गोकुले, बैतडी– बैतडी–दार्चुला जोड्ने गोकुलेश्वरस्थित चमेलिया नदीमा हरेको पक्की पुल जीर्ण बन्दै गएको छ । आर्थिक वर्ष २०५९/६० मा निर्माण गरिएको सो पुलले बैतडीलाई दार्चुलासँग जोडेको छ ।


ADVERTISEMENT


दार्चुला–बैतडी सडक खण्डमा पर्ने सो पुल जीर्ण अवस्थामा पुगे पनि मर्मतको पहल नभएको स्थानीय व्यापारी सुरेश श्रेष्ठले बताएका छन् । दार्चुलालाई सडक सञ्जालसँग जोड्ने १२० मिटर लामो सो पुल रु पाँच करोडमा निर्माण भएको हो । सोह्र वर्षअघि निर्माण पूरा भएको पुलको समयमा मर्मत र संरक्षण नहुँदा कमजोर बन्दै गएको छ । “निर्माणपछि पुल मर्मत गरिएको छैन,” उनले भने ।


ADVERTISEMENT

# # #


उक्त पुल निर्माणसँगै दार्चुला राज्यको सडक मार्गसँग जोडिएको हो । गुणस्तरयुक्त काम नहुँदा पुल जीर्ण बदै गएको स्थानीयवासी तिलक साउदले बताएका छन् । चमेलिया पुलले बैतडी र दार्चुलाको आर्थिक वृद्धिमा टेवा पुर्याएको छ भने देशका विभिन्न स्थानबाट आउने सयौं यातायातका साधन यही पुल भएर भित्रिने गरेका छन् ।

क्षमताभन्दा बढी र ठूला यातायातका साधनका कारण पुल जीर्ण बन्दै गएको हो । वर्खामा पानी पुलमै जम्मा हुने गरेको स्थानीयवासी अमरराज जोशीले बताएका छन् । “पानी जम्मा भएका बेला पैदल हिँडडुल गर्नसमेत सकिन्न,” उनले भने ।

पुलमा आवतजावत गर्दा समेत हल्लिने गरेको स्थानीयवासी दानसिंह थलालले बताएका छन् । पुलको खम्बामा खिया लागेको छ । पुल मर्मतमा स्थानीय तहले समेत चासो देखाएका छ्रैनन् । नदीले कटान गर्न थालेपछि पुल झन जोखिममा परेको छ । बजार क्षेत्रको फोहर फाल्ने ठाउँ पनि चमेलिया नदी बनेको छ ।

बैतडी–दार्चुला सडक आयोजनाले निर्माण गरेको उक्त पुलको अवधि ५/६ वर्ष मात्रै भएको सडक डिभिजन कार्यालय पाटन, बैतडीका इञ्जिनीयर शङ्कर खनालले बताए । “कालोपत्र उप्कदैमा पुल जीर्ण हुँदैन,” उनले भने । सिङ्गल लेन भएको पुलमा एकै पटकमा धेरै गाडी ओहरदोहर गरेका कारण असर पुर्याएको उनको भनाइ रहेको छ । रासस