काठमाडौँ– श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच शिष्टाचार भेटवार्ता भएको छ ।


ADVERTISEMENT


मंगलबार श्रम तथा रोजगार मन्त्रालयमा भएको सो भेटमा मन्त्री मन्सुरले नेपाल–कतार सम्बन्ध तथा कतारमा भएको पछिल्लो राजनीतिक घटनाक्रमका कारण उत्पन्न हुन सक्ने परिस्थितिबाट कतारमा कार्यरत नेपालीहरुको बारेमा गहिरो चासो व्यक्त गरेका छन् । उनले हाल कतारमा कार्यरत नेपाली कामदारको अवस्थाको बारेमा बुझ्दै भविष्यमा हुनसक्ने समस्याका बारेमा कतारी राजदूतसंग सोधेको मन्त्रालयका सह–सचिव गोविन्दमणि भूर्तेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


जवाफमा कतारी राजदूत हेलले कतारमा अहिले जनजीवन विगतमा झै सामान्य रहेको बताउँदै कतारमा रहेका नेपाली कामदार कुनै पनि अफ्टेरोमा नपर्ने कुरामा निश्चिन्त रहन आग्रह गरेका छन् । साथै राजदूत हेलले कतारमा रहेका सबैलाई कुनैपनि अफ्टेरो पर्न नदिन सरकारबाट हर प्रयास भइरहेको जानकारी दिए । उनले कतारमा रहेका नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा छलफल गरी समाधानका उपाय खोज्न दुई देशबीच भएको श्रम सम्झौता अन्तर्गतको प्राविधिक समितिको बैठकमा आवश्यक छलफल गरी समाधान गर्न सकिने बताए ।

मन्त्री मन्सुरले कतारमा उत्पन्न कुटनीतिक संकटको समाधान कुटनीतिक एवम् शान्तिपूर्ण तवरबाटै सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । उनले नेपालबाट उच्च दक्ष जनशक्ति पठाउने वातावरण सिर्जना गर्न ध्यानाकर्षण गराएका थिए ।

राजदूत हेलले नेपालबाट दक्ष जनशक्ति पठाउने विषयमा कतार सरकारलाई जानकारी गराउने र आफु स्वयम् पनि सकारात्मक भएको बताए ।

भेटमा मन्त्रालयका सचिव लक्ष्मण प्रसाद मैनाली तथा गोविन्दमणि भूर्तेल र परराष्ट्रमन्त्रालयका उपसचिव कौशल किशोर रायको उपस्थिति थियो ।

श्रम तथा रोजगार मन्त्रालयमा श्रममन्त्रीसंग भटवार्ता गर्दै नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेल ।