पश्चिमा मुलुकहरुलाई क्रिश्चीनियाटीले जोडेको छ । यहुदीहरुको एकताको आफ्नै आधार छ । अफ्रिकनहरुको आफ्नै आधार छ । ठिक त्यसैगरी नेपाललाई पनि एकताको सुत्रमा उनेर राख्ने मुख्य आधार भनेको हिन्दु धर्म र सँस्कृति नै हो, यसैलाई काँग्रेसले उपेक्षा गरिदियो ।


ADVERTISEMENT


– कुसुम भट्टराई


ADVERTISEMENT

# # #


काठमाडौं क्षेत्र नम्बर चारमा विजय हात पारेपछि काँग्रेस युवा नेता गगन थापाले भनेका थिए, ‘निर्वाचनमा काँग्रेसले पाएको मत परिणाम काँग्रेसका लागि दुर्घटना हो ।’

दुर्घटना त हुने नै भयो । जसरी रेलले लिक छाडेपछि दुर्घटना हुन्छ त्यसैगरी काँग्रेसले आफ्नो आदर्श, सिद्धान्त र विश्वासको लिक छाड्नुको परिणती यतिबेला भोग्दैछ ।

नेपाली राजनीतिको मियो बन्दै आएको काँग्रेसले जुन दिन गणतन्त्रका पक्षमा निर्णय गर्यो, त्यो दिन सँस्थापक नेता कृष्णप्रसाद भट्टराइले भन्नुभएको थियो, ‘अब काँग्रेसले बाटो बिरायो, यो काँग्रेसमा मेरो कुनै भूमिका छैन ।’  जुन दिन किशुनजीले काँग्रेस छाड्नुभयो, त्यसै दिनदेखि काँग्रेसको ‘ओराली लागेको हरीणको चाल’ भो ।

हुन त किशुनजीले २०६२/०६३ सालको चरम उत्कर्षका बेलामा मात्र हैन, सँविधान निर्माण प्रकृया चलीरहँदा पनि हिन्दु राष्ट्र र सँवैधानिक राजतन्त्रका लाइन नछाड्न काँग्रेसलाई घच्घच्याइरहनुभयो । शैलजा आचार्यले जीवनको उत्तरार्धसम्म त्यही अडान लिनुभयो । विपी पुत्र प्रकाश कोइराला, शँसाक कोइराला र नेता खुमबहादुर खडकालगायतको पनि सोही राय थियो । तर, गिरिजाबाबुको एकल नेतृत्वको ओजसामु काँग्रेसजन लाचार भए ।

काँग्रेसले इतिहासमा एउटा ठूलो भुल गर्यो । ‘साम्राज्यबाद मुर्दाबाद’ भन्दै भित्रभित्र पश्चिमाहरुसँग हिमचिम बढाइरहेका कम्युनिष्टहरुको चाल बुझ्नै सकेन । ‘परिवर्तनका एजेण्डा’ भन्दै हाम्रा मौलिकतामाथि धावा बोल्ने खालका उनीहरुका एजेण्डालाई काँग्रेसले पनि पछ्यायो । सात सालको क्रान्ति सम्पन्न गर्दै मुलुकलाई सयौं वर्ष पुरानो अँध्यारो कालखण्डबाट आधुनिक युगमा प्रवेश गराउन अग्रणी भूमिका निर्वाह गर्ने काँग्रेस आफैमा एजेण्डा थियो, काँग्रेस आफैमा लोकतन्त्रको पयार्य थियो, तर उसले अरुको एजेण्डा बोक्यो । अरुको एजेण्डा बोक्दा भरीया पो भइन्छ त, त्यसको मालीक त भइदैन । काँग्रेसको हारको मुख्य कारण यही हो ।

हरेक मुलुकका आ–आफ्नो मौलिक विशिष्ठता हुन्छन् । चीनको विशेषता भनेका त्यहाँका हान वंशहरु हुन्, जो बहुमतमा छन् । जुनसुकै विचार, दर्शन, सोच भए पनि चिनियाहरुको राष्ट्रिय एकताको आधार भनेकै उनीहरुको हान वंशीय एकता हो । पाकिस्तानलाई मुश्लीम राष्ट्रबादले बाँधेर राखेको छ । पाकिस्तानको मुश्लीम राष्ट्रवादले त्यहाँका अन्य मतान्तर र पृथकतालाई गौण बनाइदिएको छ । धेरै पश्चिमा मुलुकहरुलाई क्रिश्चीनियाटीले जोडेको छ । बाइबलले बाँधेको छ । यहुदीहरुको एकताको आफ्नै आधार छ । अफ्रीकनहरुको आफ्नै छ । ठिक त्यसैगरी नेपाललाई पनि एकताको सुत्रमा उनेर राख्ने मुख्य आधार भनेको हिन्दु धर्म र सँस्कृति नै हो ।

