मिस नेपाल श्रृंखला खतिवडाज्यू, लाल सलाम !


ADVERTISEMENT


व्यक्तिगत रुपमा हामीबीच परिचय नभए पनि तपाईको सौन्दर्य, मुस्कान र बौद्धिक क्षमताको म एक प्रशंसक हुँ । अझ तपाईका पिताजी माननीय विरोध खतिवडाजीसँग २०४८ सालतिर तात्कालीन प्रतिनिधिसभाका बैठकहरुको रिर्पोटिङ गर्न जाँदादेखि नै चिनजान थियो । संसदमा विरोधजीको सम्बोधन ओजपूर्ण हुन्थ्यो र ती हरदिन समाचारका शिर्षक हुन्थे । आखिर जस्तो पिता, उस्तै पुत्री । तपाईमा पनि पिताजीको ओजपूर्ण व्यक्तित्वको छाप देख्न सकिन्छ । मलाई लाग्छ, तपाई पनि एक जुझारु र क्रान्तिकारी महिला हुनुहुन्छ ।


ADVERTISEMENT

# # #


मैले सुखद खबर के पाएँ भने तपाई विश्व सुन्दरी प्रतियोगिताको पनि प्रवल दाबेदार हुनुहुँदोरहेछ । यतिबेला तपार्इलाई विश्व सुन्दरी बनाउन विश्वभरका नेपाली र शुभचिन्तकहरुले व्यापक पहल गरिरहेको र सामाजिक संजालहरुमा तपाइको पक्षमा ‘विजयी भव’ लेखिएका तस्वीरहरु पनि देख्न पाइन्छ ।

एउटी नेपाली चेली विश्व सुन्दरी बन्नु भनेको नेपालको लागि गौरवको कुरा हो । यसले नेपाललाई विश्वमाझ चिनाउनेछ । नेपालको पर्यटन प्रवद्र्धनमा पनि यसले टेवा पुर्याउनसक्छ । तपाईको शौन्दर्यको आलोकले समग्र नेपालको छवि चम्किलो बनाइदिनेछ । अतः तपाई विश्व सुन्दरी हुनुहोस् भनि म भगवान कृष्णसँग मात्र हैन, कम्युनिष्टका ऋषि कार्ल मार्क्ससँग पनि प्रार्थना गर्दछु । किनकी, विश्वमै समाप्त भइसकेको कम्युनिज्मलाई नेपालमा जिवितै राख्ने नेकपाकी नेतृकी छोरी बुर्जुवा पूँजीवादी समाजमा विश्व सुन्दरी हुन गइरहेको अद्भूत् र अपूर्व दृश्यलाई मार्क्स र लेनिनको आत्माले पनि नियालीरहेकै होला भन्ने मेरो आध्यात्मिक विश्वास छ ।

श्रृंखलाजीले अब यो मुद्दाको अन्तर्राष्ट्रियकरण गनुपर्छ । विश्व सुन्दरी प्रतियोगिताको मञ्चमार्फत तपाईले सारा संसारलाई भन्नुस् कि नेपाल भन्ने देशमा निर्मला पन्त नाम गरेकी एउटी चेलीको बलात्कार र हत्या हुँदा त्यो देशको राज्यसत्ताले नै अपराधी लुकाइरहेको छ । नेपालमा मानवअधिकार र न्यायको हालत चौपट छ भनेर भन्नुस् । नेपालमा महिलाहरु दिनहुँ बलात्कृत भइरहेका छन् र हाम्रो देशमा नारीको इज्जत, सम्मान र रक्षा हुन छाडयो भनेर जोडजोडले चिच्याउनुस् ।

