काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भारतीय प्रधानमन्त्री मोदी दुवै देशका प्रधानमन्त्रीलाई इपीजीको प्रतिवेदन बुझाएर नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्ने बताए ।
ईपिजीको रिपोर्ट अत्यन्तै राम्रो बनेको र दुवै देशको हितमा रहेको पनि जिकिर गर्दै डा. भट्टराईले ईपिजीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धका सन्धि, सम्झौता र सबै पक्षको बारेमा पूनरावलोकन गरेको दाबी गरे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘यसबारेमा हामी दुवै तर्फका सदस्यहरुबीच कुराकानी भैरहेको छ । हाम्रो तर्फका संयोजकले भारतीय संयोजकसँग कुराकानी गरिरहनुभएको छ । अब मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ। उहाँले बुझ्नुहुन्न जस्तो मलाई लाग्दैन् ’

वर्तमान सरकार गठनका बेला मुलुक संक्रमणकालिन अवस्थामा रहेको सुनाउँदै भट्टराईले भने, “राजनीतिक अस्थिरतापनि हामीले सँगै भोग्नुपर्यो । संविधान बन्ने हो कि होईन भन्ने अनिश्चितताका बीचमा यो सबै कुराले नेपालको अन्तर्राष्ट्रिय छवि, अन्तर्राष्ट्रिय रुपमा नेपालको बारेमा मान्छेहरुको धारणा क्रमिक रुपमा यो मुलुक कतै सँधैभरि अप्ठ्यारो झेलिरहने मुलुक, र अन्तत्वगत्व यो असफल राष्ट्रतर्फ पो उन्मुख हुने हो कि भन्ने आशंकाहरु हुने गरेका थिए । तर, हामीले संविधान जारी गरिसकेपछि र त्यो संविधानअन्तर्गत रहेर तीनै तहका सरकार बनाएपछि र बहुमतको सरकार बनाईसकेपछि उहाँहरुको चासो अहिले द्वन्द्वबाट शान्ति प्रक्रियामा, त्यसपछि सहमतिमा संविधान जारी गरेको र एकात्मक शासन प्रणालीबाट संघात्मकमा जान कसरी सम्भव भयो भनेर रहेको छ। नेपालमा भएका कुटनीतिक नियोगका प्रमुखहरु र हामीसँग भएको कुराकानीमा यो विषयमा उहाँहरुको चासो रहेको पाईन्छ ।”

त्यस्तै चीनसँगपनि नेपालको सम्बन्ध उतिकै प्रगाढ रहेको उनले बताए । भट्टराईले भने, “चीनसँग हामी हजारौं वर्षदेखि एउटै हिमालको दुई तिर बग्ने पानी पिएर हुर्केका छौं । चीनसँग अब यातायातको सञ्जाल जोडिन सक्ने स्थिति भएको छ । रेलको सञ्जालपनि जोडिन सक्ने अवस्था छ । अब दक्षिणतर्फ मात्रै होईन, उत्तरसँगपनि क्रस बोर्डर ट्रान्समिशन लाईन (गल्छी–केरुङ) को लागि छलफल सुरु गरेका छौं । यो भोलि किमाथांका र उत्तरतर्फको भु–भागमा बन्न सक्ने कुरा छ। हामी उत्तरतिर पनि कनेक्टिभीटीको सञ्जाल बढाउन खोज्दैछौं ।”

उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नभएको लामो समय भएको सुनाए । भट्टराईले भने,‘हाम्रो तर्फबाट (प्रधानमन्त्री र राष्ट्रपति) दुवैको तर्फबाट चिनीयाँ राष्ट्रपति र उपराष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो गैसकेको छ । उहाँहरु आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ । र आग्रहपनि छ।’

प्रधानमन्त्री केपी शर्मा ओली आगामी सन् २०१९ को जनवरी–फेब्रुअरीतिर महत्वपूर्ण भ्रमणमा जाने आफूले सूचना पाएको पनि भट्टराईले जानकारी दिए । उनले भने, “उहाँ महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन विदेश भ्रमणमा जानुहुन्छ । त्यस्तै द्धिपक्षीय भ्रमणमा पनि जाने सूचना छ ।”