विदुर– जिल्ला हुलाक कार्यालयको हाजिरीकापी जिल्ला प्रशासन कार्यालय नुवाकोटले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


हुलाक कार्यालयमा कर्मचारीको अनियमितता बढ्न थालेपछि हाजिरीकापी नियन्त्रणमा लिइएको हो । दशैँको बिदापछि कार्यालय खुलेको दोस्रो दिनमा कार्यालय प्रमुखसहितका कर्मचारी अनुपस्थित थिए । समाचार सङ्कलनका लागि हुलाक कार्यालय पुगेका पत्रकारले कार्यालयको विवरण माग्दा दिने आधिकारिक व्यक्तिसमेत थिएनन् ।


ADVERTISEMENT

# # #


प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले हुलाकको कर्मचारी ब्यवस्थापन हुन नसक्नु पुरानो रोग हो भन्दै त्यसलाई नियन्त्रण गर्न आफू तत्पर रहेको बताए। हुलाक कार्यालयका प्रमुखसँग स्पष्टीकरण माग्नेदेखि कर्मचारी करारमा नियुक्त गरेका विषयमा पनि छानबिन हुने उनले स्पष्ट गरे ।

फूलपाती अगाडिसम्म ४१ जनाको हाजिरी हुने गरेको हुलाक कार्यालयमा आज ६ जनाको हाजिरी भएको छ जसमा करारमा रहेका तीन र अन्य स्थायी दरबन्दीका तीन जना मात्र थिए । कार्यालय प्रमुख गोपाल अधिकारी कार्यालयमा उपस्थित भएका छैनन् । आफू कार्यालयमा नहुँदा सो कार्यालयका कर्मचारीलाई निमित्तसमेत दिइएको छैन । उनी बिदामा बसेको वा कार्यालयमा नआएको भन्ने समेत कार्यालयमा भएका कर्मचारीलाई थाहा छैन । एकै परिवारमा रहेका बाबु, छोरा, बुहारी र छोरीसमेत करारमा नियुक्त भएका छन् ।

हुलाकको काम भनेको सरकारी चिठ्ठीदेखि हरेक कार्यालयका सूचना समयमा तोकिएको ठाउँमा पु¥याउने एक भरपर्दो निकाय हो । नुवाकोटको हुलाक कार्यालयमा भने कामभन्दा बढी कर्मचारी छन् । कामंमा भने पारदर्शिता देखिँदैन ।

हुलाक कार्यालयमा विभिन्न पदमा करारमा कर्मचारी नियुक्त गर्दै पारिवारिक अखडासमेत बनाइएको छ । एकै परिवारका ६ जनासम्म कार्यालयमा करारमा काम गर्दै आएका छन् । कार्यालय प्रमुखकै श्रीमती गोमासमेत डाँकका रुपमा करारमा नियुक्त छन् । उनको काम भने खासै छैन । उनी महीनामा एक दुई पटक आफ्नो इलाका तोकिएको ठाउँमा जाने र महीनाभरीको हाजिर एकै पटक गरेर तलब बुझने गरेको पाइएको छ । करारमा काम गर्न भनी राखिएका कर्मचारी खोज्दै जाने हो भने कि घरको काम गर्दै हुन्छन् कि त निजी काममा व्यस्त हुन्छन् ।

पछिल्लो समय सूचना तथा सञ्चार मन्त्रालय, हुलाक व्यवस्था विभागले नुवाकोटमा १६ जना करारमा कर्मचारी नियुक्त गर्न निर्देश गरे तापनि जिल्ला हुलाक कार्यालयले भने ३४ जनालाई करारमा राखेको छ । सो कार्यालयमा रहेका कर्मचारीको एक जना नातेदार भए पनि करारमा छन् ।