साङ्घाइ– राष्ट्रपति सी जिनपिङले चिनीया बजारको पहुँचलाई खुला गर्ने सोमबार प्रतिबद्धता व्यक्त गरेका छन् । ठूला अर्थतन्त्र भएका विदेशी सरकारहरुले चीनले प्रतिबद्धता व्यक्त गरेबमोजिम सुधारका कदमहरु नचालेको आरोप लागिरहेको समयमा राष्ट्रपति सीको यस्तो प्रतिबद्धता आएको हो ।


ADVERTISEMENT


राष्ट्रपति सीले चीनले आयातित वस्तुको घरेलु उपभोगमा मद्दत गर्ने, करलाई न्यूनीकरण गर्ने, भन्सार जाँचपास कार्यविधिलाई सहज बनाउने तथा बौद्धिक सम्पत्तिको उल्लङ्घन गर्नेविरुद्ध कडा कारबाही गर्ने बताए ।


ADVERTISEMENT

# # #


“हामी विश्वस्तरीय व्यावसायिक वातावरण निर्माण गर्नेछौं,” साङ्घाइमा आयोजित आयात मेलामा सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त भनाइ राखेका हुन् ।

उनले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएका दुई मुलुक चीन र अमेरिकाबीचको व्यापार युद्धले विश्व अर्थव्यवस्थामा समस्या निम्त्याउने खतरा रहेको समेत औँल्याए । राष्ट्रपति सीले अमेरिकी राष्ट्रपतिको नाम नलिई राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण विश्व खुला व्यापारमा समस्या आइरहेको बताए ।

राष्ट्रपति सीले अमेरिकी संरक्षणवाद, पृथकतावाद, र झगडालू प्रवृत्तिको आलोचना गर्दै अरुको घरमा आक्रमण गर्नुअघि आफ्नै घरभित्रका समस्या सुल्झाउनुपर्नेमा जोड दिए । “आफ्ना समस्या ढाकछोप गर्न अरुमाथि औंला ठड्याउनु ठीक होइन,” राष्ट्रपति सीले भने ।

बेइजिङले पहिलो वार्षिक चिनीया अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई खुला बजारप्रतिको प्रतिबद्धताको एक सङ्केतका रुपमा लिएको छ । दुवै देशले एकअर्का मुलुकका उत्पादनमाथि करवृद्धि गरेका कारण व्यापारिक तनाव शिखरमा पुगेको छ ।

साङ्घाइ एक्स्पोमा जेनेरल मोटर्स, फोर्ड, माइक्रोसफ्ट, सामसुङ, वाल्मार्ट र टेस्ला समेतका कम्पनीहरुले भाग लिएका छन् । आयोजकहरुले संयुक्तराज्य अमेरिका, युरोप र एसियाली क्षेत्र समेतका १३० मुलुकका तीन हजारभन्दा बढी विदेशी कम्पनीका सामग्री प्रदर्शनीमा राखिएको बताएका छन् ।

प्रदर्शनीमा रसियाका प्रधानमन्त्री दिमित्री मेडभेडेभ र पाकिस्तानका प्रधानमन्त्री इमरान खान समेतका विभिन्न देशका सरकार प्रमुखहरु पनि सहभागी हुँदैछन् ।