इनरुवा– सुनसरीको इनरुवामा जारी प्रथम मेयर कप टी–२० रात्रीकालीन क्रिकेट प्रतियोगिता अन्तरगत शुक्रबार राति सम्पन्न खेलमा वीरगञ्ज विजयी भएको छ । इनरुवा खेल मैदानमा सम्पन्न भएको सो खेलमा वीरगञ्जले झापालाई ९१ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


टस जितेर झापाले बलिङ गरेको थियो । पहिलो ब्याटिङमा उत्रिएको वीरगञ्जले आक्रामक सुरुवात गरेको थियो । वीरगञ्जका सुरज पटेलले ७६, सुभास यादवले ३४, रसिद खानको नटआउट २८ रन मद्दतमा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८५ रन जोडेको थियो ।


ADVERTISEMENT

# # #


१ सय ८६ रनको बिजयी लक्ष पछ्याएको मेची क्रिकेट क्लब झापाले सुरुवाती ओभरमा आक्रामक ब्याटिङ गरे पनि लगातार विकेट गुमाउन पुगेको थियो । एकपछि अर्को विकेट पतनसँगै दबावमा आएको झापा १८ दशमलव २ ओभरमा ९४ रनमा समेटिएको थियो । झापाका लागि प्रनिस बिरमालीले २७ र सन्दीप ढुङ्गानाले १६ रन जोड्नुबाहेक अन्यको प्रदर्शन जम्न सकेन ।

वीरगञ्जका अनुज चौहान एक्लैले ८ विकेट लिएका थिए । चौहान खेलको म्यान अफ दी म्याच भएका थिए । प्रतियोगिता अन्तरगत आजको खेल नेपाल पुलिस क्लब काठमाडौँ र वीरगञ्जबीच हुनेछ ।