महेन्द्रनगर– ‘छोरीको हत्यारा पत्ता लाग्ने र न्याय पाउने आस मर्दै गएको छ,’ बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तकी आमा दुर्गादेवीले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्ट बर्खास्त भएको जानकारी पाएपछि भनिन् ।


ADVERTISEMENT


‘दुईजनालाई बर्खास्त गरेर हामीलाई भुलाउन खोजिएको त होइन ?’ उनले भनिन्, ‘कसैलाई निलम्बित गरियोस् वा बर्खास्त, हामीलाई त हत्यारा चाहियो ।’ निर्मलाका बुबा यज्ञराजले एसपी र इन्स्पेक्टरलाई बर्खास्त गरेर वास्तविक अपराधी जोगाउने षड्यन्त्र गरिएको बताए । ‘अब छोरीको हत्यारा पत्ता लाग्ने आस छैन,’ उनले भने, ‘न्याय पाउनै कठिन भयो ।’


ADVERTISEMENT

# # #


भीमदत्त नगरपालिका २, उल्टाखामकी निर्मलाको बलात्कारपछि हत्या भएको ३ महिना पुग्यो । अपराधी पत्ता लाग्ने आस र भरोसामा रहेका पीडित परिवार अब निराश हुन थालेको छ । निर्मलाका आमाबुबासँगै उनलाई न्यायको आन्दोलनमा साथ दिने अधिकारकर्मी र सर्वसाधारणसमेत न्याय पाउनेमा विश्वस्त छैनन् । ‘सुरुबाटै अपराधी जोगाउने काम भइरहेको थियो,’ यज्ञराजले भने, ‘दुई प्रहरीलाई बर्खास्त गरेपछि अब मुख्य दोषी खोज्नै पर्दैनजस्तो गरिँदै छ ।’

अनुसन्धानमा लापरबाही गर्ने प्रहरीमाथि विभागीय मात्र नभई कानुनी कारबाही गरिनुपर्ने दुर्गादेवीको माग छ । ‘गरिब र विपन्नले न्याय पाउँदैनन् भन्ने सुनेकी थिएँ,’ उनले भनिन्, ‘अहिले भोगिरहेकी छु ।’ उनले छोरीका लागि न्याय माग्दै भएका आन्दोलन र आफूहरूलाई न्याय दिलाउने आश्वासन दिनेको भनाइ झूटो सावित भएको बताइन् । – आजको कान्तिपुरबाट