काठमाडौँ– नेपाल–भारत सम्बन्धका सबै पक्षलाई समेटेर सुझावसहितको प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन दुवै देशका सरकार प्रमुखसमक्ष चाँडै पेश हुने र त्यो कार्यान्वयन पनि भएरै छाड्ने एकजना मन्त्रीले बताएका छन् ।


ADVERTISEMENT


“नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो बनाउन प्रतिवेदनले आधार तयार गरेको छ जसले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत गर्नेछ,” इपिजी प्रतिवेदनका विशेषता सुनाउँदै सञ्चारकर्मीमाझ उनी भन्छन् ।


ADVERTISEMENT

# # #


इपिजीका एकजना सदस्य प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त तथा अर्का सदस्य भारतका लागि राजदूतमा सिफारिश भएपछि इपिजीको प्रतिवेदन भर्सेलामा पर्ने आशंकालाई चिर्दै ती सदस्यले प्रतिवेदनको प्रतिरक्षा गरेका हुन् ।

यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न आफ्नै मन्त्रालयमा भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा भारतका प्रधानमन्त्रीको व्यस्तताका कारण प्रतिवेदन पेश गर्न विलम्ब भएको बताए ।

“दुवै देशका प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेश हुनेछ र त्यसको कार्यान्वयन पनि हुनेछ,” नेपाल–भारत सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो बनाउन त्यसलाई पुनःपरिभाषित एवं पुनःरचना गर्ने मनसायले नै दुवै देशका प्रधानमन्त्रीले प्रबुद्ध व्यक्ति समूह गठन गरी प्रतिवेदन तयारीको जिम्मेवारी दिएको उनले स्पष्ट गरे ।

श्रीलङ्कामा गहिरिँदै गएको राजनीतिक सङ्कट वार्ताको माध्यमबाट समाधान हुनुपर्ने नेपालको अभिमत प्रकट गर्दै मन्त्री ज्ञवालीले त्यहाँ विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालीरहेको बताए।

समसामयिक विषयमा भएको सवालजवाफका क्रममा उनले प्रजातान्त्रीकरणको प्रक्रियातर्फ उन्मुख भुटानले दशकौंदेखि नेपालमा शरणार्थी जीवन बिताइरहेका करिब छ हजार ९०० आफ्ना नागरिकलाई ससम्मान स्वदेश फर्काउने विश्वास व्यक्त गरे । उनीहरुलाई स्थानीय नेपालीसँग कुनैपनि हालतमा एकीकरण नगरिने अडान पनि परराष्ट्रमन्त्रीले दोहोर्याए ।

राष्ट्रपति राष्ट्रसङ्घीय सम्मेलनमा

आगामी मङ्सिर १७ देखि २८ गतेसम्म पोल्याण्डको कातोभिचमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डको पाँचदिवसीय भ्रमणमा मङ्सिर १५ गते त्यसतर्फ प्रस्थान गर्ने जानकारी मन्त्री ज्ञवालीले दिए ।

जलवायु परिवर्तनका प्रतिकूल असरविरुद्ध लड्न र जलवायु अनुकूलनका निम्ति सहायता जुटाउन राष्ट्राध्यक्षबाट हुने भ्रमण फलदायी हुने विश्वास उनले व्यक्त गरे ।

सन् २०३० मा अल्पविकसित देशको सूचीबाट स्तरोन्नति गर्न भारी रकमको आवश्यकता पर्ने भएकाले त्यस्तो सहायता जुटाउन पनि राष्ट्रपतिको आसन्न भ्रमण सहयोगी हुने उनको कथन थियो ।

कम्बोडियाका प्रधानमन्त्री आउँदै

कम्बोडियाका प्रधानमन्त्री नेपालको औपचारिक भ्रमणमा आगामी मङ्सिर १३ गते काठमाडौँ आउने बताउँदै परराष्ट्रमन्त्री दुई दिवसीय उक्त भ्रमण पारस्परिक हित र चासोका विविधि विषयमा द्विपक्षीय वार्ता हुने जानकारी दिए। अन्य देशबाट उच्च राजनीतिक तहका व्यक्तित्वको नेपाल भ्रमण हुने उनले बताए ।

आगामी शनिबार जापानको भ्रमण

आफ्ना जापानी समकक्षीको निमन्त्रणमा आफू जापानको भ्रमणमा आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्ने जानकारी दिँदै मन्त्री ज्ञवालीले त्यहाँबाट कृषि प्रविधि तथा कृषिको आधुनिकीकरणमा जापानी सहायता जुटाउनेमा आफू केन्द्रित रहने बताए ।

“नेपालको विकासको प्रमुख साझेदार तथा हाम्रा प्रमुख भौतिक पूर्वाधार निर्माणमा लामो समयदेखि सघाउँदै आएको जापानसँग सडक तथा रेलजस्ता पूर्वाधारमा लगानी ल्याउन मेरो विशेष प्रयास हुनेछ । औपचारिक वैदेशिक सहायता कटौति भइरहेको सन्दर्भभमा जापानबाट अधिकभन्दा अधिक लगानी भित्र्याउनु मेरो भ्रमणको अर्को उद्देश्य हो ।” जापानमा लगानीसम्बन्धी कार्यशालासमेत हुने जानकारी दिँदै परराष्ट्रमन्त्रीले भने ।

निर्देशिकाअनुसार नियुक्ति

राजदूत नियुक्त गर्न बाँकी रहेका मुलुकमा राजदूत नियुक्ति निर्देशिकाअनुसार नयाँ नियुक्तिका निम्ति सिफारिश हुने स्पष्ट गर्दै उहाँले कुनै पनि राजदूताबास राजदूतविहीन नहुन् भन्नेतर्फ सरकार गम्भीर रहेको बताए । साथै उनले नेपालको अधिक कार्यगत सम्बन्ध भएका देशमा राजदूताबास भवन खरिद गर्न सरकार लागिपरेको बताउँदै उनले घरभाडाबापत वर्सेनि खर्च भइरहेको रु ७७ करोड जोगाउन भवन खरिदको विकल्प नभएको उनको कथन थियो ।

उहाँले अमेरिकाको राजधानी वासिङटनस्थित नेपाली राजदूताबास हालै खरिद गरिएको नयाँ भवनमा सर्ने तथा सोही भवनमा राजदूतलाई आवासको व्यवस्था पनि हुने जानकारी दिए । करिब रु ७० करोडमा हालै उक्त भवन नेपाल सरकारले खरिद गरेको थियो ।-शरच्चन्द्र भण्डारी/रासस