कुनै पनि चेली विश्व सुन्दरी भएपछि उनको ख्याती विश्वभर चुलिन्छ । उनलाई विश्वका बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुले दरिलो रकम दिएर आफ्ना विज्ञापनहरुमा खेलाउँछन् । उदाहरणका लागि सन् १९९४ मा पहिलो पटक भारतकी ऐश्वर्या राय विश्व सुन्दरी बनिन् । पुँजीवादी उपभोक्तावादी सोचबाट प्रेरित हुने यस्ता सुन्दरी प्रतियोगिताले त्यसबेला भारतकी सुन्दरीलाई त्यो ताज पहिर्याउनुको एउटै कारण थियो, भारतको विशाल बजारमा मल्टी नेशनल कम्पनीका उत्पादनको प्रचार गर्नु । अर्थात् भारतकै सुन्दरीमार्फत ती उत्पादनको गुनगान गाउन लगाउनु । नभन्दै ऐश्वर्यले पेप्सी, कोकाकोला, लोरियल प्यारीस स्याम्पुका विज्ञापनहरुमा खेल्न थालिन् । बाबा रामदेवले ‘ट्वाइलेट क्लीनर’को संज्ञा दिएका ती विषाक्त पेय पदार्थले भारतका लिम्कालगायतका कम्पनीलाई पछि धकेलिदियो ।

ऐश्वर्या राय विश्व सुन्दरी भएकै वर्ष सन् १९९४ मा भारतकै सुस्मीता सेन मिस युनिभर्स भइन् । त्यसयता भारतीय सुन्रीहरु विश्व सुन्दरी हुने क्रम चलीरह्यो । सन् १९९७ मा मोडल डायन हेडन, सन् १९९९ मा युक्ता मुखी, सन् २००० मा प्रियंका चोपडा र सन् २०१७ मा मानुसी छिल्लर विश्व सुन्दरी भए । लारा दत्ता मिस युनिभर्स भइन् ।

भारतका यति धेरै विश्व सुन्दरी हुनुको एउटै कारण हो, भारतको विशाल बजारमा पश्चिमा उत्पादनको हैकम बढाउनु । विश्व सुन्दरी भएपछि यी अधिकांश चेलीहरु चलचित्रमा हिरोनी भए, उनीहरुको ख्याती जनजनमा फैलीयो । सोही ख्याती भजाएर आफ्ना उत्पादन भारतीय बजारमा घुसाउन तिनलाई मल्टीनेशनल कम्पनीका विज्ञापनमा खेल्न लगाइयो । पुँजीवादको यो रणनीति बाबा रामदेवले बुझेका थिए, त्यसैले उनले स्वदेशी उत्पादनलाई बढावा दिदै पतञ्जली कम्पनी ल्याएका हुन् । सुन्दरी प्रतियोगिताको यो खेलका पछाडि आर्थिक साम्राज्यवादको स्वार्थ लुकेको छ ।

श्रृंखलाजी, नेपाल भनेको एउटा सानो बजार हो । अतः तपाईलाई तिनले विश्व सुन्दरी पक्कै बनाउने छैनन् । तपाईलाई विश्व सुन्न्दरी बनाएर तिनलाई फाइदा पनि छैन । तर, विश्व सुन्दरी प्रतियोगिता तपाईका लागि एउटा अपूर्व अवसर हो । यो अवसरको उपयोग गरेर तपाई संसारभरका नेपाली, महिला अधिकारकर्मी र महिला हिंसाविरोधी समुदायमाझ चर्चित हुनसक्नुहुन्छ । यसका लागि यहाँ समक्ष म केही सुझाव टक्रयाउन चाहन्छु ।

श्रृंखला बहिनी, निर्मला पन्त पनि त तपाईजस्तै चेली हुन् । उनको बलात्कार हुनु भनेको के समग्र नारी जातीको अस्मीतामाथिको हमला हैन र ? के निर्मला पन्तमाथिको घटनाले तपाईको मन पोलेको छैन र ? यदि पोलेको छ भने निर्मलाका हत्याराविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमार्फत चण्डी आक्रोश झिक्नुस् ।

हेर्नस् बहिनी, तपाई एउटा कम्युनिष्ट परिवारमा जन्मनुभयो । तपाईका पिताजीले गाउँ गाउँमा गएर युवा विद्यार्थीलाई कम्युनिष्ट पार्टीमा होम्नुभयो । गाउँका महिलालाई जागृत गराउनुभयो । ‘आमा दिदी बैनी हो कति बस्छौ दासी भै’ भन्दै महिला शसक्तिकरणको पक्षमा चेतना जगाउनुभयो । किनकी, त्यसबेलासम्म नेपाली महिला चुलोचौकोमै सिमित थिए । पितृ सत्तात्मक समाजले महिलालाई दासी बनाएर राखेको थियो । तपाईको पिताजी र उहाँका सहकर्मीहरुको संघर्षकै प्रतिफल आज नारी जागरण आएको छ । नारी शसक्तिकरणका कुरा उठेका छन् । महिला राष्ट्रपति, सभामुख र प्रधान न्यायाधिशसम्म बनिसकेका छन् । जे होस्, महिलाको पक्षमा पहिलेभन्दा धेरै सकारात्मक कदम संविधान र व्यवहारमा देख्न पाइन्छ ।

तैपनि, महिला हिंसा रोकिएको छैन । बलात्कारका घटना बढीरहेका छन् । हरेक दिन पत्रिकामा बलात्कारका समाचार पढन हामी विवश छौं । र, महिला हिंसाको ज्वलन्त घटनाका रुपमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्या हामी सामु असह्य पीडा बनेर तेर्सिएको छ । श्रृंखलाजी, कुरा कति बिडम्बनापूर्ण छ भने प्रहरी प्रशासन नै लागेर बलात्कार र हत्याका प्रमाण र अपराधीको सुराक मेट्ने काम भएको छ । सुराक मेटने प्रहरीहरु बर्खास्त गरिएका छन् । उनीहरुलाई अपराधी को हो भन्ने पक्कै थाहा छ । सके, प्रधानमन्त्री र गृहमन्त्रीलाई अपराधीबारे थाहा भइसकेको छ । तर, अपराधी माथिल्लै तहको मानिस भएकाले सारा राज्य लागेर लुकाउने हर्कत भएको छ ।

निर्मलाका मातापिता न्यायका लागि काठमाडौं आए । प्रधानमन्त्रीलाई भेटे । प्रधानमन्त्रीले अपराधीलाई कठघरामा उभ्याउने आश्वासन पनि दिए । तर आजसम्म अपराधीको कुनै सुइकोसम्म छैन । राष्ट्रपतिले त निर्मलाका मातालाई भेट्नसमेत इन्कार गरीन् । आखिर कहिलेसम्म राज्यको यस्तो गैरजिम्मेवारपन ?

श्रृंखलाजीले अब यो मुद्दाको अन्तर्राष्ट्रियकरण गनुपर्छ । विश्व सुन्दरी प्रतियोगिताको मञ्चमार्फत तपाईले सारा संसारलाई भन्नुस् कि नेपाल भन्ने देशमा निर्मला पन्त नाम गरेकी एउटी चेलीको बलात्कार र हत्या हुँदा त्यो देशको राज्यसत्ताले नै अपराधी लुकाइरहेको छ । नेपालमा मानवअधिकार र न्यायको हालत चौपट छ भनेर भन्नुस् । नेपालमा महिलाहरु दिनहुँ बलात्कृत भइरहेका छन् र हाम्रो देशमा नारीको इज्जत, सम्मान र रक्षा हुन छाडयो भनेर जोडजोडले चिच्याउनुस् ।

मिस नेपालज्यू, तपाईभित्रको असली सौन्दर्य भनेको रुप र रंग मात्र हैन, अन्याय, अत्याचार र बलात्कारविरुद्ध आवाज उठाउनु नै असली सौन्दर्य हो । एउटी नारीको सौन्दर्य भनेको मेनका र उर्वशीजस्ता अप्सरा हुनुमा मात्र निहित छैन, नारीको सौन्दर्य त्यतिबेला पूर्ण हुन्छ, जब उनी काली, चण्डी र दुर्गाको रुप धारण गरेर आफ्नो बलात्कार गर्न उद्यत महिसासुर, सुम्भ र निशुम्भविरुद्ध मुखबाट आगोको लप्का ओकल्छिन् ।

