काठमाडौं । लामो समयदेखि नटुंगिएको नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटीले पूर्णता पाएको छ । पार्टीको बुधबार बसेको सचिवालय बैठकले सातै प्रदेशमा प्रदेश कमिटीलाई पूर्णता दिएको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो ।


ADVERTISEMENT

# # #


यसअघि असोज ५ गते बसेको नेकपाको सचिवालय बैठकले सातै प्रदेशका अध्यक्ष र सचिव तथा इञ्चार्ज र सह–इञ्चार्ज टुंग्याएको थियो । बुधबारको बैठकले भने प्रदेश कमिटीलाई पूर्णता दिएको हो ।

प्रदेश कमिटीको अध्यक्ष र सचिव तथा इञ्चार्ज र सह–इञ्चार्ज तत्कालीन एमाले र माओवादी केन्द्रबाट भागबण्डा लगाएर नियुक्त गरिएको थियो ।

प्रदेश १ र ७ मा इञ्चार्ज र अध्यक्ष दुबै तत्कालीन एमालेबाट छन् । यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ का शंकर पोखरेलले इञ्चार्जको जिम्मेवारी पाउँदा अरु प्रदेशमा सरकारमा नरहेका नेताहरुले जिम्मेवारी पाएका थिए ।

प्रदेश कमिटीलाई पूर्णता दिँदा पनि केन्द्रमा भएकै भागबन्डाका आधारमा नै सदस्य चयन गरिएको छ ।

इञ्चार्ज भीम आचार्य, अध्यक्ष देवराज घिमिरे, सहइञ्चार्ज सावित्रीकुमार काफ्ले र सचिवको जिम्मेवारी पाएको सुरेशबहादुर राईको प्रदेश नम्बर एकको प्रदेश कमिटीले पनि पूर्णता पाएको छ । विधानतः २ सय ७ सदस्यीय रहेको प्रदेश कमिटीमा तत्कालीन एमालेबाट १ सय २२ जना र माओवादी केन्द्रबाट ८५ जना सदस्यको नाम टुंगो लगाएको छ ।

यस्तै प्रदेश नम्बर २ मा तत्कालीन एमालेबाट १ सय ७ जना र माओवादीबाट १ सय ६ जना चयन भएका छन् । बाँकी दुई जना भने पार्टी एकतापछि प्रवेश गरेकालाई चयन गरिएको प्रदेश २ का इञ्चार्ज सत्यनारायण मण्डलले बताउनुभयो । प्रदेश २ मा विधानतः २ सय १५ सदस्य प्रदेश कमिटीको व्यवस्था गरिएको हो । प्रदेश २ को इञ्चार्जमा मण्डल, अध्यक्षमा प्रभू साह, सह–इञ्चार्जमा विश्वनाथ साह र सचिवमा सुमन प्याकुरेललाई यसअघि नै जिम्मेवारी दिइसकिएको छ ।

प्रदेश नम्बर ३ मा तत्कालीन एमालेबाट १ सय १६ र माओवादी केन्द्रबाट १ सय १ जना सदस्य रहने गरी २ सय १७ सदस्यीय प्रदेश कमिटीलाई पूर्णता दिइएको छ ।
यसअघि नै इञ्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल, सह–इञ्चार्ज हितबहादुर तामाङ र सचिवको जिम्मेवारी आनन्द पोख्रेलले पाइसकेका छन् ।

गण्डकी प्रदेशको इञ्चार्जमा पृथ्वीसुब्बा गुरुङ छन्। गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री समेत छन्। यस्तै अध्यक्षमा हितराज पाण्डे, सह–इञ्चार्जमा खगराज अधिकारी र सचिवमा गोविन्द नेपालीलाई असोजमा जिम्मेवारी तोकिएको थियो । प्रदेशलाई पूर्णता दिने क्रममा तत्कालीन एमालेबाट १ सय २ र माओवादी केन्द्रबाट ८५ जना गरी १ सय ८७ सदस्यीय कमिटीलाई पूर्णता दिइएको हो ।

यस्तै प्रदेश ५ मा मुख्यमन्त्रीसमेत रहनुभएका शंकर पोख्रेल इञ्चार्ज हुनुहुन्छ भने सह–इञ्चार्जमा दलबहादुर राना, अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रसाद शर्मा यस अघि नै नियुक्त भएका थिए ।
बुधबारको बैठकले यो कमिटीलाई पूर्णता दिँदै तत्कालीन एमालेबाट १ सय ६ जना र तत्कालीन माओवादी केन्द्रबाट ९७ जना रहने गरी २ सय ३ सदस्यीय समिति बनाएको छ ।

यस्तै कर्णाली प्रदेशमा जनार्दन शर्मा इन्चार्ज, गोरखबहादुर बोगटी अध्यक्ष, यमलाल कंडेल सह–इञ्चार्ज र सचिवमा मयाप्रसाद शर्मा छन् ।

यो कमिटीले पनि अहिले पूर्णता पाएको छ । कर्णाली प्रदेशमा तत्कालीन एमालेबाट ८७ र माओवादी केन्द्रबाट ८८ जना रहने गरी १ सय ७५ सदस्यिय प्रदेश कमिटी बनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा इञ्चार्ज भीम रावल, अध्यक्षमा कर्ण थापा, सह–इञ्चार्जमा लक्ष्मणदत्त जोशी र सचिवमा नेप चौधरी हुनुहुन्छ । सुदूरपश्चिममा तत्कालीन एमालेबाट १ सय र माओवादी केन्द्रबाट ८३ जना रहने गरी १ सय ८३ सदस्यीय प्रदेश कमिटी बनाइएको छ ।

नेकपाले नामावली भने अझै सार्वजनिक गरेको छैन । प्रदेश १, २ र ३ मा तत्कालीन एमाले र माओवादीबाट कति–कति जना परे भन्नेबारे अझै बाहिरिएको छैन ।

प्रदेश कमिटीलाई पूर्णता दिए पनि नेकपामा अझै केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिको नेतृत्व चयनदेखि स्थानीय तहसम्मको एकता टुंग्याउन बाँकी नै छ ।