काठमाडौँ– लामो समयदेखि संघीय संसदमा आउनका लागि विभिन्न रणनीति अपनाइरहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य वामदेव गौतमले निकास पाएका छन् ।


ADVERTISEMENT


उनलाई सांसद बन्ने बाटो नेकपाका रामवीर मानन्धरले खोलि दिएका छन् । अर्थात् काठमाडौँ ७ बाट प्रतिनिधि सभामा विजयी नेकपाका सांसद मानन्धरले राजीनामा दिएर गौतमको सपना साकार पार्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


गत मंसिरमा भएको आमनिर्वाचनमा काठमाडौं–७ बाट विजयी बनेका मानन्धरले मंगलबार दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्न लागेको हुन् । मानन्धरले पार्टीको माग बमोजिम नै आफूले राजीनामा दिन लागेको बताएका छन् ।

मानन्धरको राजीनामापछि गत चुनावमा बर्दिया-१ बाट पराजित भएका वामदेव काठमाडौँ ७ बाट अब फेरि चुनाव लड्नेछन् । वामदेवलाई सांसद बनाउनेबारे नेकपाको सोमबारको सचिवालय बैठकमा समेत छलफल भएको थियो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले मानन्धरलाई राजीनामा गराएर गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन प्रस्ताव गरेका थिए।

दाहालले आफू, वामदेव र मानन्धरबीच बैठक बसेर सहमति भइसकेको पनि सचिवालयमा जानकारी गराएका थिए। मानन्धरले सहमति दिएको लिखितपत्र पनि उनले पढेर सुनाएको एक सचिवालय सदस्यले जानकारी दिए ।

स्रोतका अनुसार नेकपाको हरेकजसो सचिवालय बैठकमा वामदेवले आफूलाई संसदमा ल्याउन माग गर्दै आएका थिए। यसअघि उनलाई डोल्पाबाट संसदमा ल्याउने प्रयास भएको थियो। तर सासंद धनबहादुर बुढालाई राजीनामा नगर्न कार्यकर्ताले दबाब दिए। वामदेवले पनि आफूले डोल्पाका नेता कार्यकर्ता समेत नचिनेको भन्दै जोड गरेनन् ।

वामदेवले आफूलाई बर्दिया–१ मा अन्तरघात गरेर हराइएको दाबी गर्दै आएका छन्। दुई पार्टी एकता हुँदासमेत आफू कांग्रेस उम्मेद्वारसँग हार्नुको एक मात्र कारण अन्तरघात भएको भन्दै उनले तत्कालिन एमाले बैठकमा समेत धारणा राखेका थिए। पार्टीले त्यसपछि छानविन समिति समेत गठन गरेको थियो।

गौतम बर्दियामा कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सय ५३ मतले पराजित भएका थिए।

जित्लान् त वामदेव ?

गत संसदीय निर्वाचनमा काठमाडौं ७ मा नेकपाका विजयी मानन्धरले १८ हजार १ सय २ मत ल्याएका थिए। त्यहाँ कांग्रेसले राप्रपाका विक्रम थापालाई समर्थन गर्दै उम्मेद्वार उठाएको थिएन। राप्रपाका विक्रम थापाले १० हजार ७९ मत पाएका थिए।

नेवार समुदायको बाक्लो जनसंख्या रहेको काठमाडौं ७ मा रामवीर लोकप्रिय छन्। प्रतिनिधिसभा छाडेबापत् आफूलाई राष्ट्रिय सभामा मनोनित गर्नुपर्ने र मन्त्री बनाउनुपर्ने सर्त मानन्धरले दाहाल र वामदेसँग राखेको स्रोतले बतायो।