अरु विषयमा झैझगडा गरे पनि धार्मिक र साँस्कृतिक रुपमा हामी बहुसँख्यक नेपाली एक छौं । हाम्रो धर्म र सँस्कृतिले हामीलाई सत्य, धर्म, प्रेम, अहिंसा, दया, दान र प्रेम सिकाएको छ । समाजमा सद्भाव र एकता ल्याउने मुख्य आधार नै यिनै हुन् । काँग्रेसले राजनीतिक आदर्शको यही मर्म बोकेकाले बहुसँख्यक नेपालीले यो पार्टीलाई लामो समयसम्म विश्वास गर्दै आए । बिगतमा कुनै क्याडरबेस्ड सिस्टम्याटीक सँगठन नहुँदा तथा विचार र नीतिमा कम्युनिष्ट शैलीको चुस्तता नहुँदा पनि काँग्रेसले नै चुनावमा लिड गर्नुको कारण के थियो भने यो पार्टीले मुलुकको मौलिक सेन्टीमेन्ट बोकेको थियो ।

जसै काँग्रेसले आफ्नो विचारधाराको मौलिकता गुमायो, तब देशमा भौगोलिक, जातीय, साँस्कृतिक, सामुदायिक र धार्मिक चिराहरु देखा परे । विहानै उठेर सुर्यलाई अर्घ दिइरहदा या पुजामा लीन भइरहँदा बाहिर ढोकामा विदेशीहरु ‘सुसमाचार’को पर्चा बोकेर हाकाहाकी आउन थाले । ‘जय नेपाल’को स्वरलाई ‘जय मसी’ले ओझेलमा पार्न पो थाल्यो । केही एनजीओहरुले किरियापुत्रीको अवधि १३ दिनबाट घटाएर तीन दिनमा झार्नुपर्ने अभियान चलाउन थाले । साखु, शाली नदिमा स्वस्थानी ब्रत बसीरहेका नारीहरुलाई स्थलगत रुपमै गएर ब्रतको विरोधमा कार्यक्रम खिचेर भडकाउन थालीयो ।

नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाह र नेपाली भाषा र साहित्यको विकासमा योगदान दिएका आदिकवि भानुभक्तका शालीकहरु भत्काउन थालीयो । यसैगरी हाम्रो जातीय सद्भाव खलबल्याउने काम सुरुभयो । आङ छिरिङहरुले हाकाहाकी ‘बाहुन क्षेत्रीलाई खुकुरी छिनाल्ने’ धम्की दिन थाले । संघीयताका नाममा जातीय राज्यका कुराहरु उठे । अस्तीसम्म ‘नेपाली’ भनेर चिनिएका मानिसहरु तमुवान, ताम्सालीङ, अवध, मगराँत, थारुवान, नेवा, खस, ब्राम्हण, मधेशी, मुश्लीम, दलीत, महिला, तेश्रो लिँगी आदिका रुपमा भिड्न थाले । एउटा सग्लो नेपालमा विभाजनका अनेक चिरा कोर्ने काम भयो । विदेशी चलखेल बढ्यो, हाम्रा मौलिक धर्म, सँस्कृति, परम्परा र धरोहरहरु भत्काउने काम भयो ।

बेलायतमा अहिलेसम्म सम्पदाकै रुपमा जिवित राखिएको राजतन्त्रलाई नेपालमा संवैधानिक रुपमा संरक्षण गर्नुको साटो जरैदेखि उखेल्ने काम भयो । राजतन्त्रको जरासँगै हाम्रा मौलिकताका आधारहरु पनि उखेलिए । हाम्रा इन्द्र जात्रा, हाम्रा भोटेजात्रा, हाम्रा कुमारी, हाम्रा अनेक परम्परा बिटुलीयो । इतिहास, पुराण, किँवदन्तीको मौलिकता अनुसार भोटे जात्राको नजर गर्ने भनेको राजाले नै हो । राजासँगै त्यो परम्पराको मौलिकता समाप्त भयो । बडादशैंमा फुलपाती भित्रयाउने चलन पनि राजतन्त्रसँगै जोडिएको छ । गोर्खा दरबारबाट काठमाडौंको हनुमान ढोकामा ल्याइने फुलपातीसँग राजपरम्परा जोडीएको छ । राजतन्त्र नभएकाले अब त्यो परम्परा अचेल एउटा उदेकलाग्दो कर्मकाण्डमा सिमित भएको छ । राजतन्तलाई हामीले राजनीतिक अँगका रुपमा मात्र हेर्ने गल्ती गर्यौँ, यो खासमा बहुसंख्यक हिन्दु नेपालीलाई जोडने एउटा आधार पनि थियो र यो राजनीतिक अँगका साथै धर्म, सँस्कार, सँस्कृति र पराम्पराको जिवन्त सम्पदा पनि थियो । हामीले यसैलाई मास्ने काम गर्यौँ । जुन हाम्रो पुँजी थियो, त्यसैलाइ खेर फाल्यौं । काँग्रेसले नेपाली मौलिकताको यो सम्पदालाई पनि जोगाउन सकेन ।

गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालगायत एकाएक थोपरीएका एजेण्डाको विपक्षमा दरिलो गरी उभिन नसकेपछि काँग्रेसप्रतिको जन विश्वास र भरोसा टुटन थाल्यो । किनकी, १२ बुँदे समझदारी यताको राजनीतिक कोर्समा काँग्रेस मौन समर्थक दर्शक मात्र भयो । उ खासमा खेलाडी नै भएन । खेलमा दुई विपरीत पक्ष हुन्छ । धर्म निरपेक्षता, संघीयता र गणतन्त्रलाई माओवादीले मुख्य रुपमा र अली अली एमालेले आफुहरुको एजेण्डा बताउँदै आए । काँग्रेसले त्यो हाम्रै एजेण्डा हो भनेर दिल खोलेर भन्नसक्ने अवस्था पनि रहेन, किनकी ती उसका एजेण्डै थिएनन् । अनि वैकल्पीक एजेण्डामा जाने हिम्मत पनि भएन । सँविधान निर्माण हुँदा नै काँग्रेसले ‘साँस्कृतिक रुपमा भए पनि राजा राख्नुपर्छ, हिन्दु राष्ट्र छाडनु हुन्न र संघीयतामा हतारीएर जानुहुन्न’ भन्ने अडान लिएको भए मुलुकले एउटा बलियो, स्वाभीमानी लोकतान्त्रिक पद्धती पाउँथ्यो ।

यो चुनावपछि संघीय प्रदेशहरुवीच सरकार गठन, मन्त्रीमण्डल चयन, श्रोत र साधनको बाँडफाडमा उत्पन्न हुने समस्या, चर्को खर्चको जोहो र गन्जागोल धान्नुपर्ने जुन चुनौती देखिनेछन् त्यतिबेला नै हामीले हिँडीरहेको बाटोका विसँगतीहरु बाहीर आउनेछन् । नेपाल बनाउने हैन, ‘नेपाल भत्काउने’ नियत बमोजिम सुरु भएका एजेण्डाहरु प्रत्युत्पादक भएपछि मात्र काँग्रेसको चेत फिर्ला, तर त्यसबेलासम्म ढिलो भइसकेको हुनेछ । काँग्रेसले अब वैकल्पीक धार अघि सार्नैपर्छ । मुलुकमा जुन वैकल्पीक शक्तिको खाँचो छ, त्यसको नेतृत्व काँग्रेसले गर्ने हो भने लोकन्त्रबादी मात्र हैन, बहुसँख्यक हिन्दु, राजाबादी र नेपालको अखण्डताका पक्षपातीहरुलाईसमेत गोलबन्द गर्ने खालको वैचारीक धार काँग्रेसले अघि सार्नैपर्छ ।

ढिलै भए पनि काँग्रेसको सरकारले नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको जन्मजयन्तीमा बिदा दिने निर्णय गर्दा जुन वाहवाही पाएको थियो, त्यसको हेक्का राख्दै आफ्ना विचारहरुमा सुधार ल्याउनु जरुरी छ । बामपन्थीको एजेण्डाको लकीरको फकीर हुने हो भने कम्युनिष्टहरुले भने झैं काँग्रेस चिनको कोमीन्ताङ पार्टी सरह हराएर जान के बेर ? काँग्रेसजनले अब बियर खाएर हैन, जुस खाएर ठण्डा दिमागले सोच्नु जरुरी छ ।

किनकी एमाले र माओवादी मिलेर आउँदासमेत काँग्रेसले पाएको मत शानदार छ । जनताले काँग्रेसलाई अस्वीकार गरेका हैनन, नसिहत मात्र दिएका हुन् । जनतामाझ काँग्रेसको सँगठन कायम छ । उसको लिग्यासी कायमै छ । बस विचार र नीतिमा अली विचलन आएको मात्र हो, त्यसलाई ठिक ढँगले सुधार्ने बित्तिकै पाँच वर्षपछि काँग्रेसले फेरी आफ्नो अवस्था सुदृढ गर्नसक्छ । यसका लागि काँग्रेसको बुढो पुस्ताले अब युवा पुस्तालाई ताला चाबी सुम्पनुपर्ने बेला आइसकेको छ । युवा जुझारु पुस्ताले नयाँ सोच र उत्साहका साथ साँगठनिक अभियान चाल्दै, जनतासँग क्षमा याचना गर्दै सात सालदेखिको आफ्नो आदर्शलाई फेरी पछयाउँदै अघि बढने हो भने लोकतान्त्रिक मुलुकमा काँग्रेसको हाइहाइ हुन कति बेर लाग्ला र ?