जीतपुर– सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । “आमा म नाच हेर्न जान्छु” कपिलवस्तुको बाणगङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर आएपछि खाना खाउँला भनी हिँडेकी छोरी जिन्दगीभरि नआउने गरी सधैँका लागि बिदा लिइन् ।


ADVERTISEMENT


“मेरी छोरीको अस्मिता लुटेर अकालमा हत्या गरियो”, आमा फहियाले आँखाभरि आँशु झाँर्दै भनिन्,“ छोरीको हत्यारा अहिलेसम्म पक्राउ नपर्दा दुःख लागेको छ ।” विसं २०६८ असोज १४ गते घरको नजीकै थारु समुदायको सांस्कृतिक कार्यक्रम हेर्न जाँदा शिवरानीको अर्को दिन बिहान बलात्कारपछि हत्या गरिएको अवस्थामा घर नजीकैको नहरमा शव भेटिएको थियो । “म छिट्टै आउँछु है भनेर छोरीले भनेको बोलीको झझल्को अझै पनि बिर्सन सक्दिन”, फहियाले भनिन्, “ छोरीको हत्या भएको सात वर्ष बित्दा पनि हत्यारालाई कारवाही हुन सकेन । हामीजस्ता गरिबहरुको कसले न्याय गर्छ”, उनले दुःखको पीडा सुनाउँदै भसनिन् । उनी कुरा भन्दै जाँदा बीचैमा टोलाउँछिन् ।


ADVERTISEMENT

# # #


शिवरानीका हजुरबुवा कुल्चा थारुले हत्यारा पत्ता लगाउनका लागि पटक पटक प्रहरीलाई दबाब दिइए पनि हालसम्म पनि न्याय पाउन नसकेको गुनासो गरे। “छोरीलाई पाउने आशा त अब जिन्दगीभरि नै रहेन तर अस्मिता लुटेर हत्या गर्ने अपराधीलाई कारवाही भएको देख्न पाए थोरै भए पनि न्याय पाएको अनुभूति हुने थियो”, शिवरानीका बुवा कुलुचाले भने ।

फहियालाई मानसिक रोगले समेत सताउने गरेको छिमेकीले बताएका छन् । हत्याका बारेका सूक्ष्म र गहन ढङ्गले अनुसन्धान गरिँदैआएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक गोविन्द राउतले जानकारी दिए । अपराधीलाई ढिलै भए पनि कानुनी दायरामा ल्याई पीडितलाई न्यायको अनुभूति दिलाइने प्रहरी निरीक्षक राउतले बताए ।

जिल्लामा हुने यस्ता खाले जघन्य घटनाका अपराधीलाई यथाशीघ्र प्रहरीले पक्राउ गरी कानूनअनुसारको कारवाही र पीडितलाई न्यायको अनुभूति दिन प्रहरी तदारुकताका साथ लाग्नु पर्ने नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाई बताउँछन्। रासस