयप्रतिको चासो नै हो । विसं २०५५ मा शीतलादेवीमै बालबालिका भर्ना गर्न आग्रह गर्दै अभिभावकलाई मनाउँदै हिँड्नुपरेको अनुभव उनले सुनाए । “उक्त समयमा बोर्डिङमा पढाउने चलन शुरु भएको थियो, घरनजिकैको विद्यालय छाडेर अभिभावक निजी विद्यालयप्रति आकर्षित थिए” सुवेदीले भने, “घरघरमा पुगेर दोहोर्याइ दोहोर्याइ पनि अभिभावकलाई सम्झाउँथ्यौँ ।”

विसं १९८८ मा भाषा पाठशालाको रूपमा खुलेको विद्यालय २०२१ सालमा माटेपानी प्राथमिक विद्यालयको रूपमा सञ्चालनमा आयो । विसं २०५७ मा विद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने सरकारी नीतिअनुसार सामुदायिक विद्यालयको रूपमा रहेको विद्यालयले २०६४ सालदेखि अग्रेजी माध्यमबाट शिक्षण शुरु गरेपछि अभिभावकको विद्यालयतर्फ आकर्षण बढेको प्रधानाध्यापक बाबुराम अधिकारी बताउँछन् ।

विद्यालयले २०६१ सालदेखि २०६४ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट शिक्षण गर्दै आएकामा अङ्ग्रेजी शिक्षाप्रति अभिभावकको मोह बढेपछि २०६४ देखि अङ्ग्रेजी माध्यमबाट मात्र पठनपाठन गरिँदै आएको छ । नेपाली भाषाको माध्यममा मात्र पढाइ सञ्चालन गर्दा ७३ विद्यार्थी रहेको सो विद्यालयमा अङ्ग्रेजी माध्यममा कक्षा शुरु गरेपछि विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको छ । “अङ्ग्रेजी माध्यममा पढाइ शुरु गरेपछि कहिल्यै विद्यार्थीको कमी भएन”, उनले भने ।

वर्षेनी विद्यार्थी बढ्दै गएपछि अहिले प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने गरिएको छ । विश्वसनियता बढाउन र अभिभावकलाई आश्वस्त पार्न डिकोडिङ गरेर प्रवेश परीक्षा सञ्चालन गर्ने गरिएको छ । पोखरा महानगरपालिका– १२ का साथै वडा नं ११ र १३ का समेत विद्यार्थी अध्ययनका लागि यहाँ आउने गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्की समुदायको सहयोगबाट नै विद्यालयले प्रगति हासिल गरेको बताउँछन् ।

विद्यालयको शैक्षिक नतिजा राम्रो हुनुमा निरन्तर लागिपर्ने शिक्षकको साथसाथै समुदायको पनि महत्वपूर्ण हात रहेको छ । पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको सो विद्यालय शैक्षिक गुणस्तरका साथै भौतिक पूर्वाधारमा पनि धनी छ । विद्यालयमा दुई पक्की तीनतले भवन छन् । विद्यार्थीलाई आवश्यक कम्प्युटर र विज्ञान प्रयोगशालालगायतको सुविधा छ ।  कृष्ण दवाडी/रासस