काठमाडौँ– नेपाली काङ्ग्रेसका नेत्री सुजाता कोइरालाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएकी छन्।


ADVERTISEMENT


रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले दुई तिहाइको बहुमत हुँदा पनि सरकारले विकास निर्माणको काममा उल्लेख्य काम गर्न नसकेको बताइन् । “दुई तिहाइको सरकार सफल भएन भने मुलुकमा खतरनाक स्थिति आउन सक्छ,” उनले भनिन् । प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस कमजोर भएको कारण मुलुकमा भ्रष्टाचार मौलाएको उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कोइरालाले नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो राख्नुपर्ने बताइन् । उनले छिमेकी मुलुकसँगको सम्बन्ध राम्रो नराखे मुलुकलाई नोक्सान पुग्ने उल्लेख गरिन् । नेत्री कोइरालले पार्टी सभापतिको कार्यशैलीका कारण काङ्ग्रेस कमजोर हुँदै गएको भन्दै पार्टीलाई बलियो बनाउनका लागि कोइरालाहरु एकजुट भएको स्पष्ट पारिन् ।

कोइरालाभित्र नेतृत्वका बारेमा कुनै मनमुटाव छैन, समय आएपछि छलफल गरेर जनमानसमा भिजेको र सङ्गठन हाँक्न सक्ने नेतृत्वलाई अगाडि सार्छौँ,” उनले भनिन् । केन्द्रदेखि स्थानीय स्तरसम्म सङ्गठन निर्माणका लागि काङ्ग्रेसले ध्यानु दिनुपर्ने उनको भनाइ थियो ।

प्रजातन्त्र बलियो भए मात्र काङ्ग्रेस बलियो हुने भन्दै उनले प्रजातन्त्र बलियो बनाउनका लागि पार्टी एकजुट हुनुपर्ने बताइन् । “काङ्ग्रेस एकजुट भएर अगाडि बढे आगामी निर्वाचनमा विजय हासिल गर्न सक्छ,” उनले भनिन् । पार्टी बलियो भए मात्र नेता बलियो हुने नेत्री कोइरालाको बताइन् ।