काठमाडौँ – जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सले पहिलो जित हात पारेको छ । साबिक विजेता विराटनगर वारियर्सलाई ५ रनले पराजित गर्दै सनसनीपूर्ण जित हात पारेको हो ।


ADVERTISEMENT


त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९६ रनको विशाल योगफल तयार पार्यो । १९७ रनको विजयी लक्ष्य पचुछ्याएको विराटनगर जित नजिक पुगेरपनि हार ब्यहोर्न पुग्यो । विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९१ रन मात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


विराटनगरका लागि बाबर हायातले विष्फोटक ब्याटिङ गर्दै ४२ बलमा ९० रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । ललित भण्डारीको बलमा आउट हुनुअघि उनले ८ छक्का र पाँच चौका प्रहार गरे । यस्तै २३ बलमा ३० रन हानेका मो. आशिफ शेखले बाबर हायातसंग ८३ रनको साझेदारी गरेका थिए । करण केसी १८ बलमा २ छक्काको मदतमा २४ रन बनाएर नटआउट रहँदा पारस खड्काले १९ रन जोडे । यस्तै अनिल शाह १२ रनमा आउट भए ।

यता चितवनका ललित भण्डारी र सागर ढकालले उत्कृष्ट बलिङ गरे । म्यान अफ दिन म्याच भएका ललित भण्डारीले ४ ओभरमा २४ रन खर्चिएर चार विकेट लिए । जसक्रममा टिमका लागि टाउको दुखाइ बनेका बाबर हायातको विकेट पनि उनले लिएका लिए । यस्तै युवा बलर सागर ढकालले ४ ओभरमा २४ रन नै खर्चिएर ३ विकेट लिए ।

यसअघि जोन सिमसनले शानदार ब्याटिङ गर्दै ७८ रन बनाएपछि चितवन विशाल योगफल तयार पार्यो । अविजीत रहेका जर्ज स्कटले १० बलको सामना गर्दै २४ रन बनाएका थिए भने जोन सिमसनले ४४ बलमा ६ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ७८ रन बनाएर खेलीरहँदा करण केसीको बलमा भान डेर मेरवेले क्याच आउट गरेका थिए । सिमसन र दीपेन्द्रसिंह ऐरीले ६९ रनको साझेदारी खेलेका थिए । जसमा २१ बलमा ३ चौकाको मद्दतमा ३२ रन बनाएर खेलीरहेका दीपेन्द्रसिंह ऐरीलाई पाल भान मेकेरेनको बलमा अनिल शाहले क्याच आउट गराए ।

लगातार तीन खेलमा पराजय बेहोरेको चितवन टाइगर्सले विराटनगर वारियर्सविरुद्धको खेलमा ब्याट्सम्यानले राम्रो इनिङ चल्दा १९६ रनको मध्यम लक्ष्य प्रस्तुुत गरेको हो । त्यस्तै, ओपनिङ ब्याट्सम्यान उत्कृष्ट सुरुआत गर्दै २२ बलमा ६ छक्काको मद्दतमा ३० रन बनाएका सन्दीप सुनारलाई वसन्त रेग्मीले बोल्ड गरेका थिए । त्यस्तै, अर्का ओपनिङ ब्याट्सम्यान पाउल स्टर्लिङले २३ बलमा १५ रन मात्रै बनाएका थिए ।

चितवनका चार विकेट लिने क्रममा कप्तान पारस खड्का, पाल भान मेकेरेन, करण केसी र वसन्त रेग्मीले समान एक—एक विकेट लिए । यसअघिका तीन् खेल हारिसकेको चितवनले आजको जितसंगै प्लेअफको सम्भावना कायम राखेको छ । यता विराटनगरले यसअघिका तीन खेलमा २ जित निकालेकाले प्लेअफको सम्भावनालाई जिवीतै राखेको छ ।