काठमाडौँ– नेपाल पत्रकार महासङ्घले काभ्रेपलाञ्चोक शाखाका सदस्य जीवन पराजुलीको सवारी दुर्घटनामा परी २४ वर्षको अल्पायुमै निधन भएको दुखद् खबरले स्तब्ध भएको जनाएको छ ।


ADVERTISEMENT


काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ स्थित चुरेथुम्कामा बा ३ च २८७ जीप दुर्घटना हुँदा पत्रकार पराजुलीसहित तीन जनाको निधन भएको हो । विगत आठ वर्षदेखि पत्रकारितामा सक्रिय पत्रकार पुराजुलीले कान्तिपुर टेलिभिजन, एभिन्यूज टेलिभिजनलगायतका सञ्चारमाध्यममा काम गरेका थिए ।


ADVERTISEMENT

# # #


पछिल्लो समय रेडियो गौरवमा आवद्ध पराजुलीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको महासङ्घले जनाएको छ । महासङ्घले आज एक विज्ञप्तिमार्फत स्वर्गीय पराजुलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

साथै महासङ्घले उक्त दुर्घटनामा परी निधन भएका नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशीलकुमार भण्डारी र नेपाल ट्रेड युनियन काङ्ग्रेसका प्रदेश नं ३ का अध्यक्ष विनोद कार्कीप्रति पनि श्रद्धाञ्जली अर्पण गरेको छ । महासङ्घका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।