काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले (भोलि ) कात्तिक १२ गते देखि १५ गतेसम्म कतारको भ्रमण गर्ने भएकी छन् ।


ADVERTISEMENT


कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारीले कतारको तीन दिने भ्रमण गर्न लागेकी हुन् । उनको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।


ADVERTISEMENT

# # #


सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाका अनुसार राष्ट्रपतिको भ्रमणको अवसरमा नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध सुदृढ गर्ने काम हुनेछ । त्यस्तै कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

मन्त्रिपरिषद बैठकले नेपाल र मलेसियाबीच कामदार भर्ना रोजगारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न अख्तियारी श्रममन्त्री गोकर्ण विष्टलाई दिएको छ ।

दोस्रो पटक राष्ट्रपति भएपछि यो उनको पहिलो विदेश भ्रमण हो । पहिलो पटक राष्ट्रपति हुँदा उनले भारत, श्रीलंका, स्वीट्जरल्याण्ड र युनाईटेड अरब इमिरेट्स (युएई)को भ्रमण गरेकी थिइन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिको कतार भ्रमणमा २७ जना काठमाडौंबाट र १० जना कतारको दोहास्थित नेपाली दूतावासबाट सहभागी हुनेछन् । प्रतिनिधिमण्डलमा रहेका ५ सदस्य भने आइतबार नै कतार प्रस्थान गरिसकेको परराष्ट्रले जनाएको छ ।