काठमाडौँ– विवेशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित एशिया प्यासिफिक सम्मेलनमा युनिभर्सल पिस फाउण्डेसनबाट सम्मान ग्रहण गरेको प्रति आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


सोमबार फेसबुक मार्फत मिश्रले भनेका छन्, ‘तपाईंको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो ! प्रधानमन्त्री ज्यू, यो त अति भयो। तपाईं देशको प्रधानमन्त्री, हामी सबैको प्रधानमन्त्री । देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउने ? धर्म प्रचारक संस्थाले दिएको पुरस्कार थाप्ने ? ’


ADVERTISEMENT

# # #


निर्मला पन्तले न्याय नपाइरहँदा, देशमा खराब नेतृत्व र कुशासनका लागि हरेकदिन आलोचना भैइरहेका बेला ‘नेतृत्व र सुशासन पुरस्कार’ लिन अफ्टेरो लागेन ? भन्दै उनले प्रश्न गरेका छन् ।

‘कि निर्मलालाई न्याय, वाइड बडी विमान, राष्ट्रपतिलाई गाडी, भ्रष्टाचारका अन्य मामिला तथा विकास आदि सबै विषयमा गज्जब काम गरेको छु भन्ने भ्रममा हुनुहुन्छ ?’ मिश्रले भनेका छन् ।

यस्तै उनले नेपालीहरु आफ्ना लागि योग्य छन् र बारम्बार जितेर आउन सकिन्छ भन्ने भ्रम नपाल्न उनले आग्रह गरेका छन् ।

विश्वभर क्रिश्चियन धर्म प्रचारमा लागेर विवादमा मुछिएको युनिभर्सल पिस फाउण्डेसनले नेपालमा एसिया प्यासिफिक सम्मेलनका क्रममा आइतबार  प्रधानमन्त्री ओलीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स’ पुरस्कार दिएको थियो । एक लाख अमेरिकी डलर राशीको उक्त पुरस्कार रकम प्रधानमन्त्री ओलीले युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्ने जनाएका थिए ।