काठमाडौं । मंसिर २४ मा झापा प्रहरीकहाँ सन्देश आयो, ‘बिहार सुपौलको किशोरपुरबाट बालक अपहरणमा परे। खोजी र उद्धारमा सहयोग गरिदिनुपर्यो।’


ADVERTISEMENT


भारतीय प्रहरीले बालकलाई सीमा कटाएर गौरीगञ्ज हुँदै नेपाल ल्याइएको बताएको थियो। सूचना आउनेबित्तिकै झापा प्रहरी सतर्क बन्यो। अनि बुन्न थाल्यो अपहरणकारीलाई पासो थाप्ने जाल।


ADVERTISEMENT

# # #


प्रहरीले बालकलाई सकुशल उद्धार गर्ने योजना बनायो। तर, यो काम त्यति सजिलो थिएन। ‘सानो गल्तीले बालकको ज्यान जान सक्ने खतरा थियो,’ झापाका एसपी भीमप्रसाद ढकालले भने, ‘सूक्ष्म तयारी र सतर्कतासाथ अनुसन्धान अघि बढायौं।’

अपहरणमा परेका ७ वर्षीय बालक महफुज आलमका परिवारसँग अपहरणकारीले फिरौती माग्न सुरु गरिसकेका थिए। तिनले १५ लाख भारु मागेका थिए। माग अनुसारको रकम नदिए बालकलाई मारिदिने धम्की पनि दिएका थिए।

परिवारले त्यसबारे उजुरी गरेपछि भारतीय प्रहरी टोली नेपाल आएको थियो।

नेपाल प्रहरीले ‘एक्सन’ सुरु गर्यो। दमकका डीएसपी श्यामल सुब्बा र गौरीगञ्जका इन्स्पेक्टर टेकेन्द्र शर्मा पौडेल अपहरणकारीको खोजीमा खटिए। ‘ब्याकअप’मा प्रहरीको अनुभवी टोली पनि थियो। नेपाल–भारत सीमा क्षेत्रमा जाँच तीव्र बनाइयो। होटल–लजको निगरानी र खानतलासी सुरु भयो। तर, बालक फेला परेनन्।

बालकको ज्यानको सवाल थियो। त्यसैले अपहरणकारी समात्न परिवारसँग सल्लाह गरेर प्रहरीले फिरौतीको पासो फाल्ने निर्णय लियो। फिरौती माग्नेलाई रकम लिन आउन आग्रह गरियो। यसमा ठूलो जोखिम थियो। योजना अनुसार २५ गते बिहान ४ बजे झिसमिसमै खजुरगाछी चोकमा एक व्यक्ति पैसा लिन टुप्लुक्क आइपुगे।

तीनवटा लोकेसन परिवर्तन गरेपछि उनी बल्ल त्यहाँ आउन राजी भएका थिए। उनी थिए संघीय समाजवादी फोरमका स्थानीय नेता बद्री यादव।

उनलाई समात्न प्रहरी सफल भयो। उनले अपहरणको फेहरिस्त ओकले। यादव स्थानीय निर्वाचनमा गौरीगञ्ज गाउँपालिका अध्यक्षको उम्मेदवार थिए। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पनि उम्मेदवार थिए।

उनको ससुराली बिहारमै छ। ‘बालकलाई गौरीगञ्ज–४ स्थित बिट्टु भनिने श्रीप्रसाद मुखियाको घरमा राखिएको’ उनले खुलासा गरे। तत्काल प्रहरी त्यहाँ पुग्यो तर बालक फेला परेनन्। बिट्टु चाहिँ पक्राउ परे।

बिहारबाट अपहरणपछि नेपाल ल्याएर लुकाइएका एक बालकलाई प्रहरीले फिरौतीको जाल फालेर सकुशल उद्धार गर्न सफल भएको छ।

बिट्टुकै बयानअनुसार प्रहरीले दमक–५ गोर्खाली टोलस्थित देउराली होटलमा छापा मार्यो। कोठा न. १०७ मा भेटिए अपहरित बालक महफुज। उनको सकुशल उद्धार भयो। त्यहाँ बिट्टुकी श्रीमती अञ्जुदेवी मुखिया पक्राउ परिन्।

गाउँमा पोल खुल्ने डरले अपहरणकारीले बालक होटेलमा राखेका थिए। र, रेखदेख गर्न अञ्जुलाई होटेल पठाएका थिए। इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र ऐक्तेनले भने, ‘हामी पुग्दा बालक निकै डराएका देखिन्थे। केही बोल्न नसक्ने अवस्थामा थिए। तत्कालै स्वास्थ्य परीक्षण गर्न अस्पताल पठायौं।’