श्रृंखला बहिनी,
निर्मला पन्त पनि त तपाईजस्तै चेली हुन् । उनको बलात्कार हुनु भनेको के समग्र नारी जातीको अस्मीतामाथिको हमला हैन र ? के निर्मला पन्तमाथिको घटनाले तपाईको मन पोलेको छैन र ? यदि पोलेको छ भने निर्मलाका हत्याराविरुद्ध अन्तर्राष्ट्रिय मञ्चमार्फत चण्डी आक्रोश झिक्नुस् ।

कोक, लक्स साबुन र फेयर एन्ड लभ्लीको विज्ञापन खेल्नकै लागि विश्व सुन्दरी हुने हो भने मेरो भन्नु केही छैन । यदि तपाई कम्युनिष्ट परिवारमा जन्मनुको त्यो गौरवको सम्मान गर्नुहुन्छ भने पिताजीबाट तपाईमा हस्तान्तरण भएको वंशाणुगत गुणको पारा झिक्नुस् र जुझारु शसक्त महिलाको रुप देखाउनुहोस् । नेपाली चेलीहरुको सेन्टीमेन्टको पक्षमा उभिनुस् र आफ्नै पिताको पार्टीको सरकारलाई ललकार्दै भन्नुस्, ‘निर्मला पन्तको हत्यारालाई किन सत्ता र शक्तिको बर्कोले छोपेको ? छिटो कठघरामा ल्याउनुस् ।’

नारीको शौन्दर्य नारीले नै तय गर्ने हो । झाँसीकी रानी सुन्दर कि मुमताज ? फुलनदेवी सुन्दर कि सोनिया गान्धी ? रानी ऐश्वर्या सुन्दर कि सहाना प्रधान ? अनुराधा कोइराला सुन्दर कि आरजु राणा ? यो कुरा हरेक नारीको रुपले हैन, व्यवहारले नै तय गर्ने हो । रुप त क्षणिक हो नी हैन र श्रृंखला बैनी ! उही क्या गीत छ नि, ‘रातो राम्रो गुलियो मिठो वैंश छँदाखेरी !’

श्रृंखला बहिनी, रुपले त सुन्दर हुनुहुन्छ, अब गुणले पनि सुन्दर हुनुस् । उर्वशी र मेनका त तपाई हुनुहुन्छ नै, अब चण्डी र काली पनि हुनुस् । निर्मला पन्तको बलात्कारलगायत नेपालमा भइरहेका महिला हिंसाको विरोधमा आफुलाई शसक्त ढंगले उभ्याउनुभयो भने तपाई विश्व सुन्दरी नभए पनि हरेक चेलीको हृदयकी सुन्दरी हुनुहुनेछ । यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर इन्टरपोलदेखि अन्तर्राष्ट्रिय विज्ञहरुकै सहयोगमा अपराधीलाई कठघरामा ल्याउने पहल गर्नुस् । नेपालका शासकहरु बेइमान भइरहेको बेला मानवअधिकार र न्यायको कुरामा अन्तर्राष्ट्रिय जगतले नै हस्तक्षेप गर्नुपर्ने हुनसक्छ । घरमा आगो लागेपछि छिमेकीसँग गुहार माग्नुपर्ने हुन्छ । देशका शासकले नै निर्मलाका बलात्कारीलाई लुकाएपछि अन्तर्राष्ट्रिय जगतलाई गुहारेर भए पनि अपराधीलाई कठघरामा ल्याउनुपर्ने हुनसक्छ । यसका लागि श्रृंखला बहिनी, एक खालको अभियन्ता बनेर अगाडी आउनुस् । यही नै तपाईको असली शौन्दर्य हुनेछ । विज्ञापनमा खेल्नु बहादुरी हैन नि बैनी । लौ त, धेरै गन्थन भो, अहिलेलाई बाई, शुभकामना !

उही
कुसुम भट्टराई
हाल भक्तपुर

 

सम्बन्धित समाचार :  सर्वाधिक चर्चामा श्रृङ्खला : ‘मिस वर्ल्ड’ बनाउन यसरी भोट गर्नुहोस्