काठमाडौं – निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको शंकास्पद चार जनाको डीएनए म्याच नभएको कञ्चनपुर प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


कात्तिकको दोस्रो साता कञ्चनपुर प्रहरीले शंकास्पद चारजनाको रगत संकलन गरि विधिविज्ञान प्रयोगशाला पठाएको थियो । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा डीएनएको गोप्य रिपोर्ट खोलिएको र त्यो म्याच नभएको कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाले बताए ।


ADVERTISEMENT

# # #


चारैजना भीमदत्तनगरपालिका २ र १८ नम्बर वडाका भएको बताइएको छ । प्रहरीले उनीहरुको नामभने गोप्य राखेको थियो । प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धानका क्रममा यसअघि नै दिलिपसिंह विष्टसँगै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट उनका छोरा किरण विष्ट, स्थानीय आयुस विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गराएको थियो ।

सम्बन्धित समाचार : धर्नामा बसेका निर्मलाका बावुआमाको स्वास्थ्यमा समस्या

निर्मलाको शरीरमा भेटिएको ‘भजाइनल स्वाब’ सँग डीएनए ‘म्याच’ गरेको थिएन । तत्कालीन कञ्चनपुर प्रहरीले मुख्य अभियुक्तका रुपमा गत भदौ ४ गते दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो ।

डीएनए नमिल्दा प्रहरीलाई अनुसन्धानमा थप सकस भएको छ । गत साउन १० गते साथी रोशनी वमको घरमा निस्किएकी भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् । निर्मला हत्याकाण्डको अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर बर्खासीमा परेका छन् । प्रहरी प्रधान कार्यालय आफैले प्रहरी अधिकारीको कमजोरीबारे अनुसन्धान गरिरहेको छ ।