जनकपुरधाम । जनकपुरधाममा जारी सीता-राम विवाह महोत्सवका लागि प्रदेश २ मा आज (मंगलबार) र भोलि (बुधबार) सार्वजनिक बिदा दिइएको छ।


ADVERTISEMENT


सीता-राम विवाह पञ्चमी महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले प्रदेश २ सरकारले बिदा दिने निर्णय गरेको हो।


ADVERTISEMENT

# # #


विगत भन्दा यस वर्ष विशेष कार्यक्रम गरेर विवाह महोत्सव मनाइँदैछ।

साताव्यापी महोत्सवअन्तर्गत आज पाँचौं दिन मटकोरको विधि हुँदैछ। पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ र हिजो सोमबार चौथो दिन तिलकोत्सव गरिएको थियो।

छैठौं दिन भोलि (बुधबार) राम-सीता स्वयंवर तथा विवाह महोत्सव हुनेछ।

महोत्सवमा भगवान रामका पक्षबाट राम मन्दिरका महन्थ र सीताका पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकको भूमिकामा छन्।

त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयम्बरका लागि प्रतिस्पर्धामा राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मंसिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको थियो।

योगी आदित्यनाथ ‘भारतीय डेलिगेट’ भएर जनकपुर अाउने
भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भारत सरकारका प्रतिनिधि बनेर बुधबार जनकपुर आउँदैछन्। सीता–राम विवाह पञ्चमी महोत्सवमा जन्तीका रूपमा उनी आउने भएका हुन्।

नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव अभिषेक दुवेले मुख्यमन्त्री योगी भारतीय दूतका रुपमा विवाह पञ्चमीमा सहभागी हुने जानकारी दिए। योगी आफैंले पनि सोमबार आफ्नै सरकारी निवासमा पत्रकारसँग कुरा गर्दै आफू जनकपुर आउन उत्साहित भएको बताएका थिए। ‘म जानकी माताको माइत जान पाउँदा उत्साहित भएको छु,’ नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध विस्तारमा समेत यो भ्रमण फलदायी हुनेछ, ’ योगीले भनेका छन्।

उनको सुरक्षाका लागि जनकपुरमा नेपाल प्रहरी र सशस्त्र गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिने प्रदेश २ प्रहरीले जनाएको छ।

जनकपुर विमानस्थलमा अवतरणपछि योगी सिधै जानकी मन्दिर पुगी पूजापाठ गर्नेछन्। त्यहाँबाट मधेस भवन ९प्रदेश सरकारको सचिवालय० पुगेर बृहत् भण्डारामा सहभागी हुनेछन्। प्रदेश सरकारले योगीको स्वागतमा उनीसँगै सम्पूर्ण साधुसन्तका लागि बृहत् भण्डारा ९सात्विक भोज० को तयारी गरेको छ।

मधेस भवनमा केही क्षण बिताइसकेपछि रंगभूमि मैदानमा आयोजना हुने सीता–राम स्वयंवर समारोहमा उपस्थित हुने कार्यक्रम रहेको विवाह महोत्सव मूल समारोह समितिका अध्यक्ष रामरोशन दासले बताए।

स्वयंवरपछि रंगभूमि मैदानमै योगीलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको दासले बताए। प्रदेश सरकारका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत र भारत उत्तर प्रदेशका समकक्षी योगीसहितका विशिष्ट अतिथिहरूको उपस्थितिबीच राम–सीताको स्वयंवर समारोह सम्पन्न हुने दासले बताए।

योगी रंगभूमि मैदानबाट अपराह्न करिब ४ बजे सिधै जनकपुर विमानस्थलमा पुगेर स्वदेश फिर्ता हुने प्रदेश प्रहरी प्रमुख पालले जानकारी दिए।